काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माइला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, कालीप्रसाद बास्कोटाको संगीत छ । स्वर सुनिता थेगिमको छ ।
चलचित्रको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राई फिचर्ड छन् ।
गीतमा समावेश दृश्यले नवीन सुब्बाको निर्देशन रहेको चलचित्र ‘गाउँ आएको बाटो’को कथासार बुझाएको छ । गाडीसँगै आफूले गर्दै आएको पेसा संकटमा परेपछि कसरी व्यक्ति गाउँ छोड्ने निर्णयमा पुग्छ गीतले देखाउने प्रयास गरेको छ ।
बाबुछोराको सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जब गाउँमा मोटर आइपुग्छ । सडकसँगै गाउँमा आउने आधुनिकताले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा चलचित्रले भन्ने निर्माण पक्षले बताउँदै आएको छ ।
जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।
चलचित्रको पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्य गरेका छन् ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई हुन् ।