site stats
बाह्रखरी :: Baahrakhari
खेल
ध्वस्त फुटबल, एसियाली खेलकुदमा कराते र कबड्डीले जोगाएको साख

काठमाडौं । फुटबल खेलप्रेमी नेपालीमाझ वर्ष २०८० सम्झनालायक बन्न सकेन । नेपाली फुटबलको अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक भागबन्डा र खिँचातानीमै केन्द्रित रहँदा बितेको वर्ष खेल मैदानभन्दा पनि बाहिरका कलह चर्चामा रह्यो ।

वर्षको अन्तिम महिना एन्फामाथि नयाँ युवा तथा खेलकुदमन्त्रीले कानुनी दायराको कसी लगाउँदा पनि ठूलै चर्चा बटुल्यो । 

त्यही वर्ष भएको एसियाली खेलकुदमा नेपालको प्रदर्शन झनै बिर्सनलायक रह्यो । २९ खेलमा २५३ जना खेलाडीको सहभागिता रहे पनि नेपाली खेलकुदका लागि कराते र कबड्डीबाहेक अन्य कुनै खेलले पदक दिलाउन सकेन । 

करातेमा एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कास्य जित्दै १९औँ एसियाली खेलकुदमा नेपालको लाज छोपेका थिए ।

ध्वस्त फुटबल

Global Ime bank

गएको वर्ष फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग गराउन एन्फाले आवश्यक नै ठानेन । वर्षको अन्तिम महिना चैतमा ‘सी’ डिभिजन लिगले एन्फाको केही हदसम्म लाज ढाक्यो ।
 
कम्तीमा ६ महिना हुनुपर्ने लिग नहुँदा अत्यासलाग्दो गरी खेलाडी विदेशिन बाध्य भए । गएको वर्ष कति खेलाडी विदेशिए भन्ने तथ्यांक एन्फासँग नै छैन । तर, एक दर्जनभन्दा धेरै खेलाडीले देश छाडे ।
nepali-football-saff-championship-2023-1712973539.png
 

राष्ट्रिय फुटबल टिमका आसलाग्दा खेलाडी आशिष चौधरी, सेसेहाङ आङदेम्बर र सिमान्त थापासँगै अनिश देउला यसवर्ष देश छोड्ने नेपाली फुटबलमा चर्चित अनुहार बने ।

विश्वकप छनोट–२०२६ : लाओसलाई हराउँदै दोस्रो चरणमा (असोज अन्तिम साता)
वर्ष २०८० मा मैदान बाहिरको खिँचातानीले आजित बनेका नेपाली फुटबलप्रेमीलाई मैदानभित्रको प्रदर्शनले पनि खुसी दिन भने सकेन । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा दसैंको सम्मुखमा हराउँदाको खुसी नै नेपाली समर्थकका लागि यस वर्ष अन्तर्राष्ट्रिय फुटबलले दिएको एकमात्र सन्तोषजनक नतिजा रह्यो ।

छनोटको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्दी पाएको थियो । असोज २५ गते घरेलु मैदानमै भएको पहिलो लिगमा १–१ बराबरी खेलेपछि नेपाली टिम दोस्रो चरणमा पनि पुग्दैन भन्ने फुटबल विश्लेषक र समर्थकको स्वर चर्को थियो । 

nepal-vs-laos-1712974143.jpg
 

तर, दोस्रो लिगमा लाओसलाई लाओसकै मैदानमा असोज ३० गते १–० को जित निकालेपछि नेपालले समग्रमा २–१ को जित निकाल्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान निश्चित गरेको थियो । नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरेका थिए ।

हाल दोस्रो चरणको समूह ‘एच’मा रहेको नेपाल ६ खेलमध्ये चार खेलमा पराजित भइसकेको छ । 

साफ च्याम्पियनसिप (असार ६ देखि १९ गतेसम्म)
गत वर्ष भारतमा भएको साफ च्याम्पियनसिपको १४औँ संस्करण नेपाली टिमका लागि सबैभन्दा खराब नतिजाको प्रतियोगिता बन्यो । भारतको बंगलोरमा असोज ६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल साविक उपविजेताको हैसियतले पनि उपाधि दाबेदारमध्येको एक थियो ।

तर, समूह ‘ए’ मा भारत, कुवेत र पाकिस्तानसँगै रहेको नेपालले समूह चरण पनि पार गर्न सकेन । समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएपछि नेपालको यात्रा अन्तिम खेलअगावै टुंगिएको थियो ।

समूह चरणको अन्तिम खेलमा आशिष चौधरीले निर्णायक गोल गर्दा पाकिस्तानविरुद्ध १–० को जित निकाल्दै नेपालले प्रतियोगिताको अन्त्य गरेको थियो ।

यू–१९ साफ च्याम्पियनसिप (असोज ४ गतेदेखि १३ गतेसम्म)
दशरथ रंगशालामा सम्पन्न साफ यू–१९ च्याम्पियनसिप नेपाली दर्शकका लागि घरेलु मैदानमै फुटबल माहौलमा झुम्ने अवसर बन्यो । असोज ४ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, अन्तिम चारको भिडन्तमा चिर–प्रतिद्वन्दी भारतसँग पेनाल्टी सुटआउटमा ३–२ (१–१ को बराबरीपछि)ले पराजित हुँदा नेपाल त्यसभन्दा अघि बढ्न सकेन ।

Nepal-vs-India-u-19-saff-(1)-1712974238.jpg
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले पाकिस्तान र माल्दिभ्स प्रतिद्वन्दी पाएको थियो । पहिलो खेलमा पाकिस्तानसँग १–० को अप्रत्यासित हार व्यहोरे पनि माल्दिभ्सविरुद्ध ४–१ को जित निकालेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो । 

सेमिफाइनलमा नेपाली युवा टिमको खेल हेर्नमात्र दशरथ रंगशालामा करिब १३ हजार दर्शकको उपस्थिति थियो । 

नेपाल सुपर लिग (एनएसएल) (मंसिर ८ गतेदेखि पुष १४ गतेसम्म)
घरेलु लिग नहुँदा गएको वर्ष फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता बन्यो । 

दुई वर्षदेखि रोकिएको फ्रेन्चाइज लिगको फाइनलमा दशरथ रंगशालामा उपस्थित समर्थकलाई व्यवस्थापन गर्न आयोजकलाई ठूलै चुनौती बनेको थियो ।
nepal-super-leauge-1712974049.jpg
 

कुल नौ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्तमा धनगढी एफसी र ललितपुर सिटी एफसी थिए । प्रतियोगिताको अन्तिम खेल हेर्न १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा टिकट नपाएर वा टिकट भएर पनि प्यारापिटमा बस्ने स्थान नभएर घर फर्किने समर्थकको संख्या लगभग बराबर थियो ।

प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा स्थान बनाए पनि धनगढीले उपाधि जित्न भने सकेन । फाइनलमा धनगढीलाई हराउँदै ललितपुर प्रतियोगिताको च्याम्पियन बनेको थियो ।

वाफ च्याम्पियनसिप (फागुन ७ गतेदेखि १७ गतेसम्म)
भर्खरैमात्र महिला फुटबल टिम बनाएको साउदी अरेबियाले आयोजना गरेको पश्चिम एसिया फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाली टिमले आगन्तुक टोलीको रूपमा खेल्यो । नेपाली टिमले यस प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्दै पश्चिम एसियाली क्षेत्रमा नै महिला फुटबलमा आफू अब्बल रहेको सन्देश दियो ।

फाइनलमा फिफा वरीयतामा आफूभन्दा धेरै माथि रहेको जोर्डनविरुद्ध २–२ को बराबरीपछि टाइब्रेकरमा नेपाल स्तब्ध बने पनि प्रदर्शनको चर्चाले भने पश्चिम एसियाली क्षेत्रका सबैजसो सञ्चारमाध्यम भरिएका थिए । 

waff-women-championship-1712973968.png
 

प्रतियोगितामा नेपालले समूह ‘बी’ बाट विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो । अन्तिम चारको खेलमा लेबनानविरुद्ध २–१ को जित निकाले पनि फाइनलमा भने नेपालले जोर्डनलाई हराउन सकेन ।

योसँगै ३८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली महिला टिमको सपना पूरा हुन पाएन ।

साफ यू–१६ महिला च्याम्पियनसिप (फागुन १८ गतेदेखि २७ गतेसम्म)

नेपाली महिला फुटबलको उमेर समूहतर्फमध्येकै सबैभन्दा बिर्सनलायक प्रतियोगिता बन्यो साफ यू–१६ महिला च्याम्पियनसिप । घरेलु मैदानमै भएको प्रतियोगितामा नेपालको लक्ष्य उपाधि थियो । तर, प्रदर्शन भने उपाधि दाबेदारको जस्तो रहन सकेन । फागुन १८ गतेदेखि भएको प्रतियोगितामा चार टिमको सहभागिता थियो । जसमा नेपाल तेस्रो स्थानमा रह्यो । 

u-16-nepali-women-team-at-saff-u-16-championship-(1)-1712973873.jpg
 

नेपाल प्रतियोगिताको पहिला खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ३–० ले हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग १०–० को फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

नेपाली महिला फुटबलको इतिहासमा उमेर समूहतर्फ यो नेपालको अहिलेसम्मकै खराब नतिजा थियो । 

एसियाली खेलकुदमा कराते र कबड्डीले जोगाएको साख (असोज ६ देखि २१ गतेसम्म)
चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद नेपाली खेलकुदका लागि पनि यो वर्ष ठूलो पर्वको रूपमा रह्यो । प्रतियोगिताका लागि नेपालबाट २९ खेलबाट २५३ जना खेलाडीले सहभागिता जनाए पनि कराते र कबड्डीबाहेक अरु खेलले पदक ल्याउन सकेन ।

करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले काश्य जितेपछि प्रतियोगितामा नेपाली खेलकुदले साख जोगायो । ६८ केजी तौल समूहमा फाइनलमा काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० को अन्तरमा पराजित भएपछि एरिकाले रजतमा चित्त बुझाएकी थिइन् । एरिका र नेपाली करातेका लागि भने यो ऐतिहासिक पदक बन्न पुग्यो ।

एरिकाले नेपाललाई २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक दिलाएकी थिइन् । एरिकाअघि नेपालले सन् १९९८ को एसियाली खेलकुदमा व्यक्तिगत विधामा रजत जितेको थियो । करातेका लागि एसियाली खेलकुदमा पाएको पहिलो रजत पदक थियो ।

यस्तै, महिला कबड्डीमा सेमिफाइनलसम्मको यात्रा तय गर्दै नेपाली टिमले काश्य चुमेको थियो । प्रतियोगितामा नेपाली टिमले बंगलादेशलाई ३७–२४ ले हराएपछि सेमिफाइनल पुग्ने चारवटै टिमले पदक पाउने प्रावधानअनुरुप काश्य निश्चित गरेको हो ।

एसियाली खेलकुदमा ई–स्पोर्ट्समा पब्जी, क्यानेइङ, पुरुष क्रिकेट अपवाद बने । पदक नआए पनि यी खेलका प्रदर्शन सन्तोषजनक थिए ।

पलेसाको उडान 
पारातेक्वान्दोकी पलेसा गोर्वधन वर्ष २०८० मा नेपाली खेलकुदकी सबैभन्दा चर्चित पात्रमध्येकी एक बनिन् । पलेसाले एसियाली खेलकुदलगत्तै भएको पारा एसियाली खेलकुदमा तेक्वान्दोबाट नेपाललाई ऐतिहासिक काश्य पदक दिलाइन् । पारा एसियाली खेलकुदमा नेपालले पाएको यो पहिलो र एकमात्र पदक बन्यो । यसपछि पलेसाले एसियाली ओलम्पिक छनोटमा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा समेत स्थान बनाउँदै अर्को इतिहास कोर्न सफल भइन् ।

palesa-govardhana-1712973670.jpg
इरानी खेलाडी हराएर स्वर्णसहित पारा ओलम्पिकमा छनोट भएकी उनी पारा ओलम्पिकमा छनोट हुने नेपालकै पहिलो एथलिट बनिन् ।

यसबाहेक, नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले फ्रेन्च महिला लिगसम्मको यात्रा तय गर्नु, मुवाँथाईका गुणराज रुचालले थाइल्यान्डमा आयोजना भएको मुवाथाई च्याम्पियनसिपमा सेमी–प्रोतर्फ स्वर्ण जित्नु नेपाली खेलकुदले वर्ष २०८० मा पाएका ठूला सफलतामध्येमा रहे ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu