लन्डन । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा हालै इजरायल र हमास नेताको विरुद्धमा पक्राउ पूर्जी जारी गर्न निवेदन दिने उक्त अदालतका प्रमुख अभियोजक करिम खान अहिले संसारभरी चर्चामा छन् । आईसीसीको समर्थन गर्ने एकथरी प्रशंसा गरिरहेका छन् भने अर्काथरी कडा आक्रोश व्यक्त गरिरहेका छन् ।
पाकिस्तानी पिता र बेलायती आमाका छोरा खान बेलायती नागरिक हुन् । उनको पछिल्लो निवेदनको अमेरिकी राष्ट्रपति जो वाइडेनदेखि विदेशमन्त्री एन्टोनी ब्लिंकेनसम्मले कडा आपत्ती जनाएका थिए । उता खानकै मुलुक बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत त्यसको विरोध गरे । इजरायलदेखि हमाससम्मले आपत्ति जनाउने नै भए । ती दुवैले एक अर्कालाई तुलना गरेकोमा आपत्ति जनाएका थिए । फ्रान्सले भने समर्थन गरेको छ । संसारको मिडियामा अहिले उनी छाइरहेका छन् ।
को हुन् करिम खान ?
करिम खान आईसीसीका मुख्य अभियोजक हुन् । २०२१ मा जब करिमको नौ वर्षको कार्यकाल सुरु भएको थियो । त्यतिबेला उनले भनेका थिए, “कुनै मुद्दामा अभियोजन पक्ष बन्ने वा अभियुक्तको संरक्षण गर्ने कुरामा मलाई कुनै फरक महसुस हुँदैन ।”
करिम खानले भनेका थिए, “बेलायतका लागि अन्नतः कानुन नै हुन्छ । जब तपाईंलाई दुवै पक्षबाट वकालत गर्ने अनुभव हुन्छ त्यतिबेला तपाईं धरातलमा जोडिइरहनु भएको हुन्छ । तपाईंलाई त्यसबेला ती सोचाईबाट टाढा राख्छ– विपक्षी वकिल कोही राक्षस हुन्छन् र अभियोजन पक्षको वकिल ईश्वरको काम गरिरहेका हुन्छन् ।”
करिम खानको यो रबैया यो हप्ता पनि देखियो । जब उनी विश्वकै सबैभन्दा बढी विवादित मुद्दामध्येको एकमा कानुनी भाषाको सहारामा हमास र इजरायल दुवैलाई घेराउ गर्न सफल भए । केही मानिसका लागि करिम जुझारु, करिष्मायुक्त छन् भने कतिका लागि अहंकारी ।
चाहे रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हुन् वा लिबियाका तानाशाह कर्णेल कद्धाफी वा युगांडाका जोसेफ कोनी । उनीहरूको विरुद्धमा पनि विगतमा उनैले निवेदन दर्ता गराएका हुन् ।
धम्कीको सामना
आईसीसीमा खानले जे गरे त्यसैको नतिजा उनले धम्कीको पनि सामना गर्नु परेको छ । अब आईसीसीका न्यायाधीशले खानले दिएको प्रमाण हेरेर इजरायलका प्रधानमन्त्री र हमास नेतालाई पक्राउ पूर्जी जारी गर्ने कि नगर्ने भन्ने निर्णय लिनुपर्नेछ । खानले सीएनएनलाई दिएको एक अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन न्यातानाहुका विरुद्धमा मुघा दर्ता गर्नेबारेमा जाँच गर्दैगर्दा केही चुनिएका नेताले उनलाई सम्पर्क गरेका थिए । उनको दाबी अनुसार एक राष्ट्रपतिले ‘इन्टरनेसनल कोर्ट अफ्रिकी र केही ठगहरूका लागि बनाइएको थियो, जस्तो पुटिन’ भनेका थिए । खानले ती राष्ट्रपतिको नाम भने लिएनन् ।
अमेरिकाका केही रिपब्लिकन सिनेटर्सले खानलाई सार्वजनिक चिठी लेखेर पठाएका थिए । सो चिठीमा जाँच जारी रहेमा खान र उनको परिवारलाई अमेरिकामा जान रोक लगाइने लेखिएको जनाएका छन् । तर, खान रोकिएनन् । २० मे का दिन जब उनले आरोपको घोषणा गरे त्यतिबेला उनी बताउन हिच्किचाएनन् कि अदालतका अधिकारीलाई प्रभावित पार्न प्रयास गरे । करिम खानले दोस्रो पटक पनि यस्तो भए कारबाही गर्न पछि नहट्ने बताए ।
पाकिस्तानमा जोडिएका उनी
करिमको जन्म स्कटल्यान्डको एडिनब्रामा ३० मार्च १९७० मा भएको थियो । करिमका पिता पाकिस्तानी र आमा बेलायती नागरिक हुन् । सानो उमेरबाट नै करिम मानवअधिकार कानुनमा झुकाव राख्न लागेका थिए । यस कारणले पनि उनी अहमदिया समुदायमा पर्थे । उक्त समुदाय उत्पीडित मानिने गरेको छ । उनले लन्डनको प्रतिष्ठित किंग्स कलेजमा पढेका थिए । पछि करिमले महान्यायाधिवक्ताको टोलीमा पनि काम गरेका थिए । त्यसपछि नै उनी अन्तर्राष्ट्रिय न्यायको मार्गमा चलेका थिए । उनी कैयौं अन्तर्राष्ट्रिय अदालतमा चर्चित वकिलका रूपमा काम गरिसकेका छन् । कतिपय समयमा उनी बचाउको पक्षमा वकालत गर्छन् भने कतिपय समयमा उनी अभियोजनको पक्षमा उभिन्छन् । करिम रुवान्डा, लेबनान र सियरालियोनको आपराधिक अदालतमा काम गरिसकेका छन् । उनले केही विवादास्पद व्यक्तिको पक्षबाट पनि मुद्दा लडेका छन् । लिबियाका तानाशाह कर्णेल कद्धाफीका छोरा सेफ अल इस्लामको मुद्दा पनि उनले लडेका थिए । युद्ध अपराधका अभियुक्त लाइबेरियाका पूर्वराष्ट्रपति चार्ल्स टेलरको मुद्दा पनि उनले लडेका थिए । उनले केन्याका तत्कालीन उपराष्ट्रपति विलियम रुटोको मुद्दा पनि लडेका थिए । रुटोमाथि २००७ मा भएको चुनावपछि हिंसा भड्काएको आरोप लागेको थियो । यो हिंसामा १२ सय भन्दा बढी मानिस मारिएका थिए । खान यो मुद्दालाई अदालतमा खारेज गराउन सफल भएका थिए । केन्या ती देशमा एक हो जसले पछि आईसीसीमा आफ्नो उमेदवारीको बढावा दिएको थियो । त्यसैले यो प्रक्रियामा पनि शंका उत्पन्न भएको थियो ।
राष्ट्र संघमा खान
२०१८ मा उनी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका विशेष सल्लाहकार नियुक्त भएका थिए । खान त्यो सल्लाहकार समूहको प्रमुख पनि बने । जसले इराकमा इस्लामिक स्टेटको अपराधको जाँच गरेको थियो ।
१२ फेब्रुअरी २०२१मा खान आईसीसीमा ९ वर्षका लागि मुख्य अभियोजक चुनिएका थिए । खानले १६ जुन २०२१ मा शपथ लिएका थिए । आईसीसी जुलाई २००२ मा खडा गरिएको थियो । करिम खान यसको तेस्रो मुख्य अभियोजक बनेका हुन् । करिम खानभन्दा अघि उक्त पदमा गाम्बियाका न्यायाधीश फतौ बेन्सौदा थिइन् । फतौले अफगानिस्तानमा अमेरिकी सेनाको युद्ध अपराधको जाँच गरिनुपर्ने बताएकी थिइन् । उनको यो भनाइका कारण तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीमाथि प्रतिबन्ध लगाएका थिए । यो मुद्दा २०२० मा सुरु भएको थियो । सो मुद्दामा अमेरिकी सेनाबाहेक तालिवान र अफगान सैनिकको पनि जाँच गर्नुपर्ने थियो । यो प्रक्रिया चल्दै गर्दा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पम्पेओले आईसीसीलाई भ्रष्ट संस्था भन्दै टिप्पणी गरेका थिए ।
पछि अप्रिल २०२१ मा अमेरिकाले उक्त प्रतिबन्ध हटाएको थियो । यो फैसला त्यतिबेला लिइएको थियो जतिबेला आईसीसीमा फतौको स्थानमा खान आउने तय भएको थियो । केही महिनापछि खानले उक्त प्रसंगमा अमेरिकी सेनाको साटो तालिवान र इस्लामिक स्टेटको भूमिका जाँच गर्ने बताएका थिए । त्यसो भन्दा मानवअधिकारवादी संगठनले उनको आलोचना गरेका थिए ।
विवादको सुरुआत
करिम खानले अमेरिकालाई जाँच दायराबाट जब हटाउने फैसला गरे त्यतिबेला धेरैले आफ्नो मालिकको मनको काम गरिरहेको आरोप लगाएका थिए । थोमस वरफुस दशकौंदेखि द हेगको अदालतमा सुनुवाइ देख्दै आइरहेका छन् । उनी आईसीसीमा एसोसिएसन अफ जर्नालिस्टका अध्यक्ष पनि हुन् । खानको आईसीसीमा नियुक्ति उनको देश बेलायतको सहयोगले पनि भएको थियो । बेलायतको यो मामिलामा अमेरिका र इजरायलले पनि साथ दिएका थिए । यद्यपि, दुवै देश आईसीसीको रोम संझौताका हिस्सेदार भने होइनन् । थोमसले बीबीसीसँग भनेका छन्, “यही कारणले कैयौँ मानिसलाई यो लाग्यो कि अफगानिस्तान मामिलामा उनले त्यही गरे जुन अमेरिकाको चाहना थियो । नत्र अफगानिस्तान मामिलामा अमेरिकी सेनाको जाँच नगर्नुपर्ने कुनै कारण नै थिएन । जबकी त्यहाँको अवस्थालाई कतिपय मानवअधिकारवादी संगठनले भयावह भन्दै आएका थिए ।”
पत्रकार थोमसले भने, “प्यालेस्टाइन मामिलामा यस्तो लाग्थ्यो कि करिम आफ्नो मालिकको कुरा सुनिरहेका छैनन् । उनी आफ्नै आत्मविश्वास प्रदर्शन गरिरहेका छन् ।”
प्यालेस्टाइन क्षेत्र एउटा यस्तो मसला भइरहेको छ कि उनी त्यो पदमा गएदेखि नै उनको आलोचना भइरहेको छ । २०१९ मा आईसीसीका मुख्य अभियोजक रहेकी फतौले प्यालेस्टाइन क्षेत्रमा इजरायली सेना, हमास र अन्य सशस्त्र संगठनका अपराधको जाँच गर्ने निर्णय लिएकी थिइन् । २०२१ मा आईसीसीले यसमा आफ्नो हरियो झण्डा पनि देखाएको थियो । यो मामिलामा अदालत आफ्नो कार्यक्षेत्र प्रयोग गर्न सक्ने बताएको थियो । फतौले वेस्ट ब्यांकमा अवैध वस्ती बसाउने विषयमा जाँच गर्ने बताएकी थिइन् ।
करिमको इजरायल यात्रा
करिमले जब काम थाले त्यसपछि यो जाँच रोकिएको थियो । कैयौं मानवअधिकार संगठनले वषौंदेखि सो मुद्दामा अन्तर्राष्ट्रिय न्याय मिल्नेछ भन्ने अपेक्षा गरेका थिए । ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो । यो हमलापछि करिम इजरायलको यात्रामा निस्केका थिए । यो यात्राका कारण उनको आलोचना पनि भएको थियो । कैयौं मानिसले यसलाई करिमले पक्ष लिएको ठाने किनकी उनले प्यालेस्टाइन क्षेत्रको यात्रा गरेका थिएनन् । यद्यपि, केही समयपछि करिम रफाह सीमामा निस्के । जहाँ मानवीय मद्धत गर्नका लागि इजरायलले बाधा उत्पन्न गरिरहेको थियो ।
पछिल्लो एक वर्षको बीचमा करिमले पक्राउ पुर्जीका लागि प्रयास गरेका न्यातानाहु विश्वका दोस्रो नेता हुन् । यसअघि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न अभियोजन दर्ता गराएकोमा मार्च २०२३ मा आईसीसीले सो पक्राउ पूर्जी जारी गरेको थियो । अहिले भेनेजुएलाको पनि आईसीसीमा मुद्दा चलिरहेको छ । बीबीसी