site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्राथमिकतामा क्रिकेटका संरचना, हरायो साहसिक खेलका कार्यक्रम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा युवा तथा खेलकुद मन्त्रालयतर्फ पछिल्लो चार वर्षकै सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा खेलकुदतर्फ तीन अर्ब ५० करोड रुपैयाँ छुट्याएका हुन् । यो आर्थिक वर्ष २०८०/८१ को तुलनामा करिब ६३ करोड रुपैयाँ धेरै हो ।

यसअघि गत वर्ष सरकारले युवा तथा खेलकुदतर्फ दुई अर्ब ८७ करोड ५९ लाख रुपैयाँ छुट्याएको थियो । यो वर्ष खेलकुदतर्फ ६२ करोड ४१ रुपैयाँ बजेट बढेको हो । यो आर्थिक वर्षको बजेटमा २०७६/७७ यताको सबैभन्दा ठूलो आकारको बजेट हो ।

सरकारले यसअघि २०७९/८० मा सरकारले खेलकुदतर्फ तीन अर्ब २५ करोड २५ लाख, २०७८/७९ मा दुई अर्ब ७४ करोड ६८ लाख र २०७७/७८ मा दुई अर्ब ३६ करोडको बजेट सार्वजनिक गरेको थियो । त्यसअघि २०७६/७७ मा भने सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ९९ करोड आठ लाखको बजेट सार्वजनिक गरेको थियो ।

बजेटको आकार बढे पनि गत वर्ष जस्तै यस वर्ष पनि सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दा अर्को चर्चित खेल फुटबल ओझेलमा परेको छ । सरकारले मूलपानी क्रिकेट मैदान र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण अघि बढाउने जनाएको छ ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने बताएको छ । तर, गत वर्ष बजेटमा त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटलाई राख्ने योजनालाई यस वर्ष बजेटमा समेटेको छैन । यसअघि गत वर्षको बजेटमा नै त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सम्पन्न गरिसक्ने जनाइएको थियो ।

आगामी वर्ष सरकारले कीर्तिपुरको स्तरोन्नति र फाप्ला क्रिकेट मैदानको निमार्णलाई तीव्रता दिइने जनाएको छ ।

सरकारले कर्णाली प्रदेशको राजधानी कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुदको लागि ६० करोड रुपैयाँ बजेट छुट्याएको छ । खेलकुद पूर्वाधारमा एक अर्ब ३० करोड रुपैयाँ छुट्याएको सरकारले ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिने जनाएको छ ।

आगामी आर्थिक वर्षमा ८० राष्ट्रिय स्तरका प्रतियोगिता र नेपालको स्थानीय र परम्परागत खेलको प्रवर्धन गर्ने कुरा समेटिदा खेल क्षेत्रमा उत्साह थपेको छ । यस्तै, सरकारले पहिलो पटक आगामी वर्ष आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने कार्यक्रम बजेटमा समेटेको छ ।

तर, गत वर्ष बजेटमा समेटिएका निजी साझेदारमा हाइअल्टिच्युट टे«निङ सेन्टर, र्याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ र अल्ट्रा म्याराथुनलगायत साहसिक खेल पूर्वाधार निर्माण गरिने कार्यक्रमले भने यस वर्ष निरन्तरता पाएनन् ।

बजेटमा युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटेल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने बजेटमा उल्लेख छ ।

यसका कार्यक्रमका सरकारले तीन अर्ब विनियोजन गरेको छ । यो रकम खेलकुद मन्त्रालयले परिचालन गर्ने भए पनि खेलकुद अन्तर्गतको बजेटमा नरहेको मन्त्रालयका एक अधिकारी बताएका छन् ।

स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गरिने, त्यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने, युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याइने जनाएको छ ।

आगामी आर्थिक वर्षमा सबैका लागि खेलकुदको अवसर सिर्जना गरिने, खेल क्षेत्रमा महिला सहभागिता बढाइने, खेलकुदका आधारभूत तालिम विस्तार गरिने सरकारको लक्ष्य छ ।

यस्तै, खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गरिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

बजेटमा शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालयमा खेलकुद प्रवर्द्धन गरिने र बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाइने जनाइएको छ ।

खेलकुद क्षेत्रको पूर्वाधार निर्माण, सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गरिने पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । निजी संघ–संस्था तथा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई खेलकुद क्षेत्रसँग आवद्ध गर्दै लगिने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro