site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय नेता पनि चुनिनुपर्ने निर्णयबाट पछि हट्यो एकीकृत समाजवादी 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशनका लागि केन्द्रीय नेताहरू तलैबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णयबाट पछि हटेको छ ।

बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकायका नेता स्वतः प्रतिनिधि हुने निर्णय गरेको हो । पार्टीको केन्द्रीय सचिव समेत रहेका कार्यालयका सचिव जीवनराम श्रेष्ठका अनुसार आयोजक कमिटी स्वतः प्रतिनिधि हुने निर्णय भएको हो । तल्ला कमिटीबाट केन्द्रका नेता जाँदा आफूहरू छुट्ने गुनासो गरेकाले सो निर्णय गरिएको उनले बताए । 

“तलबाट निकै दबाब आयो । विद्रोहपछि हुन लागेको महाधिवेशनमा केन्द्रको नेताहरू प्रतिस्पर्धाका लागि आउने भएपछि हामी छुट्ने भयौँ भन्ने गुनासो आयो । केन्द्रीय नेताहरू चुनाव लड्न आउनु भएन भनेर दबाब आयो । त्यसले गर्दा केन्द्रीय सदस्य, केन्द्रीय निकाय  स्वतः प्रतिनिधि हुने भन्ने निर्णय भएको छ,” उनले भने । त्यसो गर्दा करिब ४०० जना स्वतः महाधिवेशन प्रतिनिधि हुने उनले जानकारी दिए । 

०८० माघमा भएको केन्द्रीय परिषद्को बैठकले प्रतिनिधि बन्न केन्द्रीय नेताहरू पनि सम्बन्धित क्षेत्रबाट चुनिनुपर्ने निर्णय गरेको थियो । 

पार्टीका अर्का एक पदाधिकारीका अनुसार केन्द्रीय नेता चुनिनुपर्ने व्यवस्था गर्दा उनीहरू प्रतिनिधि बन्न नपाउने सम्भावना बढेपछि सो व्यवस्था हटाइएको हो । यो निर्णयसँगै केन्द्रीय नेताहरू सुरक्षित भएका छन् । एकीकृत समाजवादीको केन्द्रीय महाधिवेशन आगामी असार १६–२० गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भएको छ । 

प्रतिनिधि छनोट असार ६ गते 
बुधबारको सचिवालय बैठकले स्वतः बाहेकका प्रतिनिधि असार ६ गते चुन्ने निर्णय गरेको छ । सचिव श्रेष्ठका अनुसार देशैभर एकैदिन प्रतिनिधि छान्ने निर्णय भएको छ । एकीकृत समाजवादीको महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि रहने जनाएको छ । १२५ पार्टी सदस्य बराबर एक प्रतिनिधि रहने निर्णय बैठकले गरेको छ । 

प्यानलगत प्रतिस्पर्धामा रोक 
सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि आचारसंहिता पनि तयार गरेको छ । सचिव श्रेष्ठका अनुसार प्यानलगत प्रतिस्पर्धामा रोक लगाइएको छ । प्यालनगत रूपमा उठ्न, प्रचारप्रसार गर्न नपाउने निर्णय गरिएको छ । कुनै नेताको उमेदवार भनी भोट माग्न नपाउने व्यवस्था एकीकृत समाजवादीले आचारसंहितामा राखेको छ । 

नेकपा (एमाले)सँग विभाजन भएको करिब तीन वर्ष पुग्न लाग्दा महाधिवेशन गर्न लागेको हो । पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । महाधिवेशनमा अध्यक्षका लागि हालका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालले तयारी थालेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro