काठमाडौं । काठमाडौंमा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विविध विधामा योगदान पुर्याउने सातै प्रदेशका ६६ जना कलाकारलाई पुरस्कार प्रदान गरेका छन् ।
कार्यक्रममा यस वर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ पूर्वकुलपति किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख ५० हजार नगद र सम्मानपत्र छ ।
एक लाख राशिको ‘सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार’ सुरेश लवट तुलाधरले प्राप्त गरे ।
तीन दशकदेखि नेपाली ललितकलाका क्षेत्रमा सक्रिय रहँदै आएका कलालेखक ज्ञानेन्द्र विवशलाई नगद राशि ६० हजारसहित ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ प्रदान गरिएको छ ।