
प्रभातको किरणको स्पर्श पाउनु उसका लागि
हरेक दिनको चुनौती हो
जस्तो कि
नदीको किनार छोडेको डुंगा
अर्को किनार नपुग्दासम्म हुन्छ ।
कहिले ऊ सारा संसार जित्न सक्ने सामर्थ्य राख्छ
त
कहिले तिनै अभिलाषा उसलाई निलौँलाझैँ गर्दछन्
तथापि,
जीवनको ऊ आधा शतक पार गर्दै छ
ऊ सगरमाथाको दोस्रो शिविरमा छ ।
चढाइ कठिन छ र छ जोखिमपूर्ण
ऊ दृढ छ सपनामा र छ आफ्नो सीपमा ।
एक्लोपनका दरारहरूसँगै
चट्टानरूपी चेतनाका पत्थर खस्दा जोगिनु छ ऊ कर्मस्थलमा
संसारकै सुक्खा राज्यको ऊ
ल्होत्सेअघि राखी, कडा निलो बरफको ठाडो पर्खाल उक्लँदै छ र उक्लिन्छ पनि
जानेको छ उसले आफ्नो सगरमाथाको उचाइ ।
फ्रान्ज काफ्का र सिल्भिया प्लाथका जीवन नियाल्दै
हिलारी र नोर्गेका पदचाप पछ्याउँदै
जुन दिन ऊ संसारको छतबाट अदृश्य असक्षमताको दृष्टिले
नियाल्नेछ सबलहरूको संसार
र घटाउनेछ दूरी पहुँचताको सधैँसधैँका निम्ति
र मरेर पनि बाँचिरहनेछ सदासदासम्म
ऊ अब कम्बलभित्र गुजुल्टिएर बस्दछ
केही समयका लागि
द्विध्रुवीय विकार ।