site stats
बाह्रखरी :: Baahrakhari
देश
आठ महिनामा जुवातास खेल्ने १८ सय १७ जना पक्राउ, दुई करोड ६३ लाख बरामद

काठमाडौं । गएको माघ १५ गते काठमाडौं ज्याठास्थित होटल भियानाबाट जुवातास खेलिरहेका ११ जना पक्राउ परे । उनीहरूलाई प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँ र चार बुक तास बरामदसहित पक्राउ गरेको थियो ।

भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई चैत १९ गते प्रहरीले पक्राउ गर्‍यो । नगद ६ लाख ७ हजार ५०० रुपैयाँ र ६ बुक ताससहित उनीहरू पक्राउ परेका थिए ।

यसैगरी, ललितपुरबाट नगद तीन लाख ६४ हजार १२० रुपैयाँ र ६९ बुक ताससहित जुवातास खेल्दै गर्दा ११ जनालाई चैत ३ गते प्रहरीले पक्राउ गरेको थियो ।

यी केही प्रतिनिधि घटनामात्र हुन् । दिनहुँजसो प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा जुवातासमा संलग्न एकहजार ८१७ जना पक्राउ परेका छन् ।

Global Ime bank

प्रहरीले काठमाडौं उपत्यकाबाट ७७९ जना, कोसी प्रदेशबाट ११५ जना, वाग्मती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट दुई करोड ६३ लाख ४५ हजार ४१७ रुपैयाँ बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट एक करोड ४१ लाख चार हजार ३५९ रुपैयाँ, कोसी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रुपैयाँ, वाग्मती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रुपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रुपैयाँ, लुम्बिनी प्रदेशबाट सात लाख ३७ हजार ४७२ रुपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रुपैयाँ बरामद भएको हो ।

पछिल्लो आठ महिनामा जुवातास खेल्नेहरूबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामानसमेत बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

काठमाडौं उपत्यकाबाट २७९ बुक तास तथा ९८ थान कौडा, कोसी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, वाग्मती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १२२ बुक तास बरामद भएको छ ।

जुवातास खेल्ने अधिकांश व्यक्तिहरू सुराकी र विशेष सूचनाको आधारमा पक्राउ पर्ने गरेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, “जुवा खेलेको विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई रित पूर्वक तलासी लिने गर्छ । रकम हार/जित हुने गरी जुवातास खेल्दा समाजमा नकारात्मक असर बढी हुने हुँदा यसलाई कानुनी दायरामा ल्याइएको हो ।” 

उनका अनुसार खास गरी जुवातास चाडपर्वको समयमा बढी खेल्ने गरेको पाइए पनि प्रहरीले भने यसलाई सदैव प्राथमिकतामा राखी निग्रानी गर्दै आएको छ ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । 

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १‍० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । 

साथै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पति जफत हुने कानुनी प्रावधान छ । 

तथ्यांक विश्लेषण गर्दा चाडबाडको बेला र रातको समयमा बढी जुवातास खेल्ने गरेको पाइएको भनाइ प्रहरीको छ । जुवातासको कारण व्यक्ति, घरपरिवार र समाजमा विकृति निम्तिने गर्छ । यसबाट चोरी, डकैती, कुटपिट र हत्यालगायतका अपराध समेत हुने गरेको देखिन्छ ।

“खासगरी जुवातास वा सट्टेबाजी सम्बन्धी कानुनको उद्देश्य सुधारात्मक रहेको पाइन्छ । कानुनको मर्म अनुरूप कार्यान्वयन गरी सामाजिक सद्भाव कायम गर्न नेपाल प्रहरी सदैव सचेत छ,” प्रहरी नायव महानिरीक्षक ढकालले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu