
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मिलन लिम्बुलाई उमेदवार बनाएको छ । स्वतन्त्र उमदेवारी दिने भन्दै पत्रकारिताबाट राजनीतिमा होमिएका लिम्बुलाई पार्टीले उमेदवार बनाएपछि उनको चर्चा छ ।
पार्टीले प्राइमेरी इलेक्सन गरेर उमेदवार चयन गर्ने भने पनि त्यो प्रक्रिया अवलम्बन गरेन । चैत १४ गतेसम्म आकांक्षिहरूलाई आन्तरिक प्रक्रियाका लागि उमेदवारी दर्ता गर्न भन्दै पार्टीले कार्यतालिका नै निकालेको थियो । पार्टी महामन्त्री मुकुल ढकालले १६ गते उमेदवार फाइनल गर्न मतदान गर्ने जानकारी दिएका थिए । कार्यतालिका अनुसार ६ जनाले नाम दर्ता गराएका थिए । जसमा गोकुल बहादुर राईको नाम पहिलो नम्बरमा दर्ता भएको पार्टीले जनाएको छ । दोस्रोबाट क्रमशः जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपानेले आन्तरिक प्रतिस्पर्धाका लागि उमेदवारी दिएको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिए । तर, पार्टीले यी नाममा निर्वाचन प्रकृया नै अघि बढाएन ।
आन्तरिक सहमति भन्दै ५ नम्बरमा उमेदवारी दर्ता गराएका मिलन लिम्बुलाई टिकट दियो । पार्टीले किन आन्तरिक निर्वाचन प्रक्रिया अघि नबढाई उमेदवार चयन गर्यो ? यो विषयमा पार्टी सहमहामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले आन्तरिक सदस्य संख्या कम भएकाले प्राइमेरी इलेक्सनमा जानसक्ने अवस्था नभएको बताए ।
यता, पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले पनि आन्तरिक चुनावमा जाने अवाश्यक्ता नै नपरेको जानकारी दिए । उनले मिलन लिम्बु युवा उमेदवार भएको र आवेदन दिएका अन्य उमेदवारले सर्वहमतिले उनको नाम टुंगो लागेको बताए । “हाम्रो सदस्य कम छन् इलाममा । अर्को कुरा उमेदवारबीच छलफल गर्दा साझा उमेदवारको रूपमा मिलनजीलाई अनुमोदन गर्ने अवस्था आयो,” कार्कीले भने ।
कार्की गएको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्कीलाई उमेदवार बनाउँदा पनि यो अभ्यास भइसकेको बताउँछन् । रास्वपाले उमेदवार खोजी गर्न र माहोलको पूर्वालोकन गर्न नागरिक संवाद भन्दै निर्वाचन क्षेत्र डुलेको थियो । उमेदवार खोज्न र माहोल बुझ्न रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी केही समय अघि इलाम पुगेका थिए ।
रास्वपाले, इलाम–२ का ६ वटा स्थानीय तहका नागरिकसँग संवाद गर्न भन्दै सांसदहरूलाई खटाएको थियो । पार्टीले सोविता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा चुनावी अभियानमा खटाएको थियो ।
जनजाति बाहुल्य भएको निर्वाचन क्षेत्रमा सोही क्लस्टरबाट उमेदवार बनाउन पाए सहज हुने बुझाइ पार्टीमा छ । अहिलेको उपनिर्वाचनले संगठन निर्माण र विस्तारमा सहज हुने बुझाइमा रास्वपा छ । जित हारभन्दा पनि पार्टीको उपस्थिति र आउने मतले संगठनलाई विस्तार हुँदै जाने नेताहरू बताउँछन् ।
इलाम–२ मा रास्वपाबाट मिलन लिम्बु बने उमेदवार
संविधानसभा सदस्य समेत रहेका पूर्वसभामुख सुवास नेम्वाङले गएको निर्वाचन जितेका थिए । उनको निधन भएपछि यो क्षेत्र खाली भएको हो । इलाम २ मा स्व. नेम्वाङ २०५६ सालयता विजयी हुँदै आएका हुन् । उनको गत भदौ २६ मा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो ।
विकासको हिसाबले पछि परेको यो क्षेत्रमा किराँत धर्मगुरुको आशीर्वाद र जातीय मतले पनि धेरथोर प्रभाव पार्ने गरेको छ । त्यसैले दलहरू यही क्लस्टरबाट उमेदवार बनाउन लागि परेका हुन् । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ सुवास नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । गठबन्धनबाट चुनाव लडेका कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । नेम्वाङले ११४ मतले चुनाव जितेका थिए ।
इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३३३, नेकपा एमालेले २६ हजार ५६२, माओवादी केन्द्रले पाँच हजार १५३, जनता समाजवादीले ९०६, एकीकृत समाजवादीले ५८६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६८६ मत प्राप्त गरेका थिए ।