
काठमाडौं । नेपालले प्रविधिको उच्चतम प्रयोग गर्नेगरी चौथो औद्योगिक क्रान्ति (इन्डष्ट्री फोर) अवधारणा ल्याएको छ । हालै प्रस्तुत बजेटमा सरकारले उद्योग क्षेत्रमा नवीनतम् प्रविधि प्रोत्साहन गर्न इन्डष्ट्री फोरको अवधारणा ल्याएको हो ।
इन्डष्ट्री फोर अवधारणा नेपालमा नौलो हो । विकसित र उदीयमान अर्थतन्त्र ‘फोर’भन्दा माथि पुगेका बेला नेपाल भने भर्खर ‘इन्डष्ट्री फोर’ अवधारणामा प्रवेश गरेको हो । छिमेकी भारत र चीनका साथै बंगलादेश पनि इन्डष्ट्री फोरको अवधारणामा गइसकेका छन् । सन् २०२६ पछि नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएसँगै यो अवधारणा कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयको प्रस्तावमा ‘इन्डष्ट्री फोर’ अवधारणा बजेटमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत बताउँछन् । उनका अनुसार, अत्याधुनिक मेसिनको प्रयोगबाट वस्तु उत्पादन गर्ने अवधारणा नै इन्डष्ट्री फोर हो ।
“नेपालमा अझै परम्परागत प्रविधिबाट वस्तु उत्पादन हुँदै आएको छ । अन्य मुलुक इन्डष्ट्री फोरभन्दा माथि पुगिसकेका छन् । हामीले पनि चौथो औद्योगिक क्रान्तिमा जानुपर्छ भनेर सुरु गर्न लागेको हो,” उनले बाह्रखरीसँग भने, “केही वर्षयता छलफलमा आइरहेको भए पनि बजेट वक्तव्यमा पहिलो पटक परेको हो ।”
इन्डष्ट्री फोर अवधारणामा जानुअघि उद्योगीहरुलाई मन्त्रालयले यस विषयमा ‘ओरिएन्टेसन’ दिइरहेको उनले बताए ।
चौथो चरणको औद्योगिक अवधारणामा जान उन्नत मेसिन र सफ्टवेयर प्रविधिमा व्यवसायीले ठूलो लगानी गर्नुपर्ने देखिएको छ । नयाँ आउने उद्योग इन्डष्ट्री फोर अवधारणाअनुसारको उन्नत प्रविधिको प्रयोगमा जानुपर्छ भन्ने धारणा सरकारको भएको उनले बताए ।
“उद्योगीहरुले नयाँ प्रविधियुक्त मेसिन जडान गर्दै जाने, नयाँ सफे्टवेयर प्रयोग गर्दे जाने सोचअनुसार यो अवधारण अघि बढाइएको हो,” उनले भनेका छन् ।
“एकैपटक उद्योग डिजिटलमा जान गाह्रो हुन्छ यसलाई क्रमशः रुपान्तरण गर्दै जानुपर्ने हुन्छ,” प्रवक्ता बस्नेतले भने, “विशेष गरी एआइ, रोबोटिक्स, मेसिन लर्निङ डेटा एनालिसीस जस्ता अत्याधुनिक प्रविधिलाई औद्योगिकीकरणमा प्रयोग गर्दा छिटो उत्पादन हुनुका साथै उत्पादकत्व वृद्धि हुने सरकारको बुझाइ छ ।”
सरकारले इन्डष्ट्री फोरको कार्यान्वयनमा पूर्ण प्रतिबद्ध जनाएको छ । यसको उद्देश्य प्राप्तिका लागि नयाँ प्रविधिहरूको विकास, उद्यमशीलता र नवप्रवर्तनका लागि अनुकूल वातावरणको सिर्जना र युवाहरूलाई प्रविधि र विज्ञानका क्षेत्रमा उच्च शिक्षा र तालिम प्रदान गर्नु महत्वपूर्ण छ ।
निजी क्षेत्रको पहलमा सरकारले बजेटमा इन्डष्ट्री फोर अवधारणा लागू गर्न खोजेको नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा उद्यमी भरतराज आचार्य बताउँछन् ।
