सुधा अत्रि
कल्पना, विचार र भावनाको
खेतमा कुलो–पानी लगाएर
फाँटमा उब्जाइने
फसल मात्र होइन, कविता ।
यो त
कथा, व्यथा र भोगाइ
अनि मुटुभित्र
गडेको खिलको
सहउत्पादन,
तातो तरलमा
रूपान्तरण भई
आँखामा टिल्पिलाउने
आँसुको उष्णता हो
जसले गालामा
एउटा नमिठो
छाप छोडेको हुन्छ !
कक्षाकोठामा
पढाइने इतिहासझैँ
दुई पक्षको
सीमित युद्ध मात्र होइन !
यो त
जीवन–ज्योति
हातमा लिएर
कर्तव्यबोध गर्दै
ज्वालामा झिल्को
बनेर होमिन तत्पर
वीर योद्धाहरूको
जिउँदो साक्षी हो !
मानव जीवनलाई
नियमबद्ध रूपले
हत्या गर्नेकै लागि
तयार गरिएको
मरुस्थल एवम्
सतरञ्जको खेलजस्तै
युद्धखालमा
भाइ, बन्धु,
आफन्त र इष्टमित्र
नचिन्ने रक्तपिपासुको
प्रतिकारमा उभिएको
योद्धा हो !
नरभक्षी बनेर
युगौँदेखि
निर्दोष अस्तित्वलाई
निल्न अभ्यस्तरत
हुँडारहरूविरुद्धको
आगोको लाभा पनि हो, कविता !