site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आन्दोलन रोकेमात्र राप्रपा नेताले सुरक्षाकर्मी पाउँछन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी पाउने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनमा खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको जिकिर गरे ।

'गणतन्त्रविरुद्ध लागेपछि' सरकारले जेठ १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको पीएसओ खोसेको थियो ।

Argakhachi Cement Island Ad

पीएसओ खोसिएको विषयमा आज समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको बताए । उनले आन्दोलन रोक्नबित्तिकै पुनः खटाइने पनि बताए ।

"सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटना भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ," गृहमन्त्रीले सांसद तामाङलाई जवाफमा भने ।

गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने पनि बताए । "संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो । गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन । त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ," गृहमन्त्री लेखकले भने ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्