विशेष

ए, नानी, यता आऊ !
अलि खिरिलो तर रोबदार स्वरमा उनले बोलाए । वरपर अरू कोही थिएनन् । त्यसैले उनले मलाई नै बोलाएका हुन् भन्ने थाहा पाइहालेँ । हाम्रातिर नानी पनि भन्दैनथिए र मलाई पहिलोपटक मेटिएको व्यक्ति कसैले 'तिमी' भनेको पनि थिएन । तर, बोलाउने व्यक्ति नेपालको इतिहासमा जीवनकालमै किंवदन्ति भइसकेका थिए र उमेरले पनि मभन्दा धेरै पाका । यसैले आफू बसेको कोठाबाट खुरुक्क गए । ती बूढा मान्छे उनी आउने भनेको समयभन्दा करिब एक घन्टा पहिले नै आएका थिए ।
म तिनताका श्रीभद्र शर्माको स्वकीय सचिव (पीए) थिएँ । विसं २०३४ भदौदेखि २०३५ सालको मंसिरसम्म मन्त्री निवास पुल्चोकमा जागिर खाँदाको कुरा हो । सायद, यो घटना २०३४ पुसको हो । मलाई बिहानै श्रीभद्रजीले ती पाका मानिस दिउँसो आउने र कुनै कारणले आफू आउन ढिलो भए उनको राम्रो सम्मान गर्न भनिराखेका थिए । विशेष राजनीतिक पर्वहरूमा जिल्लामा भाषण गर्न केन्द्रबाट अतिथि वक्ता पठाउने चलन थियो पञ्चायत कालमा । ती महाशय त्यति बेला राष्ट्रिय पञ्चायतका सदस्य थिए । पूर्व प्रधानमन्त्री भए पनि उनको आर्थिक अवस्था खासै राम्रो थिएन । सायद, निजी सहायक पनि कोही थिएन । उनलाई गृह जिल्ला डोटीमा खटाइएको थियो । हवाई टिकटको व्यवस्था भइनसकेकाले उनी जान सक्ने नसक्ने दोधारमा थिए । यतिसम्म मैले थाहा पाएको थिएँ तर, एक जना मन्त्रीलाई भेट्न निवासमै आएर कुर्न किन परेको हो भन्ने मैले भेउ पाउनै सकिन । उनको छवि नेपालको इतिहासमै निकै दबंग नेताको बनेको थियो । यी ऐतिहासिक व्यक्तिले बोलाउँदा मलाई अलिअलि डर र कौतुहल दुवै लाग्यो ।
'बस' बैठक कोठाभित्र पस्नेबित्तिकै आफू बसेकै सोफामा मलाई बस्न भने । म त्यहाँ बस्दा बाहिर कोही आएमा थाहा हुँदैनथियो । 'हजुर म ...' यतिमात्र भनेको थिएँ बूढा जंगिइहाले - के म मूर्ति हुँ र एक्लै बस्ने । बस, तिम्रो मन्त्रीलाई म भनौला मैले नै यहाँ बोलाएको भने । नबसी सुखै पाइन । त्यहीबाट घन्टी बजाएर गार्डलाई बोलाएँ र बाहिर हेरिदिन भने ।
उनले कुरा थाले । पञ्चायत मन नपरेको, बीपीले देशबाहिर जाने गल्ती नगरेका भए उहिल्यै प्रजातन्त्र आइसक्ने, पञ्चहरूमा राजनीतिक संस्कार नभएको, उनी कुनै पनि मन्त्री वा राजाका सचिवको घरमा जाने नगरेको तर श्रीभद्र शर्माको राजनीतिक संस्कारका कारण यसरी पर्खन पनि तयार भएको जस्ता कुरा बताए । मेरो धक बिस्तारै फुक्दै गयो ।
तैपनि, हिचकिचाउँदै सोधेँ - हजुरलाई त राजाले प्रधानमन्त्री नै बनाएका थिए । अहिले पनि राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्छ । दरबार र पञ्चायतले कदर गरेकै हो नि । बीपीलाई पो राजाले देखिसहेनन् त !
बूढाले भने - तिमीले के बुझेका छौं ? मेरो छाप जनतामा बहादुर र आँटिलो नेताको बनेको थियो । कसैसँग दब्दैन यो ठकुरी भन्थे । मौका पाए यसले केही गर्छ भन्ने ठानेका थिए । भारतका लागि त झन् जेल फोरेर चीन पुगेर फर्केको बाघै थिएँ म । मलाई सिध्याइदिने दरबार र भारतको षड्यन्त्र थियो त्यो । प्रधानमन्त्री बनाइदिए तर सबै कर्मचारी र व्यापारीलाई विरोध गर्न लगाए । मैले काम गर्ने वातावरणै थिएन । अनि दुनियाँका आँखामा म बाघबाट स्याल बन्न पुगेँ ।
नेपालको इतिहासमा सबैभन्दा थोरै दिन प्रधानमन्त्री भएका डा. केआई सिंह नै ती व्यक्ति थिए भन्ने लख काट्न इतिहासको सामान्य जानकारी राख्ने कसैलाई कठिन हुँदैन ।
वर्तमानमा फर्काैं, मन्त्री पदको शपथ ग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्री गगन थापाको चर्चा असामान्यरूपमा भएको छ । उनीसँग धेरैले ठूलो अपेक्षा गरेका छन् । सरकारको संरचना र स्वास्थ्य मन्त्रालयको कर्मचारीतन्त्रको प्रवृत्तिसमेत हेर्दा खासै केही गर्न सक्ने अवस्था छैन । तैपनि, केही गर्न नसके गगनको छवि ध्वस्त हुन्छ । ठूलो सम्भावना बोकेको नेता असफल हुन्छ । जनताका पक्षमा सुधार गर्नका लागि उनले आफ्नै पार्टी, विपक्षी, निजी क्षेत्र, कर्मचारी र चिकित्सक कसैले पनि सहयोग गर्नेछैनन् । उनले केही गर्ने विश्वास पलायो भनेमात्र सबैतिरका असल मानिसहरूले सहयोग गर्नेछन् । सस्तो लोकप्रियताको पछि नलागेर जनताको हितमा दूरगामी प्रभाव पार्ने काम उनले गर्न सके भने चाहिँ यो उनका लागि सुनौलो मौका पनि हुनसक्छ ।
गगन थाापलाई डा. केआई सिंहले जस्तो पछुतो मान्नु नपरोस् !
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७३ १६:३१
प्रतिक्रिया दिनुहोस्