site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर र दक्षिण कोरियाको अनौठो युद्ध

काठमाडौं । युद्धमा हातहतियार र गोलाबारुदको प्रयोग हुन्छ । तर, उत्तर र दक्षिण कोरिया दुई यस्ता देश हुन् जसले एकअर्कासँगको युद्धमा बेलुन र लाउडस्पिकर प्रयोग गर्छन् ।

सन् १९४५ देखि १९५४ सम्म यी दुई देशबीच ठूलो युद्ध भयो । अन्तमा दुई देशबीच सीमा रेखा तय गरेर उत्तर र दक्षिण कोरिया भए । २० लाखभन्दा बढी मान्छेको ज्यान जानेगरी भएको यो युद्धको वर्षौपछि पनि यी दुई देशबीच शान्ति छैन ।

यी दुई देश विभिन्न बहानामा हातहतियारबिनै लडिरहन्छन् । कतिसम्म भने यी दुई देशले एकअर्कासँग लड्न बेलुन र लाउडस्पिकर प्रयोग गर्छन् ।

पछिल्लो समय उत्तर र दक्षिण कोरिया लाउडस्पिकर युद्ध लडिरहेका छन् । चर्को आवाजमा लाउडस्पिकर बजाएर सीमा क्षेत्रका बासिन्दालाई सास्ती दिइन्छ ।

उत्तर कोरियाले दक्षिणतिर फर्काएर र दक्षिणले उत्तर कोरियातिर फर्काएर लाउडस्पिकर बजाउने गर्छन् । उत्तर कोरियाले आफ्ना लाउडस्पिकरमा कर्कश आवाज बजाउँछ भने दक्षिण कोरियाले उत्तर कोरिया विरोधी भाषण/गीत, पप–गीत बजाउँछ । उत्तर कोरियामा दक्षिणी पप–गीत प्रतिबन्धित छन् ।

सीमा क्षेत्रको असैन्यकृत ठाउँमा राखेर बजाइने यी ठूला स्पिकरको आवाज कयौँ किलोमिटर टाढासम्म सुनिन्छ । यी स्पिकर रातदिन नभनी बजाइन्छन् । लाउडस्पिकर युद्धको सुरुआत अमेरिकाले गरेको थियो । उत्तर र दक्षिण कोरियाबीचको युद्धमा अमेरिका दक्षिण कोरियाको पक्षमा थियो । युद्धका क्रममा अमेरिकाले उत्तर कोरियाली नागरिकलाई प्रभावित पार्न र डराउन लाउडस्पिकर बजाएर दक्षिणको प्रशंसा र उत्तरको आलोचना गर्न सुरु गरेको थियो ।

अमेरिकाको सहयोगमा दक्षिण कोरियाले लाउडस्पिकर बजाएर आफ्ना नागरिकलाई सास्ती दिन थालेपछि उत्तर कोरियाले पनि सिको गर्‍यो । सन् २०१५ मा दक्षिण कोरियाले आफ्नो तर्फबाट यस्तो लाउडस्पिकर युद्ध अन्त गर्ने घोषणा गरेको थियो । तर, उत्तर कारियाले स्पिकर बजाउन बन्द नगरेका कारण सन् २०१८ देखि फेरि सुरु भयो । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार दक्षिण कोरियाली स्पिकरको आवाज १० किलोमिटर टाढासम्म पुग्छ । यी स्पिकरको आवाजले दुवै देशको सीमा क्षेत्रमा बस्नेले भने सास्ती भोग्नुपर्छ ।

लाउडस्पिकरसँगै उत्तर र दक्षिण कोरियाबीच बेलुन युद्ध पनि हुन्छ । यो बेलुन युद्धको सुरुआत पनि अमेरिकाले नै गरेको थियो ।

यही वर्षको मे महिनाको सुरुआतमा दक्षिण कोरियाले उत्तर कोरियामा १० वटा बेलुन पठायो । ती बेलुनमा दक्षिण कोरियाका गीत, वेबसिरिज, सिरियल राखिएका पेनड्राइभ र उत्तर कोरिया विरोधी पर्चा राखिएका थिए ।

यसको जवाफमा उत्तर कोरियाले फोहोर भरिएका करिब ३०० वटा बेलुन दक्षिण कोरियामा पठायो । यस वर्षको मे महिनादेखि यी दुई कोरियाबीच निरन्तरजसो बेलुन युद्ध चलिरहेको छ । नोभेम्बर महिनाको सुरुआतमै पनि उत्तर कोरियाले फोहोर भरेर पठाएका बेुलन दक्षिण कोरिया आइपुगे । बेलुन र लाउडस्पिकरको युद्ध समानान्तर चलिरहेको छ ।

दक्षिण कोरियाले स्मार्ट बेलुनको प्रयोग गर्छ । थ्रीडी प्रिन्ट गरिएका बेलुनहरू दक्षिणले उत्तर कोरियामा पठाउँछ । करिब एक हजार अमेरिकी डलरको लागतमा तयार हुने यी बेलुनले सात किलोभन्दा बढी तौल बोक्न सक्छन् ।

सन् २०२० मा दक्षिण कोरियाले औपचारिक रूपमा बेलुन युद्ध बन्द गर्ने घोषणा गरेको थियो । तर, अनौपचारिक रूपमा दक्षिणले उत्तरतिर बेलुन पठाइरहन्छ । दुई कोरियाबीच चलेको युद्धका दौरान दुई अर्ब ८० करोडभन्दा बढी पर्चा छरिएका थिए ।

बेलुन र लाउडस्पिकरमार्फत हुने यो मनोवैज्ञानिक युद्धको परम्परा अमेरिका र तत्कालीन सोभियत संघबीचको शितयुद्धको प्रतिफल हो । सोभियत संघ उत्तर कोरियाको पक्षमा थियो भने अमेरिका दक्षिण कोरियाको । दोस्रो विश्वयुद्धपछि सुरु भएको शितयुद्धका क्रममा अमेरिकाले दक्षिण कोरियाबाट सोभियत र कम्युनिस्टविरोधी पर्चा उत्तर कोरियामा पठाउँथ्यो । सोभियत संघले उत्तर कोरियाबाट पुँजीवाद र अमेरिका विरोधी पर्चा दक्षिण कोरियामा पठाउँथ्यो ।

सोभियत संघ पतन भएर शितयुद्ध समाप्त भइसक्दा पनि यी दुई कोरियाले शितयुद्धको यो परम्परागत अभ्यासलाई जारी राखेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro