site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा संस्थापनतर्फ गुटको आकार बढाउँदै दोस्रो तहका नेता  

काठमाडौं । १५औं महाधिवेशनमा सभापति निम्ति साझा उमेदवारको खोजमा नेपाली कांग्रेसमा शेरबहादुर देउवा निकटका सात भाइ छलफलमा जुटेका छन् ।

कांग्रेसका नेतात्रय वीपी पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिपुत्र विमलेन्द्र निधिले सुरु गरेको ‘लञ्च मिटिङ’लाई निरन्तरता देखिनेगरी थप नेताहरू पनि छलफलमा जुटेका हुन् । यसरी छलफलमा जुट्न सभापति देउवाले नै उनीहरूलाई उत्प्रेरित गरेको एक नेताले बताए ।

गत फागुन २ गते सभापति देउवालाई कांग्रेसका ११ भाइ नेताहरूले सभापतिको उमेदवार तोक्न आग्रह गरेका थिए । 

पार्टी सभापति बनाउन सहयोग गरेका नेताहरूसँग निरन्तर छलफल समेत सभापतिले नगर्दा टिममा अन्योल छाएको र संस्थापन इतरबाट मात्र उमेदवार रहेको सन्देश गएको भन्दै उनीहरूले उम्मेदवार तोक्न आग्रह गरेका थिए ।

११ भाइलाई देउवाको सन्देश–  आफू प्रधानमन्त्री नभइ महाधिवेशन हुँदैन, ०८४ पछि पनि हुन सक्छ 

तर, देउवाले भने आफू प्रधानमन्त्री नभई पार्टीको महाधिवेशनेका मिति र आफ्नो टिममा सभापतिको उम्मेदवार दुबै नतोकिने जवाफ दिएका थिए । 

त्यतिबेला देउवाले ११ भाइलाई निरन्तर छलफलमा जुट्न र साझा उमेदवार खोजी गर्न सुझाएका थिए । देउवाले आफू गुटको बैठक नबोलाउने जानकारी गराउँदै आवश्यक परेका बेला आफैँ भेटघाट निम्ति उपलब्ध हुने बताएका थिए ।

“अब मैले गुटका बैठक बोलाउन मिल्दैन, तपाईंहरू आपसमा छलफल गर्नुहोस्, आवश्यक परेका दिन म कहाँ आउन सक्नुहुनेछ भन्नुभएको छ,” नेता गोपालमान श्रेष्ठले बाह्रखरीसँग भने, “हामी सात जना छलफलमा जुटेका छौं । डा. प्रकाशशरण महत सभापतिजीसँगै लुम्बिनी गएका कारण उपस्थित हुन सक्नुभएन । हामी आवश्यकता अनुसार टिम विस्तार गर्दै जानेछौं ।”

कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिको घरमा गत शनिबार ‘लञ्च मिटिङ’ले नयाँ वर्षको पहिलो साता डा. शशांक निवासमा अर्को बैठक तय गरेको छ । कांग्रेसको संगठन चुस्त/दुरुस्त बनाउने, पार्टीको राष्ट्रिय/अन्तराष्ट्रिय छवि सुधार गर्दै नेता पार्टीका रुपमा स्थापित गर्ने र १५औं महाधिवेशनसम्म पुग्दा परिपक्व नेतृत्वसहितको टिम स्थापित गर्ने’ मुद्दा तय भएको थियो । तर, त्यहीबीचमा १५ गते राजावादी आन्दोलनले तीनकुने हिंसा भएपछि बैठक त्यसमै केन्द्रित बन्न पुगेको थियो । 
“यो हामी तीनजना डा. शशांक, प्रकाशमान र मैले सुरु गरेको मुद्दामै केन्द्रित भएर विस्तारित भएको हो, १६ गतेको बैठका लागि पनि विगतकै मुद्दामा छलफल तय भएको थियो,” पूर्वमहामन्त्री निधिले बाह्रखरीसँग भने, “महाधिवेशनको मिति गुजार्ने प्रयास भइरहेको, पदाधिकारीहरूले उचित भूमिका खेल्न नसकेको विषयमा पनि समीक्षा भएको छ ।”

सार्वजनिक रुपमा तीनकुने घटनाप्रति भत्र्सना गर्दै व्यक्तिगत सम्पत्ति, सार्वजनिक कम्पनी र स्टोरमा तोडफोड, लुटपाट र आगजनीका घटनाप्रति खेद प्रकट गरेको थियो । 

तर, आन्तरिक रुपमा भने सरकार राजावादीको सम्भावित वितण्डाप्रति सचेत नभएको, आन्दोलन अराजक भइसकेपछि व्यवस्थापन गर्न चुकेको र गृहप्रशासन परिस्थिति नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न चुकेको निस्कर्ष निकालेको थियो । 

भेटपछि निधिले भने, ‘‘पार्टीका प्राथमिकता, महाधिवेशन ०८३ भित्रै सुनिश्चितता, भातृ संस्थासहितको संगठन सुदृढीकरण र बलियो पार्टी निर्माणमा छलफल हुन्छ । महाधिवेशनसम्म पुग्दा साझा उम्मेदवार पनि तय हुन्छ ।”

नेता गोपालमान श्रेष्ठ भने संस्थापन इतरबाट हल्ला शुरु भएको, संस्थापन पक्षले जिम्मेवार रुपमा प्रस्तुत हुँदै सल्लाहमा उमेदवार तय गर्ने तयारी थालेको बताउँछन् । 

पदाधिकारीले आफ्नो जिम्मेवारी छाडेर हल्ला र प्रचारमा लाग्दा पार्टीलाई घाटा हुने भएकाले पदाधिकारीबाट जिम्मेवार भूमिका निर्वाह नभएको निस्कर्ष निकालेको उनको भनाइ छ ।

बैठकमा देउवा समूहबाट सभापतिका आकांक्षी पूर्णबहादुर खड्कालाई भने आमन्त्रित गरिएको थिएन । “उहाँको स्वास्थ्य पनि ठीक थिएन,” श्रेष्ठले भने, “आवश्यक पर्दा बोलाउने भनिएकाले भोलिका दिनमा जो आवश्यक पर्छ, उसलाई बोलाउँदै टिम विस्तारित गर्ने हो ।”

१४औं महाधिवेशनमा देउवालाई दोस्रो चरणसम्म प्रतिस्पर्धामा लैजाने डा. शेखर कोइराला प्रचार उत्रिइसकेका छन् । महामन्त्री गगन थापाले सभापतिको उमेदवार घोषणा नगरे पनि पार्टीका जिल्ला, प्रदेश र क्षेत्रीय भेलामा सक्रियता बढाउँदै उमेदवारी दिने सन्देश दिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro