काठमाडौं । पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेन्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार काठमाडौंमा आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति बढ्दै गएको धारणा राखे ।
नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको अवस्था र त्यसको असर विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताए । पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको उनको भनाइ छ ।
“२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकोमा अहिले दुई खर्ब ३३ अर्ब पुगेको छ । लोन लस प्रोभिजनको शीर्षकमा रकम बढ्दै गएको छ । २०७६ मा गैरबैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब चार करोड रुपैयाँ पुगेको छ, पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,” उनले भने, “यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ ।”
यस्तै, उनले पाँच वर्षको अवधिमा बैंकहरूको नाफा पनि १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । बजारमा बैंकहरूले अरबौं कमाए भनेर हल्ला भए पनि त्यो भ्रम मात्रै रहेको उनको धारणा छ ।
२०८० को वित्तीय प्रतिवेदनअनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको उनको भनाइ छ । चार वटाको दुई प्रतिशतभन्दा कम र तीन वटा बैंकको चार देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको उनले बताए ।
बैंकको बिजनेस पनि एउटा चक्र भएकोले अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण बैंकिङ क्षेत्रमा दबाब सिर्जना भएको धारणा राखे । “कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रशय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,” उनले भने । उनले अब राष्ट्र बैंकले चालु पुँजी कर्जाको मार्गदर्शनमा केही पुनरवलोकनको विषयमा सोच्नुपर्ने बताए ।
यस्तै, बैंकको पुँजी कोष पनि ठूलो दबाबमा रहेको सुनाए । पुँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको सुनाए ।