
सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा जेठ २३ गते सम्पन्न भएको छ । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालसम्मको प्रगति र भावी योजनाहरूको संक्षिप्त जानकारी प्रस्तुत गराएका थिए ।
सभामा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । सञ्चालक समितिको प्रतिवेदनमाथि सेयरधनीहरूले सकारात्मक धारणा राख्दै प्रतिवेदनलाई अनुमोदन गरेका छन् । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि छलफलपश्चात् सर्वसम्मत पारित गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा श्री जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । त्यस्तै, समूह ‘ख’अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा ईश्वरलाल श्रेष्ठ र श्रीमती सुनिता महर्जन निर्विरोध निर्वाचित भएका छन् ।