काठमाडौं । ताप्लेजुङमा गएको कात्तिक २६ गते भएको नमुना मतदानमा ३६ प्रतिशत मतपत्र बदर भयो । फुङलिङ नगरपालिकाको वीरेन्द्र चोकमा भएको नमुना मतदानमा ३३ मत खसेकोमा १२ मत बदर भयो ।
अछाममा पनि मंसिर १ गते नमुना मतदान भयो । सदरमुकाम मंगलसेनमा जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानमा २३ प्रतिशत मत बदर भयो । खसेको ९१ मतमध्ये प्रतिनिधिसभा सदस्यका लागि २५ मत बदर भयो भने प्रदेशसभा सदस्यका लागि २२ तथा समानुपातिकमा १३ मत बदर भयो ।
ताप्लेजुङ र अछाममा जस्तै अधिकांश जिल्लामा नमुना मतदान भए । सबै जिल्लामा बदर मतको संख्या पनि अनपेक्षित उल्लेख्य रह्यो । त्यसो त स्थानीय तहको निर्वाचनको तथ्यांक हेर्दा पनि मतदाता शिक्षाको अवस्था सन्तोषजनक छैन । १३ प्रतिशत मत स्थानीय निकायको निर्वाचनमा बदर भएको थियो ।
स्थानीय निकायमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएपछि निर्वाचन आयोगको आलोचना भयो । भोटमात्रै मागेको तर मतदान कसरी गर्ने भनेर नसिकाएको भन्दै दलहरुकोे पनि टिप्पणी भयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुने भएपछि मतदाता झनै अन्योलमा रहेको र बदर मतप्रतिशत दर बढ्ने चिन्ता भइरहेका बेला निर्वाचन आयोग पनि यसमा गम्भीर देखिएको छ ।
२० हजार जनशक्तिलाई मतदाता शिक्षाका लागि खटाएको आयोगले करिब एक अर्ब रुपैयाँ मतदाता शिक्षा कार्यक्रममा खर्च गर्दैछ । मतदाता शिक्षाका लागि पुरानो मानिने छापा माध्यमदेखि अनलाइन सञ्चारमाध्यमसम्मबाट मतदान गर्ने तरिका सिकाइरहेको निर्वाचन आयोगले जनाएको छ ।
“कसरी मतदातालाई मतदाता शिक्षा दिँदा प्रभावकारी हुन्छ भनेर कार्यक्रम सार्वजनिक गरिरहेका छौं,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “टेलिभिजनमा सिरियल हेर्ने मतदाता समक्ष पनि कसरी पुग्ने भनेर हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौं ।”
निर्वाचन आयोगले नयाँ पुस्ताका मतदातालाई लक्षित गर्दै डिजिटल सामग्रीतर्फ पनि मतदाता शिक्षाको कार्यक्रम ल्याएको छ । कतिपय बैंकका एटीएम मेसिनमा पनि अहिले कतदान कसरी गर्ने भनेर सिकाइरहेको देखिन्छ । एनएमबी बैंकको एटीएम मेसिनमा यस्तो सामग्री राखिसकिएको छ ।
“सकेसम्म आम मतदातासमक्ष पुग्ने हाम्रो प्रयास हो । टेलिभिजन हेर्ने दर्शकले अनलाइन नहेर्न पनि सक्छ, अनलाइनमा अभ्यस्त मतदाताले टेलिभिजन नहेर्न सक्छ । त्यसैले हामी नयाँ–नयाँ प्रविधिमार्फत् पनि मतदातासमक्ष गइरहेका छौँ,” आयोग प्रवक्ता ढकालले भने ।
रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका तथा फिल्डमा परिचालन गरिएका जनशक्तिमध्ये सबैभन्दा प्रभावकारी कार्यक्षेत्रमा खटिएका जनशक्ति भएको आयोगको भनाइ छ ।
प्रतिनधिसभा र प्रदेशसभाको निर्वाचन कार्यक्रमअनुसार पहिलो चरणको निर्वाचन ३२ जिल्लामा मंसिर १० गते (हिजो) सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन बाँकी ४५ जिल्लामा २१ मंसिरमा हुुँदैछ ।