site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्रीहरूको पहिलो प्राथमिकता– आफूअनुकूलका कर्मचारी हेरफेर !

काठमाडौं । स्वास्थ्यमा हरेक नयाँ मन्त्री नियुक्तिसँगै आम नागरिकको अपेक्षा हुन्छ– राज्यका सेवा सुविधामा सहजीकरण होस्, आधारभूत स्वास्थ्य सेवामा पहुँच होस् । नीतिगत सुधार होस्, मन्त्रालय र तल्लो तहसम्म देखिएका बेथितिको अन्त्य होस् ।

तर, हरेकपटक मन्त्री फेरिँदा नागरिकका यी अपेक्षाको सम्बोधन हुँदैन । बरु आफू अनुकूलका कर्मचारी सरुवा, पदस्थापन र हेरफेर नै मन्त्रीको पहिलो प्राथमिकतामा पर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक पूर्वसचिवको भनाइमा 'नयाँ स्वास्थ्यमन्त्रीहरूको आँखा नीतिगत निर्णय र जनताका समस्यामा पर्दैन । बरु कर्मचारीको कुर्सीमा छिटो पर्छ । मानौँ उनीहरूले  आफूअनुकूलको टिम बनाउन नै मन्त्रीको जिम्मेवारी पाएका हुन् ।'

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएको दुई महिना बित्न लाग्यो । तर, अहिलेसम्म कुनै पनि बलियो नीतिगत  निर्णय भएको छैन ।

न स्वास्थ्यमा जनशक्ति अभावको समाधान खोजिएको छ न त संघीय अस्पतालहरूमा खुम्चिएका सेवा विस्तार नै गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रमको झन्झटिलो सेवा प्रक्रियालाई सहज गराउन पनि कुनै कदम चालिएको छैन । न त चरम आर्थिक अभाव झेलिरहेका अस्पतालहरूमा उनको नजर पुगेको छ । बरु आफू अनुकूल कर्मचारी सरुवामा निकै अगाडि बढेका छन्, उनी ।

यही वैशाख ६ गते एकैपटक दशौँ र एघारौँ तहका १८ जना चिकित्सक नर्सको जिम्मेवारी हेरफेर गरेका उनले राष्ट्रिय ट्रमा सेन्टरमा एघारौँ तहका प्रमुख कन्सल्टेन्लाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाएर दशौँ तहका कन्सल्टेन्टलाई सो जिम्मेवारी दिए । 

चरवटा संघीय अस्पतालका एघारौँ तहका चिकित्सक नर्सलाई प्रदेशको मुख्यमन्त्री कार्यालयले जिम्मेवारी दिने गरी कामकाजमा खटाएका छन् ।

सोही तहका १२ जना चिकित्सक नर्सलाई पनि अन्तरमन्त्रालय सरुवा गरेका छन् । वैशाख ९ गते  फेरि अर्को निर्णय गर्दै मन्त्री यादवले नवौँ र दशौँ तहका चिकित्सक नर्सहरूलाई सरुवा, कामकाज र पदस्थापन गरेका छन् ।

त्यसो त यसअघिसमेत स्वास्थ्यमन्त्री रहँदा २०७५ मंसिरमा मन्त्री यादवले पार्टीगत स्वार्थमा ठूलो संख्यामा कर्मचारी हेरफेर गरेका थिए । कसैले आफ्नो पार्टीको घोर विरोध गरेको त कसैलाई विशेष प्राथमिकता भन्दै कपिलवस्तुका एक सांसदले २५ जनाको नाम मन्त्री यादवलाई सिफारिस गरेको पत्र नै बाहिरिएको थियो । 

त्यतिबेला उनले पाचौँदेखि छैटौँ तहका कर्मचारी समेतलाई अन्धाधुन्ध हेरफेर गरेका थिए ।

मन्त्रीको पहिलो काम सरुवा !

दोस्रो कोभिडकालमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले २०७८ साउन १८ गते आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर एघारौँ तहका तीनजना कर्मचारी सरुवाको निर्णय गरेका थिए ।

वीर अस्पतालका तत्कालीन प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमसहित तीनजना सहचिवहरूको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुपरेको थियो ।

२०७८ असोज २२ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडा एक महिने कार्यकाल बित्न नपाउँदै कर्मचारी सरुवाकै कारण विवादमा मुछिएका थिए । सञ्चारकर्मीहरूसँग समेर्त 'आफूलाई सहज हुने टिम बनाउने’ बताएका खतिवडाको गैरकानुनी सरुवाको मुद्दा सर्वोच्च अदालतसम्मै पुगेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवादकाबीच उपकुलपति नियुक्ति गरिएको भन्दै २०७८ कार्तिक २४ गतेदेखि मन्त्री खतिवडाले तत्कालीन उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई कामकाजमा रोक लगाएका थिए ।

सर्वोच्चले फिर्ता गरिसकेको रिटलाई टेकेर उनले कार्तिक २४ गते उपकुलपति डा. रावललाई कामकाज रोक्न निर्देशन दिए । त्यसको दुई दिन नबित्दै मन्त्री खतिवडाले निमित्त उपकुलपतिको जिम्मेवारी डा. निरेश थापालाई दिए ।

तर, सर्वोच्चले नै मन्त्री खतिवडाको सरुवा बदर गर्न आदेश दिएपछि उपकूलपति डा. रावल र रजिस्ट्रार महत पुन: कर्णाली फर्किएका थिए ।

खतिवडाले पुन: २०७८ पुस २७ गते मन्त्रालयका १२औँ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेरको निर्णय गरेका थिए । तर, राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेपछि सरुवा गरिएको भन्दै निर्णय फिर्ता लिन प्रधानमन्त्री देउवाले नै निर्देशन दिनुपरेको थियो । 

त्यसो त देश नै डेंगीले सिकिस्त थलिएका बेला 'माखो नमारेका’ एकीकृत समाजवादीकै सांसद भवानीप्रसाद खापुङले पनि स्वास्थ्यमन्त्री पद सम्हाल्न नपाउँदै आठजना एघारौँ तहका कर्मचारी सरुवा गरेका थिए । २०७९ भदौमा महत्त्वपूर्ण निकायका निर्देशकहरू हेरफेरले महामारी नियन्त्रणमा असहज भएको भन्दै चौतर्फी विरोध भएको थियो ।

“संक्रामक रोग विशेषज्ञहरूले मैदानमा उत्रिनुपर्ने समयमा सरुवा–बढुवामा व्यस्त छन् । महामारीका बेला यतिसम्म निष्क्रिय सरकार त अहिलेसम्म देखेकै थिएन,” वरिष्ठ सरुवारेग विशेषज्ञ डा. शेरबहादुर पुनले  टिप्पणी गरेका थिए ।

यसअघिका स्वास्थ्यमन्त्री नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले पनि कर्मचारी व्यवस्थापनमा भन्दा 'स्टन्ट मन्त्री’कै रूपमा आफ्नो बलियो छवि बनाएर गए ।

२०८० वैशाख २० गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका उनी झन्डै १० महिना जिम्मेवारीमा रहे । तर, कर्मचारी हेरफेर र स्टन्टयुक्त अभिव्यक्तिका कारण दर्जनौँपटक विवादमा तानिए  । 

नियुक्तिको दुई साता नबित्दै उच्च तहका कर्मचारी जिम्मेवारी हेरफेरमा हात हाले । जसमा उनको पहिलो निर्णय नै विवादित बन्यो ।

२०८० जेठ ३ गते मन्त्रीस्तरीय निर्णय गर्दै उनले डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहलाई पदबाट हटाएर कांग्रेस निकट करुणाकर ओझालाई अध्यक्ष नियुक्त गरे । 

आफ्नो नियुक्ति खारेजीविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका सिंहलाई सर्वोच्चकै अन्तरिम आदेशले अध्यक्षको जिम्मेवारीमा फर्काएको थियो । तर, उनले पछि सिंहको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै समिति अध्यक्षमा फेरि ओझालाई नै नियुक्त गरे । 

२०८० असारमा मन्त्री बस्नेतले भक्तपुर क्यान्सर अस्पतालमा ११औँ तहका निर्देशकलाई सरुवा गरी ९औँ तहका कर्मचारीलाई निर्देशकको जिम्मेवारी दिए  । 

उनको यो निर्णय सर्वोच्च अदालतले कार्यान्वयत नगर्न अन्तरिम आदेश दियो । तत्कालीन निर्देशक डा. विष्णुदत्त पौडेल आफ्नो जिम्मेवारीमा फर्किए । तर, आदेशपछि भने चरम राजनीतिक चलखेलमा परेको भन्दै डा. पौडेलले निर्देशक पदबाट राजीनामा दिएका थिए ।

स्वास्थ्यमन्त्री बस्नेतकै सिफारिसमा गएको २०८० असोज २४ गते मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौललाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गर्‍यो । 

सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका पुगेका डा. बसौलालाई अन्तरिम आदेशमार्फत नै जिम्मेवारीमा फर्किने बाटो खुल्यो । तर, फेरि मन्त्री बस्नेतकै सिफारिसमा गएको माघ ९ गते मन्त्रिपरिषद्बाट डा. बसौलालाई पदमुक्त गरियो ।

माघ २५ गते मन्त्री बस्नेतले निमित्त कार्यकारी निर्देशकमा डा. मुक्ति श्रेष्ठलाई नियुक्त गरे । तर, पुनः सर्वोच्चको पूर्ण आदेशमार्फत डा. बसौला कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्किए । 

मन्त्री बस्नेत मन्त्रीबाट मात्रै होइन, उनको पार्टी नै सरकारबाट हट्यो । डा. बसौला भने अहिले पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । 

२०८० मंसिर १४ गते स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई निर्देशकबाट हटाएर मन्त्रालय तान्ने निर्णय गरे । २०७९ फागुन ५ गते दुई वर्षे कार्यकालको जिम्मेवारी पाएका डा. पौडेल पनि निर्णयविरुद्ध सर्वोच्च नै पुग्नुपर्‍यो । २०८० पुस ३ गते अन्तरिम आदेशमार्फत  वीरको साविकको जिम्मेवारीमा फर्किएका डा. पौडेलले अहिले पनि आफ्नो वीरको निर्देशकको पद सम्हालिरहेका छन् । 

बरु मन्त्री बस्नेतले अन्धाधुन्ध हटाएका २७६ चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीको अभाव भने अहिले पनि खड्किरहेको छ, वीरमा । जसका कारण अस्पतालको सेवा मात्रै खुम्चिएको छैन । आम नागरिकको नागरिकको सहज र छिटोछरितो रूपमा सेवा पाउने मौलिक हक नै खोसिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro