
काठमाडौं । स्रोच खुम्चदैछ, सरकार चाहिँ एक दर्जन ठाउँमा सुरुङ मार्ग बनाउँदै दुरी कम गर्ने योजनामा गएको छ । । यसपालिकै बजेटमा सम्भाव्य अध्ययन भइसकेका र भइरहेका दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, हेम्जा–नयाँपुल, कुलेखानी–भिमफेदी र धरान–लेउती सुरुङमार्ग योजना अघि सारिएको छ ।
सरकारले स्रोत व्यवस्थापनका साथै अन्य तयारी अगाडि बढाउने भएको छ । त्यसरी नै टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तीसार–बबई सुरूङमार्गको सम्भाव्यता अध्ययन सक्ने लक्ष्य सरकारको छ ।
यस्ता परियोजना यसपालिको बजेटमा मात्र परेको होइन, विगतदेखि सुरुङमार्ग बजेटमा पर्दै आएको छ । २०७६ कात्तिकमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुुँदा टोखा–छहरले सुरुङ मार्ग बनाउने सहमति भएको थियो । तर, चीनले सुरुङमार्गको काम अघि बढाएको छैन । चीन परियोजनासँगै ऋण बोकाउन चाहन्छ । तर, नेपालले अनुदान खोजिरहेको छ ।
यी सुरुङ मार्ग अध्ययनका क्रममा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव भीमार्जुन अधिकारीले जानकारी दिए । उनले भने, ‘‘बजेटमा प्रस्ताव गरिएका सबै परियोजनाबारे मन्त्रालयले अध्ययन गरिरहेको छ । अध्ययनपछि आर्थिक एवम् प्राविधिक रुपमा सम्भाव्य देखिएमा निर्माणको काम अघि बढ्ने छ ।’’
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्केट–चियाबारी सुरुङ मार्ग बनाउन ४० अर्ब रुपैयाँ लाग्ने जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले यो अनुमानित लागत मात्र हो । डीपीआर तयार भएपछि मात्र वास्तविक लागत यकिन हुनेछ ।
यसअघि सरकारले सन् २०३१ सम्म सक्न जाइकासँग आग्रह गरेको थियो । तर, हालसम्म डीपीआर तयार भएको छैन । डीपीआर र लगानी खाका टुङ्गो नलागेकाले परियोजना २०३१ को लक्ष्य पूरा हुने देखिँदैन ।
जाइकाले गरेको प्रारम्भिक अध्ययनअनुसार, ७.८ किलोमिटर सुरुङका साथै डेढ किलोमिटर नयाँ सडक बनाउनुपर्ने हुन्छ ।
बीपी राजमार्गमा सुरुङ मार्ग र सडक गरेर करिव १० किलोमिटर लामो सुरुङ निर्माण हुने अनुमान गरिएको छ । सुरुङ मार्ग बनेपछि २५ किमी बाटो छोटो हुने जाईकाको प्रारम्भिक अध्ययनले देखाएको छ । खुर्कोटबाट सिन्धुली पुग्न ३९ किलोमिटर पर्छ । जाइकाको २६ अर्ब जापानी येन लगानी भएको उक्त राजमार्गको लम्बाई धुलिखेलदेखि बर्दिबाससम्म १६० किलोमिटर छ ।
राजधानीबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने उक्त राजमार्ग २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।
यस्तै, पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर छ । अब निर्माण हुने नयाँपुल–हेम्जाको दूरी झन्डै ४० किलोमिटर छ । त्यो ठाउँमा सुरुङमार्ग बनेमा सात किलोमिटर दूरीमा जोडिने छ ।
उता भिमफेदी–कुलेखानी सुरुङ मार्गको लम्बाइ ३.२ किलोमिटर छ । सुरुङ मार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले छुट्टै कार्यालय स्थापना गरेको छ । तर काम अझै सुरु हुन सकेको छैन । सुरुङमार्ग बनेमा हेटौँडा–काठमाडौंको यात्रा करिब २ घण्टामा गर्न सकिने छ ।
चीन नजिकको किमाथांका सडकको दूरी र समयलाई छोट्याउन सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माणको चर्चा चलेको लामो समय भइसकेको छ । तर, हालसम्म काम सुरु भएको छैन ।
धरानमा सर्दु खोला आपसापमा २ वटा लोकेसन र लेउती खोला आसपासमा ३ वटा लेकेसनमा सुरुङ मार्गको प्रस्थान विन्दु बनाउनेबारे प्रारम्भिक अध्ययन भएको छ । तीमध्ये धरानतर्फ आपगाछीबाट जाने सुरुङ मार्ग उपयुक्त हुने परामर्शदाताको सुझाव छ ।
जाइकाको सहयोगमा नागढुङा सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी मन्त्रालयको छ । यस्तै पाल्पास्थित सिद्धबाबा सुरुङमार्गको काम पनि अन्तिम चरणमा पुगेको छ ।
४१६ किलोमिटर सकियो, हजार किलोमिटर बन्दै
जलविद्युत आयोजना, खानेपानी आयोजना, सिँचाइ र सडक गरी कूल ४१६ किलोमिटर लामो सुरुङ खनिएको मन्त्रालयले जनाएको छ । ३१३ किलोमिटर सुरुङ निर्माणाधीन छ भने ६२० किलोमिटर थप सुरुङ बनाउन तयारी गरेको मन्त्रालयको भनाई छ । सबैभन्दा बढी सुरुङ जलविद्युततिर छ ।
नेपाल टनेलिङ एसोसियसनका अनुसार, जलविद्युतमा साढे ३ सय किलोमिटर लामा सुरुङ बनिसकेको छ । ठूला तथा मझौला जलविद्युत परियोजना बनाउन सुरुङ निर्माण भइरहेको छ । सञ्चालनमा भइरहेको मुलुककै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै १४४ मेगावाटको कालिगण्डकी ए, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ८६ मेगावाटको सोलुदूधकोसी, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी आयोजनामा सुरुङ बनेका छन् ।
यस्तै निजी लगानीमा बनेका अधिकांश ठूला तथा मझौला जलविद्युत आयोजनाले पनि सुरुङ बनाइसकेका छन् ।
खानेपानीका लागि हालसम्म २७ किलोमिटर मात्र सुरुङ बनेको नेपाल टनेलिङ एसोसियसनले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी काठमाडौंमा पानी ल्याउन बनाइएको सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानीको सुन्दरीजलमा २०७४ को चैतमा मेलम्चीको सुरुङ खनिसकिएको हो । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत यांङग्री र लार्के खोलाको पानी मिसाउन ११ किलोमिटरको खानेपानी सुरुङ बन्ने छ ।
यस्तै, सिँचाइतिर हालसम्म २५ किलोमिटर सुरुङ खनिएको छ । भेरी–बबइ डाइभर्सनको १२ किलोमिटर र सुनकोसी मरिण डाइसर्नको १३ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ । भेरी–बबई र सुनकोसी–मरिन आयोजनाबाट सिँचाइका साथै बिजुली उत्पादन हुनेछ ।
सडकतिर भने सबैभन्दा कम ११ किलोमिटर मात्र सुरुङ बनेको छ भने सुरुङ खन्न नयाँ प्रविधिको सफल प्रयोग भएको छ । नेपालमा पहिलोपटक आधुनिक प्रविधि अर्थात् टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिको प्रयोगबाट भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन सुरुङ परियोजना हो ।
काठमाडौं–निजगढ जोड्न फास्ट ट्रयाक, सिद्धबाबा र नागढुंगा सुरुङ मार्ग अन्तिम चरणमा पुगेको छ । कूल ६२० किलोमिटर लामो सुरुङ निर्माण हुन लागेको एसोसियसनले जनाएको छ । जलविद्युत आयोजनातिर २७२, खानेपानीमा १५, सिँचाइमा ७०, सडकमा १००, रेलेमा १५० किलोमिटर लामो सुरुङ बनाउने योजना सरकारको छ ।
दुबै परियोजनाअमा टीबीएमबाट निर्धारित समय अगावै सुरुङ खन्ने काम सकिएको छ । निर्माण व्यवसायी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी लिमिटेडले दुबै सुरुङमा टीबीएम मेशिनको सफल प्रयोग गरेको छ ।
यस्तै आगामी आर्थिक वर्षको बजेटमा टीबीएम मेशिनलाई सरकारले प्रोत्साहन गरेको छ । मेशिन आपूर्तिमा एक प्रतिशत मात्र भन्सार तिरे पुग्ने व्यवस्था बजेटमा गरिएको छ ।
नेपालको पहिलो सुरूङमार्ग राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा हेटौंडा–पथलैया सडक खण्डको चुरियामाईमा सन् १९१७ मा खनिएको थियो । सुरुङमार्ग २३९ मिटर लामो छ ।
चुरियामाई सुरुङको उचाई ५ मिटर छ भने चौंडाई ५ मिटर छ । यो सुरुङमार्ग भएर लामो समयसम्म मकवानपुरको भीमफेदीसम्म गाडी आवात–जावत हुन्थे । बागमती प्रदेश सरकारले यो सुरुङमार्गको पुनर्निर्माण गरिसकेको छ ।