
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग सम्बोधनका विषयमा छलफल गर्न सकिने बताएका छन् ।
नेपाल शिक्षक महासंघसँगको छलफलका क्रममा सम्बोधन गर्नसक्ने मागबारे सल्लाह गरेर निर्णय लिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
शिक्षा विधेयक जारी गर्न तदारुकता दिने प्रधानमन्त्री ओलीले बताएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
महासंघको प्रतिनिधिमण्डलले गएराति ९ बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेको थियो ।
दुई घण्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्नो धारणा राखेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
“प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्नसक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो,” सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
महासंघको टोलीलले गएराति राति साढे ११ बजे सभामुख देवराज घिमिरेसँग पनि भेट गरेको थियो । सभामुखसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको अध्यक्ष सुवेदीले बताएका छन् ।
अध्यक्ष सुवेदीले शिक्षक आन्दोलन जारी रहेको बताएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले प्रष्ट पारेका छन् ।