“इन्डष्ट्री फोर भनेको उद्योगमा डिजिटल टान्सफर्मेसन हो । यो अवधारणा सबैभन्दा उन्नत हो । म्यानुअल र मेकानिकल हुँदै आएकोमा अब डिजिटल हुनेछ,” उनले भने, “नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन इन्डष्ट्री फोर आवश्यक छ ।”
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) आइसेककाले इन्डष्ट्री फोर पुरानो हुन लागिसकेको छ ।
‘कन्भेन्सनल वे अफ इन्डष्ट्रियल अपरेशनल’लाई परिवर्तन गरेर इन्डष्ट्री फो जिरो गरेपछि नेपालमा उत्पादन हुने वस्तुको लागत घटेर प्रतिस्पर्धा क्षमता वृद्धि र गुणस्तर बढेर अन्तर्राष्ट्रियस्तर कायम हुने आचार्यको भनाइ छ ।
इन्डष्ट्री फोरमा जाँदा पहिलो चरणमा धेरै लगानी आवश्यक पर्ने छ । धेरै कम श्रमिक परिचालन हुने भएकाले उद्योगमा कर्मचारी खर्च कम हुन्छ । जसले गर्दा उद्योगको उत्पादकत्व बढ्नुका साथै रियल टाइममा उत्पादन हुने उनको भनाई छ ।
इन्डष्ट्री फोर के हो ?
इन्डष्ट्री फोर अवधारणाले चौथो औद्योगिक क्रान्तिलाई जनाउँछ । यसमा नयाँ प्रविधिहरू र डिजिटल टेक्नोलोजीहरूको अधिकतम प्रयोग हुन्छ । जसले उद्योगहरूको संरचना र काम गर्ने तरिका परिवर्तन गर्दैछ ।
इन्डष्ट्री फोरमा स्वचालन, कृत्रिम बौद्धिकता, इन्टरनेट अफ थिङस, रोबोटिक्स, मेसिन लर्निङ, प्रिन्टिङ र डेटा एनालिटिक्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग रहेको छ । यसका साथै प्रविधिहरूले उत्पादन प्रक्रियालाई धेरै दुरुस्त प्रभावकारी र किफायती बनाउने अपेक्षा सरकारले लिएको छ ।
यसरी भयो इन्डष्ट्री फोरको विकास
हामीले विश्वमा तीन प्रमुख औद्योगिक क्रान्ति देखिसकेका छौं । पहिलो औद्योगिक क्रान्ति सन् १७८० को दशकमा सुरु भएको मानिन्छ । जसमा वस्तु उत्पादनमा वाफ र मेकानिकल प्रविधिहरूको प्रयोग भएको थियो ।
दोस्रो, औद्योगिक क्रान्ति सन् १९०० को दशकमा आयो । जसले विद्युत र इन्डस्ट्रियल मेसिनहरूको प्रयोगलाई प्रेरित गरेको थियो ।
त्यसरी नै तेस्रो औद्योगिक क्रान्ति सन् १९७० को दशकमा इन्फर्मेसन टेक्नोलोजी र कम्प्युटराइजेसनको विकासँगै तेस्रो औद्योगिक क्रान्तिको सुरुवात भएको हो । नेपाल जस्तो विकासशील देशको लागि इन्डष्ट्री फोर अवसरहरू देखिएका छन् ।
यस प्रविधिले उत्पादन क्षेत्रमा नवीनता ल्याउने, दक्षता वृद्धि गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम पार्ने सरकारी सोच छ । उत्पादन प्रक्रिया स्वचालन र डिजिटलीकरणलाई प्रवद्र्धन गर्न सके उद्योगहरू अझ सबल र प्रभावकारी बन्नेछ ।
यसका अतिरिक्त यो प्रविधिले रोजगारीको नयाँ अवसरहरू सिर्जना गर्नेछ भने युवाहरूलाई प्रविधिमा आधारित व्यवसायिक क्षमता विकासमा प्रेरित गर्ने बताइएको छ ।