काठमाडौं । काठमाडौंबाट बग्दै तराई पुगेपछि वाग्मती नदी दुई जिल्लाको सिमाना छुट्ट्याउँदै भारत पुग्छ । तराईमा रौतहट र सर्लाहीको सिमाना बनेको वाग्मतीको पश्चितर्फ केही दूरीमा पूर्व–पश्चिम राजमार्गसँगै एउटा मैदान छ । यही नदीको नाममा रहेको यो मैदानलाई आधार बनाएर फुटबल प्रशिक्षण गर्ने एउटा टिम अहिले वाग्मती मुहानकै जिल्ला काठमाडौं आइपुगेको छ, सहिद स्मारक ‘सी’ डिभिजन लिगका निम्ति ।
वाग्मती युवा क्लब बिहीबार (चैत २२ गते)देखि सुरु सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि हाल काठमाडौंमा छ । ‘सी’ डिभिजन लिगको छनोटका निम्ति काठमाडौं आउँदा उपाधिसहित घर फर्किएको वाग्मती यसपटक पनि सोही लय दोहोर्याउने लक्ष्यमा छ । टोलीले शुक्रबार लिगको आफ्नो पहिलो खेलमा सानेपा क्लबलाई ३–१ ले हराउँदै प्रतियोगितामा उपाधि लक्ष्यको सुरुआत समेत गरिसकेको छ ।
“हामी यसपालि ‘बी’ डिभिजन लिगमा उक्लिने लक्ष्यसहित आएका हौँ । टिमका खेलाडीहरूको स्तर निकै राम्रो छ,” क्लबका मुख्य प्रशिक्षक सुनील श्रेष्ठ बाह्रखरीसँग टिमको लक्ष्य सुनाउँछन्, “उनीहरूले आफ्नो स्तरअनुसारको प्रदर्शन गरे भने हामीलाई त्यस्तो गाह्रो केही हुँदैन । जुन लक्ष्यमा हिँडेका छौँ, त्यसमा सफल हुन्छौँ ।”
करिब तीन दशकअघि अर्थात् ०५३ साल मंसिर १२ गते दर्ता भएको थियो वाग्मती युवा क्लब । त्यसयता यो क्लबले ‘सी’ डिभिजन लिगमा आउनुअघि मोफसलका विभिन्न प्रतियोगिता खेलिसकेको छ । मोफसलका प्रतियोगिताहरूमा पटक–पटक एन्फा लिग संरचनाको शीर्ष क्लबहरूलाई समेत निराश बनाएको वाग्मती यसपटक जितसहित ‘बी’ डिभिजन लिगमा उक्लने लक्ष्यमा छ ।
वाग्मती पहिलो प्रयासमै ‘सी’ डिभिजन लिगमा छनोट भएको भने होइन । क्लबले ०७६ सालदेखि ‘सी’ डिभिजन लिगको यात्रा सुरु गरेको थियो । त्यसयता तेस्रोपटकको प्रयासमा क्लब ०७९ सालमा ‘सी’ डिभिजन लिग छनोटमा च्याम्पियन भएर अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने डिभिजन लिगमा बढुवा भएको हो ।
श्रेष्ठको प्रशिक्षणमा एक हप्ताअघि काठमाडौं ओर्लिएको वाग्मतीले कुमारीपाटीमा एक होस्टेल भाडामा लिएर टिमलाई राखेको छ । क्लबले काठमाडौं आएपछि केही दिन जावलाखेलको घाँसे मैदानमा प्रशिक्षण गर्यो । तर, लिग सातदोबाटोस्थित एन्फा मुख्यालय परिसरमा रहेको टर्फ (कृत्रिम मैदान)मा हुँदै थियो । वर्षभरि घाँसे मैदानमा प्रशिक्षण गर्ने खेलाडीलाई टर्फमा खेल्न मुस्किल हुन्छ भन्ने बुझेका प्रशिक्षण श्रेष्ठले त्यसपछि भने टिमलाई एन्फामै प्रशिक्षण गराए ।
“टर्फ र घाँसे मैदानमा खेल्दा निकै फरक पर्छ । उता प्राकृतिक मैदानमा प्रशिक्षण गरेका केटाहरूलाई यहाँको हार्ड मैदानमा केही कठिन भएको छ । यो टर्फमा खेलाडीहरूलाई एड्जस्ट गराउन पनि यहाँ प्रशिक्षण गरिरहेका छौँ,” नेपाली यू–१९ राष्ट्रिय टिमको जिम्मेवारी निभाइसकेका प्रशिक्षण श्रेष्ठ भन्छन् ।
त्यसो त नेपाली लिग संरचना काठमाडौंकेन्द्रित भएको भन्दै निराशा व्यक्त गर्ने समर्थकको जमात बाक्लो छ । तर, यसपटक ‘सी’ डिभिजन लिगमा वाग्मतीसँगै उपत्यकाबाहिरका कुल पाँच टिम छन् । एन्फाका अनुसार, ‘सी’ डिभिजन लिग इतिहासमा उपत्यकाबाहिरका यति धेरै क्लबले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो ।
वर्षभरि नै प्रशिक्षण गर्ने हुँदा वाग्मती यसपटक प्रतियोगिताको प्रमुख दाबेदार हो । प्रशिक्षक श्रेष्ठ भने अरू चार–पाँच टिमलाई पनि दाबेदारमा राख्छन् ।
“अहिले हामीले पनि अनुभव गरेको सबैको ध्यान वाग्मतीकै टिममा छ । तर, लिगमा आएपछि सबै टिमको लक्ष्य बढुवा हुने नै हुन्छ,” श्रेष्ठ थप्छन्, “भ्यालीबाहिरको टिम आरसी ३२ ले उक्लिन्छौँ भनेर प्रयास गरिरहेको छ । काठमाडौंका टिमहरू पनि बढुवा हुने लक्ष्यमा छन् । पाँच–छवटा टिमहरू राम्रा छन्, त्यसबाट राम्रो दुईवटा बढुवा हुन्छन् ।”
व्यावसायिक फुटबलको उदाहरण
केही वर्षअघिसम्म झापा–११ खेलाडीलाई मासिक पारिश्रमिक दिएर राख्ने मोफसलको एक मात्र क्लब थियो । तर, झापाले त्यो प्रयासलाई नियमित राख्न सकेन ।
अहिले तीन विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ)बाहेक अरू कुनै त्यस्ता क्लब नेपालमा विरलै भेटिन्छन्, जसले खेलाडीलाई नियमित प्रशिक्षण र मासिक पारिश्रमिकसहित क्लबमा राखेको होस् । अझ मोफसलमा यो संख्या शून्यमा छ । तर, नेपाली फुटबलमा छुट्टै पहिचान बनाउने यात्रामा रहेको वाग्मतीले पछिल्लो पाँच वर्षयता खेलाडीहरूलाई नियमित प्रशिक्षण र मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।
क्लबमा हाल २५ खेलाडी मासिक पारिश्रमिकमा अनुबन्धित छन् । क्लबले यी खेलाडीलाई स्तरअनुसार मासिक २० हजारदेखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ । अनुबन्धित खेलाडीलाई नियमित प्रशिक्षण त छँदै छ, गाँस र आवासका लागि होस्टेलको सुविधासहित क्लबले खेलाडीको शैक्षिक खर्च समेत आफैँले उठाउँछ । यातायातका निम्ति टिमसँग आफ्नै बस छ । क्लबले महिला र युवा टिमलाई समेत नियमित प्रशिक्षण उपलब्ध गराउँदै आएको छ ।
खेलाडी मात्र नभई क्लबले अरू कर्मचारीलाई पनि मासिक पारिश्रमिक उपलब्ध गराउँछ । तीन प्रशिक्षक, पाँच कर्मचारी, एक डिसिप्लिन इन्चार्ज (डीआई), बस चालक र दुई होस्टेल सञ्चालकलाई क्लबले मासिक पारिश्रमिक दिँदै आएको छ ।
स्थानीय सरकारले खेलको महत्त्व बुझ्दाको उत्कृष्ट उदाहरण समेत हो, वाग्मती क्लब । वाग्मती नगरपालिकाका मेयर भरत थापा र उनको टिमको सहयोगबाट वाग्मतीले अघि बढ्ने उत्साह पाएको छ ।
“व्यावसायिक बन्न नसकेको नेपाली फुटबलमा खर्च जुटाउन निकै मुस्किल र चुनौती छ । तर, खेलकुदलाई पनि विकाससँगै अघि बढाउनुपर्छ भन्ने नगरप्रमुख भरत थापा र उनको टिमको सोचसँगै अन्य सहयोगीहरूको सहयोगले गर्दा हामी यहाँसम्म आइपुगेका हौँ,” टिमसँगै काठमाडौं आइपुगेका क्लबका सचिव कुमार प्रधान भन्छन् ।
उपत्यकाबाहिरका क्लबका निम्ति लिग खेल्नभन्दा पनि प्रतियोगिताका दौरान यहाँको दैनिक खर्च जुटाउन चुनौती छ । स्थानीय व्यवसायी र राजनीतिक दलको सहयोगले वाग्मतीले भने यो समस्याको सामना गर्नु नपरेको अनुभव सुनाउँछन्, सचिव प्रधान ।
तीन महिना टिमलाई काठमाडौंमा राख्न मुस्किल छ । “तर, वाग्मतीका युवा व्यवसायी, राजनीतिक दल र नगरपालिकाको सहयोगका कारण अहिलेसम्म हामीले त्यस्तो कठिन परिस्थितिको सामना गर्नुपरेको छैन,” प्रधान थप्छन्, “यसैकारण हाम्रो लक्ष्य भनेको ‘सी’ डिभिजनको च्याम्पियन भएर ‘बी’ डिभिजन लिगमा बढुवा हुने छ ।”