विराटनगर । कोसी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सिताराम बस्नेत (काठमाडौं), किशोरकुमार राई (धरान), भवानी बराल (धरान) र नमिता न्यौपाने (विराटनगर) लाई सदस्यमा नियुक्त गरेको हो ।
सरकारले यसअघि नै आयोगको उपाध्यक्षमा झापाका डा. राजेन्द्र अधिकारीलाई नियुक्त गरेको थियो । नियुक्त भएका सदस्यहरूध्ये बस्नेत र राई नेकपा (एमाले)को र न्यौपाने माओवादीको कोटामा नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजक रहेको राजनीतिक तथा शान्ति वार्ता समितिसमेत गठन गरेको छ । यसमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सदस्य छन् ।
समितिको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले जिम्मेवारी प्राप्त गरेको सरकारका प्रवक्ता आन्तरिक मामिल तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।