site stats
बाह्रखरी :: Baahrakhari
देश
एकातिर पिण्डेश्वर महाकुम्भ मेला, छेउमै बागेश्वर बाबाको कथावाचन !
चतराधाम आइपुगेका भारतका बागेश्वर बाबा, साथमा सिद्धबाबा । अर्को तस्बिरमा कोसी स्नान गर्न जाँदै गुरु बालसन्त, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत ।

विराटनगर । जगतगुरु बालसन्तको आह्वानमा सुनसरीको चतराधाममा भव्य पिण्डेशवर महाकुम्भ मेला आयोजना भइरहेको छ ।

बुधबार चतरामा श्रद्धालुको घुइँचो थियो । हिन्दु धर्मावलम्बीहरू कोसी नदीमा स्नान र पूजा आरधनामा व्यस्त थिए । मन्दिर र पण्डाल परिसमा पूजापाठ चलिरहेको थियो ।

बुधबारको औपचारिक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, भारत सरकारका पूर्वमन्त्री दिनेशकुमार उपाध्यायलगायत सहभागी थिए । बालसन्तसँगै अतिथिहरूले मध्याह्नतिर धार्मिक झाँकीसहित कोसी नदी पुगेर स्नान गरे । त्यसपछि औपचारिक कार्यक्रममा सुरु भयो । वक्ताले हिन्दु धर्मको महत्त्व र महाकुम्भबारे प्रवचन दिए ।

बालसन्त आश्रममा कार्यक्रम चल्दैगर्दा आकाशमा हेलिकोप्टरको गडगडाहट सुनियो । धेरैले आकाशतिर आँखा लगाउँदै कोही विशिष्ट व्यक्तित्व सहभागी हुन आएको लख काटे । हेलिकोप्टर कुम्भस्थल मास्तिरबाट उत्तर बराह क्षेत्रतर्फ सोझियो ।

एकछिनमा शसस्त्र प्रहरी बलको झाँकीसहित भारतीय बागेश्वर बाबा आइपुगे । जगतगुरु बालसन्तको आश्रमसँगै साँध जोडिएको आश्रमका सिद्धबाबा बागेश्वरसँगै गाडीमा सवार थिए । उनले इसारा गरेपछि सशस्त्र प्रहरी बलको झाँकीले बरपिपल चोकदेखि बाजागाजासहित सवारी अगाडि बढायो ।

Global Ime bank

बालसन्तको कार्यक्रममा सहभागीहरूले महाकुम्भसँग प्रतिस्पर्धा गर्ने गरी अर्को कार्यक्रम आयोजना गरिएको आरोप लगाइरहेका थिए ।

एकजना वक्ताले चतराधामलाई अहिलेको अवस्थासम्म ल्याउन बालसन्तको योगदान गरहेको चर्चा गरे । उनले भने, “जसले सबैभन्दा उत्कृष्ट काम गर्‍यो, उसैलाई कमजोर बनाउन केही पक्षहरू सक्रिय भएका छन । इतिहास सधैँ कायम रहनेछ । जगतगुरुको योगदान रहनेछ ।” 

राप्रपाका अध्यक्ष लिङ्देनले राजनीति र धर्मलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । “हामी नेपाललाई हिन्दु राष्ट्र पुनर्स्थापित गराउने महाभियानमा छौँ । सबैको सहयोग चाहिएको छ,” उनले भने ।

भारत सरकारका पूर्वमन्त्री दिनेश कुमार उपाध्यायले चतराधाम आउन पाउनु आफ्नो लागि शौभाग्य भएको बताए । “यो पवित्र कार्य हो । समाज र राष्ट्रको कार्य हो । गुरुजी सँगै कोसीमा स्नान गर्ने अवसर मिल्यो । धेरै खुसी छु,” उनले भने ।

जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला दक्षिणमा अवस्थित सिद्धबाबाको आश्रममा भारतीय गुरु बागेश्वर बाबाको कथावाचन वैशाख ९ गतेसम्म चल्ने आयोजकको भनाइ छ ।

बुधबार नै आश्रम परिसरमा राममन्दिर शिलान्यास भएको छ । यसमा ओशो अनुयायी स्वामी आनन्द अरूण, कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायत सहभागी थिए ।

सिद्धबाबाकै निमन्त्रणमा बागेश्वर चतरा आएका हुन् । उनका आगमनका कारण सिद्धबाबा आश्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ । मेटल डिटेक्टरसहितको सुरक्षा चेकजाँचपछि मात्र आश्रम प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

सिद्धबाबाले केही दिनअघि महाकुम्भबारे सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी गरेका थिए । अनुयायीमाथि बलात्कार आरोपमा मुद्दा खेपेका सिद्धबाबाले‍ केही समय अगाडि मात्र अदालतबाट सफाइ पाएका थिए ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu