बाह्रखरी । जलवायु परिवर्तनका कारण नेपालमा पछिल्लो २५ वर्षमा सबैभन्दा बढी रुघाखोकी र ज्वरो फैलिएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण–२०२२’ ले नेपलमा बितेको २५ वर्षमा सबैभन्दा बढी रुघाखोकी र ज्वरो फैलिएको देखाएको हो ।
सर्वेक्षणमा देशभरका सातवटै प्रदेशका ६ हजार ५२० घर–परिवार समेटिएको थियो । सर्वेक्षणमा हिमाल, पहाड र तराई तीनवटै भूगोलमा बसोबास गर्ने घरपरिवार सहभागी थिए ।
“रुघाखोकी र ज्वरो सबैभन्दा बढी फैलिएको देखिएको छ । ४३.४ प्रतिशत घर–परिवार रुघाखोकी र ३२.७ प्रतिशत घर–परिवार ज्वरोबाट प्रभावित भएको देखिन्छ,” राष्ट्रिय तथ्याङ्क कार्यालयले सर्वेक्षण प्रतिवेदनमा भनेको छ ।
बितेको २५ वर्षमा नेपालमा सबैभन्दा कम संक्रमण हैजा र भाइरलको देखिएको छ । उक्त अवधिमा मात्र ०.१ प्रतिशत घर–परिवारले हैजा र भाइरलबाट प्रभावित भएका जनाएका थिए ।
सर्वेक्षणका क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका घर–परिवार सबैभन्दा बढी झाडापखला, छालाको रोग, खोकी, ज्वरो जस्ता रोगबाट प्रभावित भएको पाइएको थियो । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा भने सबैभन्दा बढी घर–परिवार टाइफाइड र दमबाट प्रभावित रहेको सर्वेक्षणका क्रममा भेटिएका थिए ।
पछिल्लो २५ वर्षमा रुघाखोकी र ज्वरोले सहरमा बस्नेभन्दा गाउँमा बस्नेलाई बढी दुःख दिएको छ ।
प्रतिवेदन अनुसार उक्त अवधिमा रुघाखोकीले ४३.१ प्रतिशत र ज्वरोले ३२.६ प्रतिशत सहरी क्षेत्र (नगरपालिका)का घर–परिवारलाई दुःख दिएको थियो । ग्रामीण क्षेत्र (गाउँपालिका)का ४३.७ प्रतिशत घर–परिवार रुघाखोकी र ३२.९ प्रतिशत घरपरिवार ज्वरोबाट प्रभावित भएको पाइएको छ ।
भौगोलिक बनोटका हिसाबले रुघाखोकी र ज्वरोले सबैभन्दा असर तराईमा गरेको देखिन्छ । हिमाली र पहाडी क्षेत्रको तुलनामा रुघाखोकी र ज्वरोबाट बढी प्रभावित घरपरिवार तराईमा छन् ।
सर्वेक्षणमा हिमाली भेगमा ३५ प्रतिशत, पहाडमा ४० प्रतिशत र तराईमा ४९.२ प्रतिशत घरपरिवारले आफूहरु रुघाखोकीबाट प्रभावित भएको बताएका थिए । यस्तै, ज्वरोबाट हिमाल, पहाड र तराईमा प्रभावित हुने घरपरिवारको संख्या क्रमशः २२.१ प्रतिशत, २७.१ प्रतिशत र ४१.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
रुघाखोकी र ज्वरोबाट प्रभावित हुने घर–परिवारको संख्या हिमाली क्षेत्रबाट तराईतर्फ क्रमशः बढ्दै गएको देखिन्छ भने दमका रोगी तराईबाट हिमाली क्षेत्रतर्फ । पछिल्लो २५ वर्षमा दमबाट तराईका ११.४ प्रतिशत, पहाडका ११.६ प्रतिशत र हिमालका २०.१ प्रतिशत घरपरिवार प्रभावित भएको प्रतिवेदनमा देखाइएको छ ।
सर्वेक्षणले क्यान्सरबाट प्रभावित घर–परिवारको संख्या गाउँमाभन्दा सहरमा बढी रहेको देखाएको छ । बितेको २५ वर्षमा ग्रामीण क्षेत्र (गाउँपालिका)मा बसोबास गर्ने १.६ प्रतिशत र सहरी क्षेत्र (नगरपालिका)मा बसोबास गर्ने २.७ प्रतिशत घर–परिवारले आफूहरु क्यासरबाट प्रभावित भएको जवाफ दिएका थिए ।
भूगोलका हिसाबले हिमाल र तराइको तुलनामा पहाडी क्षेत्रमा बसोबास गर्नेमा बढी क्यान्सरबाट प्रभावित छन् । प्रतिवेदन अनुसार, हिमाली क्षेत्रका २.१ प्रतिशत, पहाडी क्षेत्रका २.४ प्रतिशत र तराई क्षेत्रका २ प्रतिशत घर–परिवारले क्यान्सरबाट प्रभावित भएको बताएका थिए ।
सर्वेक्षणले मानसिक समस्या सहरमाभन्दा गाउँमा बस्नेमा बढी देखाएको छ । सहरमा बसोबास गर्ने २.५ प्रतिशत र गाउँमा बस्ने ३.२ प्रतिशत घरपरिवार मानसिक समस्याबाट प्रभावित भएका थिए ।
मानसिक समस्या हिमाल, पहाड र तराई क्षेत्रमा बसोबास गर्नेमा क्रमशः बढ्दो क्रममा देखिन्छ । प्रतिवेदनमा हिमाली क्षेत्रमा बसोबास गर्ने १.७ प्रतिशत, पहाडी क्षेत्रमा बसोबास गर्ने २.४ प्रतिशत र तराई क्षेत्रमा बसोबास गर्ने ३.५ प्रतिशत घरपरिवार मानसीक समस्यबाट प्रभावित भएको देखाएको छ ।
बितेको २५ वर्षमा विभिन्न रोगका संक्रमण वृद्धि भएको पनि सर्वेक्षणले देखाएको छ । गाउँपालिकामा बस्ने ३७ प्रतिशत र नगरपालिकामा बस्ने ३५.१ प्रतिशत घर–परिवारले रोगका संक्रमण वृद्धि भएको सर्वेक्षणमा जनाएका हुन् ।
यस्तै, भूगोलका हिसाबले हिमाली क्षेत्रमा बस्ने ३८ प्रतिशत, पहाडी क्षेत्रमा बस्ने ३८.९ प्रतिशत र तराई क्षेत्रमा बस्ने ३३.१ प्रतिशतले पछिल्लो २५ वर्षमा विभिनन रोगको संक्रमण वृद्धि भएको अनुभव गरेका थिए ।