site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्जिनियरिङ छोडेर फुटबल रेफ्रीमा रमाइरहेकी लक्ष्मी

काठमाडौं । फुटबलमा रेफ्रीको पेसालाई ‘थ्यांङ्सलेस जब’ भनिन्छ । अर्थात्, दुई टिमबीच निष्पक्ष खेल खेलाउन मैदानमा २३औँ व्यक्तिका रूपमा दौडिने रेफ्री र लाइनबाहिरका दुई लाइन्समेनले धन्यवाद कसैगरी पाउँदैनन् । हार्ने टिमले चित्त बुझाउनै भए पनि रेफ्रीको गल्ती देखाउँछ । इन्जिनियरिङको सुन्दर करियर छोडेर यही ‘थ्यांङ्सलेस जब’मा रमाइरहेकी छन्, लक्ष्मी श्रेष्ठ ।

उनी सानो छँदा गाउँका दाइहरूसँग फुटबल माहोलमा हुर्किइन् । राम्रो खेलाडी बन्ने चाहना लक्ष्मीमा पनि थियो । तर, व्यावसायिक वातावरण नहुँदा फुटबलर बन्ने उनको सपना फक्रन पाएन । गाउँमा पढाइपछि काठमाडौं आएकी लक्ष्मीलाई फुटबल र पढाइ एकसाथ अघि बढाउन झनै कठिन बन्यो । तर पनि उनले फुटबललाई पूर्ण रूपमा त्याग्न सकिनन् ।

छुट्टीका बेला साथीहरूले खेल्न बोलाएको ठाउँमा पुगिहाल्थिन् उनी । परीक्षा र गेम एकसाथ हुने गर्दा लक्ष्मीले धेरैजसो प्रतियोगितामा सहभागिता जनाउन भने पाइनन् । ०६५ सालमा भएको पाँँचौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट महिला फुटबलमा प्रतिनिधित्व गरेकी लक्ष्मीको अन्तिम प्रतियोगिता नै त्यही बन्यो ।

lakshmi-foto-for-feature-1715408697.jpg

उनले फुटबलको लगावलाई भने छोड्न सकिनन् । बोर्ड परीक्षा सरेकै बेला धनगढीमा फुटबल प्रतियोगिता आयोजना हुने भयो । आफ्नै ठाउँमा हुने प्रतियोगिता हेर्न धनगढी पुग्ने निधो गरिन् । धनगढी पुग्दा गाउँका दाइहरूले रेफ्री बन्नुपर्छ भनेर हौस्याएपछि लक्ष्मीले पनि आँट गरिन् ।

“मजाकमै रेफ्रीमा लागियो । त्यति बेला म काठमाडौंमा पढिरहेको थिएँ । त्यतिखेर खेलिरहेको थिएँ । पढ्ने क्रममा बोर्ड परीक्षा र खेल सधैँ जुध्ने । बाको लगानी डुबाउनु भएन, पढ्नुपर्छ भन्नेमै लागियो,” लक्ष्मीले भनिन्, “तर, एकचोटि बोर्ड परीक्षा पनि सर्‍यो । धनगढीमै गेम थियो । आफ्नै ठाउँमा भएको खेल खेल्न नपाए पनि हेर्न पाइन्छ भनेर गएको । तर, दाइहरूले रेफ्री पढ्नुपर्छ, यसले पढ्छे भन्नुभयो ।”

रेफ्रीको पढाइ सकियो । तर, फिट भए/नभएको बुझ्न फिटनेस चेक गरिँदा मैदानको १० राउन्ड दौडिनुपर्ने रहेछ । जसोतसो पढाइ पूरा गरेकी थिइन् । रेफ्री बन्दा दौडिनुपर्छ भन्ने उनलाई थाहा थिएन । पाँच दिन पढेपछि दौडिनु पनि पर्ने भयो । लामो समय मैदानबाट बाहिर थिइन् । लक्ष्मीका लागि मैदानको १० चक्कर लगाउनु सहज थिएन । तर, हार मानिनन् । पाँच दिनको पढाइ र फुटबलप्रतिको लगावले फिटनेस टेस्ट पनि पार गरिन् ।

०६९ सालमा रेफ्रीको लाइसेन्स पाउँदा लक्ष्मी इलेक्ट्रोनिक्स इन्जिनियरिङको स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् । त्यसको अर्को वर्ष स्नातक सकाइन् ।

laxmi-1-1715408696.jpg

रेफ्री बनिसकेपछि खेल्न पाइँदैन भन्ने उनले सुनिन् । खेल्न नपाइने नै सोचेर फुटबल खेल्न छोडिन् । “नेपाली महिला फुटबल अझै त व्यावसायिक छैन, झन् त्यस बेला गाह्रो थियो । विभागीय र राष्ट्रिय टिममा नहुनेलाई मुस्किल थियो । त्योभन्दा अरूमा अवसर नै थिएन । त्यस बेला बाटो देखाउने मान्छे पनि भएनन् । जे भए पनि फुटबलसँगै जोडिनुपर्छ भन्ने थियो । त्यसैले यसलाई छोड्न पनि सकिएन ।”

स्नातकपछि स्नातकोत्तरका निम्ति उनले भारतीय दूतावासमा छात्रवृत्तिका लागि आवेदन दिइन् । छात्रवृत्ति पाउने आस भने थिएन । मनको सन्तोक थियो आवेदन । ०७२ सालको भूकम्पपछि काठमाडौंबाट गाउँ पुगिन् ।

गाउँमै रहेका बेला लक्ष्मीलाई आश्चर्यजनक रूपमा दूतावासबाट फोन आयो । छात्रवृत्ति पाउने भइन् । भारतको आन्द्र प्रदेशको विजयवाडास्थित केएल विश्वविद्यालयलबाट उनले कम्युनिकेसन एन्ड राडार इन्जिनियरिङ विषयमा स्नातकोत्तर पूरा गरिन् ।

नेपाल फर्किएपछि लक्ष्मीले इन्जिनियरिङलाई अघि नबढाउने निधो गरिन् । परिवारले पनि फुटबलप्रतिको उनको लगावलाई नकार्न सकेन ।

lakxmi-1715408696.jpg

राष्ट्रिय रेफ्रीको लाइसेन्स प्राप्त लक्ष्मी फुटबल खेलाउन देशभर पुग्छिन् । परिवारबाट पनि रोकावट छैन । बरु, साथ पाएकी छन् ।

“घरमा ममीबाबाले इन्जिनियरिङलाई पनि सँगै लगे हुन्थ्यो भन्नुहुन्थ्यो । तर, मैले सकिँदैन नै भनेँ,” लक्ष्मी भन्छिन्, “त्यसपछि पनि भन्नुहुन्थ्यो । मैले कन्भिन्स गर्न सकेँ कि सकिनँ थाहा छैन, तर त्यसपछि भन्नु भएन । अहिले सहयोग नै गर्नुहुन्छ । म यहाँ जान्छु भन्दा नजाऊँ कहिल्यै भन्नु हुन्न ।”

उनी रेफ्रीकै लागि देशका विभिन्न ठाउँ पुग्छिन् । २९ वर्षीया लक्ष्मीले सन् २०२२ मा डेनमार्कमा भएको डाना कप समेत खेलाइसकेकी छन् । नेपालका विभिन्न ठाउँमा पुग्दा ‘तपाईं यो ठाउँमा गेम खेलाउने पहिलो महिला रेफ्री हो ?’ भनेर सोध्दाको क्षण लक्ष्मीलाई अविस्मरणीय लाग्छ । उनी रेफ्री बन्न खोज्ने नयाँ पुस्तालाई फिटनेसमा ध्यान दिन र फुटबलको ‘लज अफ दी गेम’लाई राम्रोसँग बुझ्न सल्लाह दिन्छिन् ।

lakxmi-shresta-1-1715409121.jpg
 

“यदि, रेफ्रीमै आउने हो भने फिटनेस राख्न जरुरी छ । फुटबलको लज अफ दी गेमलाई राम्ररी प्रयोग गर्न सक्नुपर्छ,” उनी भन्छिन्, “शारीरिक मात्र नभई मानसिक रूपमा पनि बलियो भएपछि राम्रो रेफ्री भइन्छ । सबैभन्दा ठूलो आफ्नो इच्छा पनि हुनुपर्छ । फुटबल रमाइलो छ । दुःख सबै क्षेत्रमा हुन्छ । रमाइलो गर्न जाने रेफ्रीमा मज्जाले भिज्न सकिन्छ ।”

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro