काठमाडौं । किम्फको २१ औं संस्करणको दोस्रो दिन नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन गरिएको छ । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएको छ ।
प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत काम गरेका डोरबहादुर २०५२ पुस २७ देखि रहस्मयी रूपमा बेपत्ता छन् । जुम्लाबाट जहाजमा नेपालगञ्ज उडेको खबरयता आजसम्म उनीबारे केही खबर छैन ।
जीवित छँदा डोरबहादुर बेलाबखत भन्ने गर्थे– म अलप हुन चाहन्छु । निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो ।
जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए । उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन् । यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका थुप्रै सन्दर्भ आएको आयोजक किम्फले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
वृत्तचित्रमा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरूले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे बताएका छन् ।
डोरबहादुरलिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझ समेत चर्चित छन् । निर्देशक घिमिरेले एक दशकभन्दा धेरै समय लगाएर आफूले यो वृत्तचित्र तयार पारेको बताए ।