site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी प्रवर्द्धनका लागि दक्षिण कोरियाका राजदूतसँग परिसंघको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । 

बुधबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देशबीचको कूटनैतिक सम्बन्ध स्थापित भएको ५०औँ  वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्त्वपूर्ण भएको बताए । छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरियाली लगानीकर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन,  जलविद्युत्, कृषिलगायत क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङलाई आग्रह गरे । 

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केही कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तव्य रहेको बताए । 

दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरियामा सिकेको सीप नेपालमा उद्यमशिलताका साथै समग्र आर्थिक विकासमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले सीप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरे । परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’मा कोरियाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङसँग आग्रह गरे ।

राजदूत पार्क टेइ योङले परिसंघले सञ्चालन गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्‍याउने बताए । राजदूत तइयोङले कोरियाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू मेहनती तथा इमान्दार भएको बताए । उनले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनुपर्ने विचार व्यक्त गरे ।

नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरिया सदैव सकारात्मक रहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro