काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा विश्वकप विजेता अर्जेन्टिनाले कोस्टारिकाविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा नियमित कप्तान लियोनल मेसीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै ३–१ को जित निकालेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारिया, एलेक्सिस म्याक एलिस्टर र लौटारो मार्टिनेजले गोल गरे । कोस्टारिकाका मानफ्रेड उगाल्डेले एक गोल फर्काएका थिए ।
३४औँ मिनेटमा उगाल्डेले गोल गरेपछि कोस्टारिकाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ५२औँ मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै म्याक एलिस्टरले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ७७औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि लियोनल स्कालोनीको टिमले ३–१ को जित निश्चित गरेको हो ।
योसँगै मार्च अन्तर्राष्ट्रिय विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको अर्जेन्टिना दुवै खेलमा जित निकाल्न सफल रह्यो । अर्जेन्टिनाले यसअघि एल साल्भाडोरविरुद्ध ३–० को सहज जित निकालेको थियो ।
बिहीबार नै भएको अर्को खेलमा ब्राजिल र स्पेनले ३–३ को बराबरी खेलेका छन् । यस्तै, इंग्ल्यान्ड र बेल्जियमले २–२ को बराबरी खेल्दा उरुग्वेले आइभेरीकोस्टसँग २–१ को हार व्यहोरेको छ । नेदरल्यान्ड्सविरुद्ध जर्मनी २–१ को जित निकाल्न सफल रह्यो ।