काठमाडौं । नेपालको पर्यटन व्यवसायका सफल व्यवसायी तथा यती एयरलाइन्स र थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाका अनुसार संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम अर्थात् वर्ल्ड फुड प्रोग्राम (डब्लुएफपी)ले नेपालको कर्णाली क्षेत्रमा भोकमरी नै फैलिरहोस् भन्ने चाहना राखेको देखिन्छ ।
सोनाम शेर्पाको भर्खरै बजारमा आएको आत्मकथा ‘हिम्बु’ को ‘नब्युँझिएको कर्णाली’ अध्यायमा कर्णालीको गरिबीको बयान गर्दै शेर्पाले उपर्युक्त कुरा लेखेका छन् ।
“नेपालका गाउँ–गाउँ र विशेषगरी कर्णालीका विकट बस्तीमा पसेर विश्व खाद्य कार्यक्रमले त्यहाँको गरिबी र अभावको फोटो खिची संसारभर देखाउँदै चन्दा उठाउँछन् । र त्यसको केही प्रतिशत नेपाललाई दिएर धेरै प्रतिशत आफैँ उपभोग गर्छन्,” सो पुस्तकको पृष्ठ नं. ११९ मा लेखिएको छ ।
उनी लेख्छन्, “डब्लुएफपीले आफ्नो अनुकूल नीति लादेर कर्णालीमा भोकमरी नै फैलिरहोस् भन्ने चाहना राखेको स्पष्ट देखिन्छ ।”
प्रसिद्ध उद्यमी शेर्पाले उठाएकोे विषय उनको आफ्नो निजी विचार र अध्ययन मात्र नभएर उनकी छोरीको अनुभव पनि त्यस्तै रहेको तथ्य सो पुस्तकमा समेटिएको छ ।
शेर्पाकी जेठी छोरी दावा फुटी शेर्पा विश्व खाद्य कार्यक्रममा दुईवर्ष काम गर्दा कर्णालीको गाउँ गाउँमा पुगेर सो कार्यक्रमले रासन बाँडेको विषयमा अनुगमन गरेकी र उनले आफ्नो कार्यकाल सकिएपछि विश्व खाद्य कार्यक्रमलाई बृहत् प्रतिवेदन पनि पेस गरेकी थिइन् ।
पुस्तकका अनुसार दावा फुटी शेर्पाले आफ्नो प्रतिवेदनमा कर्णालीका जनतालाई निःशुल्क चामल दिनु हुँदैन र केही कामको आधारमा ज्यालाको रुपमा मात्र दिइनुपर्ने धारणा राखेकी थिइन् । उनका अनुसार, कर्णालीका पुरुषहरू सधैँ रक्सीमा डुबिरहने, काम नगर्ने, घर सरसफाई नगर्ने, महिलालाई मात्र सबै कामको बोझ दिने भएकाले सित्तैमा खाद्यान्न दिने काम गर्नुहुन्न भन्ने थियो ।
उनलाई विश्व खाद्य कार्यक्रमले सो प्रतिवेदन फिर्ता लिन दबाब दिएता पनि उनले आफ्नो विचारमा कुनै प्रकारको सम्झौता नगरेकी कुरा पनि पुस्तकमा समेटिएको छ ।
दावा फुटी शेर्पा केही वर्ष पहिले स्पेनका लागि नेपाली राजदूत पनि भएर कार्य गरेकी छिन् ।
सो पुस्तकका अनुसार कर्णालीको गरिबीका लागि राष्ट्रिय निकुञ्ज पनि जिम्मेवार छन् । ल्हाक्पा सोनाम शेर्पा लेख्छन्, “डोल्पाको प्रसिद्ध दाल से–फोक्सुण्डो र मुगुको रारा तालमा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न नसक्ुनमा राष्ट्रिय निकुञ्ज एक कारण हो ।”
निकुञ्जले जनताको व्यापार गर्न पाउने अधिकार र अवसरलाई निमोठेर राखेको छ । जङ्गल छिर्नै नदिने उनिहरूको नीतिको कारणले निकुञ्जले यो क्षेत्रको विकासमा बाधा पुर्याएको लेखकको ठहर छ ।
उनका अनुसार रारा, से–फोक्सुण्डो तालका साथै बर्दियाका निकुञ्जभित्र रेस्टुँरा खोल्न दिएर रोजगारीको वातावरण प्रवर्द्धन गरेमा नेपालीहरूले गरिखान सक्छन् । “तर, निकुञ्जले त्यसलाई रोक्ने, छेक्ने र बाधा हाल्ने काम गरेको देखिन्छ,” सो पुस्तकमा लेखक रोष प्रकट गर्छन् ।
सोनाम शेर्पा लेख्छन्, “निकुञ्जलाई अन्तर्राष्ट्रिय स्तरका विभिन्न संघ–संस्थाले संरक्षण गरेर आफ्ना विचार नेपाली जनतामा जबर्जस्ती लादेको र थोपरेको देखिन्छ ।”
शेर्पा भन्छन्, “कर्णाली नदीमा सुनौलो माछा पाइन्छ तर यसलाई प्रचार–प्रसार र संरक्षण गरिएको छैन । हुम्ला र जुम्लाका स्याउको यति धेरै कुरा हुन्छ तर देशका सहरहरूमा भारत, चीन र न्युजिल्याण्डका स्याउ आउँछन् । हाम्रा स्याउ बोटमै कुहिन बाध्य पारिएका छन् ।”