site stats
बाह्रखरी :: Baahrakhari
खेल
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट

काठमाडौं । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एसियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिकमा स्थान बनाउन सफल भएका हुन् । यससँगै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए ।

Argakhachi Cement Island Ad

यसअघि, तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य, दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए भने केही समयअगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारा ओलिम्पिकका लागि छनोट भइसकेकी छिन् । बुधबार फाइनल अगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने पक्का भइसकेको थियो ।

फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइालमा स्थान बनाएका थिए ।

फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए । त्यसपछिका दुईमा सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११,८–११ ले हराए । सातौँ तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाइन् । यस विधामा नेपालकै इभाना थापा सेमिफाइनलमा पराजित भएकी थिइन् । उनी श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित भएकी हुन् । नवीता श्रेष्ठको यात्रा पनि क्वार्टरफाइनलमा नै रोकिएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्