काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले एकलौटी ढंगले बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले आपत्ति जनाएको छ ।
यादव निकट महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै चैत ४ र ५ गतेका लागि पार्टीका तर्फबाट कुनै बैठक नबोलाइएको जिकिर गरेका छन् ।
“नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र केन्द्रीय समितिको चैत्र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” उनले विज्ञप्तिमा भनेका छन्, “अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्रराय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु ।”
अध्यक्ष भट्टराईले आगामी चैत ४ र ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका थिए । ०७९ मंसिरमा भएको निर्वाचनमा नेसपाका उमेदवार माओवादीको चिह्नबाट चुनाव लडेका थिए । तर, निर्वाचित भएकाहरूलाई नेसपाकै मान्यता दिनुपर्ने माग बाबुरामको छ ।
तर, बुधबारको प्रतनिधिसभा बैठकमा महिन्द्र यादवले माओवादीकै सांसदका रूपमा बोलेका थिए । अहिले यही विषयले नेसपामा विवाद चर्किएको छ ।