site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चोटबाट उत्रिएर राष्ट्रिय टिममा प्रवेश कुरिरहेका कमल
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । “पहिलो बल फ्याँक्नुभन्दा अघि म नर्भस थिएँ । मुटुको चाल बढिरहेको थियो । तर, पहिलो बल फ्याँकिसकेपछि नर्मल भयो,” चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाट बाहिरिएका कमलसिंह ऐरीले शुक्रबार आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’बाट पुनरागमन गर्दाको भावना यसरी सुनाए ।

वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपालले टस जितेर फिल्डिङको निर्णय लियो । टिमका कप्तान विनोद भण्डारीले पहिलो ओभर बलिङ गर्ने जिम्मेवारी नै कमललाई सुम्पिए । कमलको पहिलो बलमा आयरल्यान्डका ओपनर रोस अडायरले दुई रन लिए । तर, दोस्रो बलमा उनै अडायरलाई कमलले स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै पभेलिनको दिशा देखाए ।

विकेट लिएपछि मुठी बनाउँदै हावामा भुइँतर्फ प्रहार गरेका कमलले दुई औँला चुमेर हात उठाउँदै ‘सेलिब्रेसन’ गरे । “धेरै पछि कम्पिटेटिभ क्रिकेट खेलेको हो मैले । सेलिब्रेसन गर्न नपाएको धेरै भइसकेको थियो । त्यो सेलिब्रेसन त्यसै कारण आयो । दोस्रो बलमै विकेट लिँदा धेरै खुसी लाग्यो,” उनले भने ।

Dabur Nepal
NIC Asia

k6-1711948933.jpg
दुई वर्षअघि ब्युटि (क्लाभिकल) बोनमा लागेको चोटले मैदानबाट बाहिरिँदा यति लामो समय क्रिकेटबाट पर बस्नुपर्छ भन्ने कल्पनै गरेका थिएनन् उनले । दुई वर्षअघि अर्थात् ०७८ चैत १९ गते मलेसियासँगको खेलका क्रममा काँध र घाँटीबीचको हड्डी भाँचिँदा कमलले तत्कालै मैदान छोडेका थिए ।

मलेसियाविरुद्ध १७औँ ओभरको दोस्रो बलमा आदिलको बलिङमा चोभार इन्डमा एइनुल हाफीले प्रहार गरेको बल बाउन्ड्री लाइनमा डाइभ गरेर रोक्ने क्रममा उनलाई चोट लागेको थियो । चोट गहिरो भएकाले उनलाई तत्काल कलंकीस्थित नेपाल नेसनल अस्पताल पुर्‍याइयो । घटना भएको दोस्रो दिन उनको शल्यक्रिया गरियो । त्यसपछि सुरु भयो कमलका कठिन दुई वर्ष ।

शल्यक्रियापछि ठिक हुन ६ हप्ता लाग्ने भनिए पनि उनी ६ महिना क्रिकेटमा फर्कन नसक्ने चिकित्सकले जानकारी गराए । पहिलो तीन महिना पूर्ण आराम गरेरै बिताए कमलले । त्यसपछिका तीन महिना भने उनले थेरापी सुरु गरे ।

“ब्युटिबोन फ्रयाक्चर भएपछि रिकभर हुन ६ महिना लाग्यो,” कमलले मलेसियाविरुद्धको त्यो चोट सम्झिए, “चोट लाग्दा सुरुमा आरामका लागि केही समय पाएँ भन्ने लाग्यो । तर, समय लामो लामो हुँदै गएपछि क्रिकेटका सबै चिज मिस हुन लागे ।”

k2-1711948975.jpg
६ महिना लामो आरामपछि चोटलाई जितेर उनी पुनः प्रशिक्षणमा फर्किए । पुरानो लयमा फर्कन समय पनि लागेन । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने कमलले प्रधानमन्त्री कपबाट पुनरागमन गरे । गत वर्ष कात्तिक १३ देखि २६ गतेसम्म सञ्चालित प्रतियोगिताको उपाधि कमल आबद्ध एपीएफले नै जित्यो । एपीएफले उपाधि जित्दाका पाँचै खेल खेलेका उनले ११ विकेट लिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी छैटौँ स्थानमा रहे ।

कमलको यही प्रदर्शनले राष्ट्रिय टिमसम्मको ढोका पुनः खोल्यो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा तीन एकदिवसीय खेलको शृंखलाका निम्ति उनी नेपाली टिममा समेटिए । तर, उनले तीनै खेलमा मौका पाएनन् ।

“ब्युटिबोनको चोटपछि पीएम कप खेलेँ । त्यहाँ प्रदर्शन ठिकै थियो । त्यसपछि यूएईसँगको एकदिवसीय शृंखलामा टिममा थिएँ । तर, खेल्न मौका पाइनँ,” कमलले भने ।

k3-1711949141.jpg
त्यसपछि उनले ०७९ पुस ९ देखि २७ गतेसम्म आयोजित नेपाल टी–२० काठमाडौं नाइट्सबाट खेले । उक्त प्रतियोगितामा टिमले खेलेका ११ मध्ये १० इनिङ खेल्दा कमलले १० ब्याटरलाई पभेलियनको दिशा देखाए ।

त्यसपछि उनले राष्ट्रिय टिमको क्याम्पमा प्रशिक्षणको मौका पाइराखे । टिममा भने पर्न सकेनन् । यसै बेला ब्युटिबोनको फ्रयाक्चर ठिक भए पनि कमलमाथि अर्को चोट थपियो । ब्युटिबोनको चोटबाट फर्किएको केही समयपछि नै उनलाई ढाडको दुखाइले सताउन थाल्यो ।

“ब्युटिबोन ठिक भएर फर्किएर केही प्रतियोगिताहरू खेलेँ,” उनले भने, “तर, त्यसको केही समयपछि नै मैले ब्याक इन्जुरी (स्ट्रेस फ्रयाक्चर) फेस गरेँ । यसपछि मैले खेल्न सकिनँ । ब्याक इन्जुरी पनि ६ महिना लाग्यो ठिक हुन ।”

k1-1711949026.jpg
इन्जुरीको समय कठिन थियो । तर, यो समय बितेर जान्छ भन्ने उनमा दृढ विश्वास थियो । त्यस बेला अझै कमब्याक गर्छु, खेल्छु भन्ने बेजोड चाहना थियो कमलमा । यो समयमा नजिकका साथीहरूले उनको हौसलामा कमी आउन दिएनन् । परिवारबाट पनि राम्रो साथ पाए । दाइ किशोरसिंह ऐरीबाट पाएको विशेष साथले क्रिकेटप्रति कमलको लगावमा कमी हुन दिएन ।

“नजिक रहेका सबैले राम्रो साथ दिए । सपोर्टको कमी महसुस भएन त्यो फेजमा,” कमल चोटका दौरान आफूले पाएको साथ उत्साहसाथ सुनाउँछन्, “परिवारमा नखेल भन्ने कोही छैनन् । सबैले खेल्नुपर्छ खेल्नुपर्छ भने । विशेष गरी दाइ किशोरसिंह ऐरीले धेरै गर्नुभयो ।”

सन् २०२० मा कीर्तिपुरमै भएको ओमानविरुद्धको एकदिवसीय क्रिकेटबाट कमलले राष्ट्रिय टिममा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनी राष्ट्रिय टिमको नियमित सदस्य बने । तर, चोटले सताउँदा कमललाई छोडेर राष्ट्रिय टिम धेरै अघि बढिसकेको छ । उनले राष्ट्रिय टिममा फर्कने लक्ष्य भने छोडेका छैनन् । उनी अब राष्ट्रिय टिममा आइपरे जिम्मेवारी वहन गर्न तयार पनि छन् ।

“अब राम्रो खेल्दै जाने हो । सिनियर टिममा पर्ने नपर्ने सेलेक्टरहरू छन्,” कमलले भने, “मैले जहाँ अवसर पाएको छु त्यहाँ राम्रो गर्ने हो । टिम (राष्ट्रिय टिम)मा कसैलाई केही भएर त्यहाँ मेरो आवश्यक भए म त्यो भूमिका निभाउन तयार छु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro