site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेटको उतारचढावपूर्ण एक महिना

काठमाडौं । गएको एक वर्षलाई हेर्ने हो भने पनि, नेपाली खेलकुदमा सबैभन्दा चर्चित खेल निर्विवाद क्रिकेट हो । नेपाली खेलकुद समर्थकमाझ क्रिकेट चर्चा दिन दुई गुणा रात चौगुणा बढ्दै छ । मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि सुधारिएको नेपाली टिमको प्रदर्शनले क्रिकेटप्रति दर्शकको चासोलाई पनि त्यसै गरी सुधार्‍यो ।

तर, गएको एक वर्षमा पछिल्ल्लो एक महिनालाई नियाल्ने हो भने नेपाली टिम निकै खराब लयबाट गुज्रिरहेको छ भन्दा अपवाद बनिँदैन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत फेब्रुअरी १५ देखि घरमै आयोजित त्रिदेशीय शृङ्खलाका चार खेलमध्ये नेपालको प्रदर्शन निक्कै निराशजनक थियो । त्यसलगत्तै आयोजित ट्वान्टी–२० शृङ्खलामा पनि नेपालका लागि सम्झनलायक बन्न सकेन । 

Nepali-Cricket--(7)-1709662361.jpg
 

मंगलबार सम्पन्न फाइनलमा नेपाललाई डच टोलीले चार विकेटले निराश बनाउँदै १२ हजार घरेलु समर्थकमाझ शृङ्खलाको उपाधि उचाल्यो । 

पछिल्लो एक महिनामा नेपालले चार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा एकमात्र नजिता आफ्नो पक्षमा पार्न सफल भयो । ट्वान्टी–२० मा नेपालले पाँच खेल खेल्दा दुई खेल जित्यो ।

“शृङ्खलाबाट धेरै पोजेटिम कुराहरू लिएका छौँ । धेरै यस्ता क्षेत्र पनि छन्, जहाँ हामीले सुधार गर्नुपर्छ । डेथ ओभरमा योजनाअनुसार भइरहेको छैन । आउने दिनमा त्यो क्षेत्रहरूमा काम गर्ने हो । आशा छ, विश्वकपसम्म हामी तयार हुन्छौँ,” मंगलबार उपाधि भिड्न्तमा निराश बनेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भने ।

नेपाली टिमका मुख्य प्रशिक्षक देसाईले पनि यी दुई शृङ्खलाबाट नेपाली टिमले सुधार गर्नुपर्ने कुरा देखेका छन् । उनलाई लाग्छ, नेपाली टिमले दबाबमा पनि आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सक्नुपर्छ ।

Nepali-Cricket--(3)-1709662367.jpg
 

“आफूमा भएको क्षमतालाई दबाबमा पनि देखाउन सक्नुपर्छ । यो क्षेत्रमा हामीले सुधार गर्न आवश्यक छ,” देसाई भन्छन्, “वान बल ब्याटलमा खेलाडी कसरी रहन सक्छ र उसले आफ्नो क्षमतालाई दबाबमा पनि कसरी देखाउन सक्छ भन्ने कुराले महत्त्व राख्छ । पक्कै पनि यसमा अनुभवले ठूलो भूमिका खेल्छ । ट्वान्टी–२० मा सबैभन्दा राम्रो बनेको टिमलाई हेर्ने हो भने त्यहाँ कुनै एक खेलाडी आउँछन् र दबाबमा पनि टिमलाई अघि बढाउँछन् ।”

एक महिनामा नेपाली टिमको नतिजा

लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग समान दुईपटक खेल्दा नेपालले डच टिमलाई एक पटकमात्र हराउन सक्यो । 

लिग–२ को पहिलो खेलमा नेपालले नामिबियालाई चार विकेटले नतिजा सुम्पिएको थियो । यो नतिजासँगै घरेलु मैदान भएका एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अपराजित नेपालको यात्रा १६औँ खेलमा आएर टुंगिएको थियो । 

Nepali-Cricket--(5)-1709662359.jpg
 

शृङ्खलाको दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल पुनः नामिबियासँग दुई विकेटले निराश बन्यो । चौथो खेलमा नेदरल्यान्ड्सले पनि नेपाललाई आठ विकेटले हराएको थियो ।

चारमध्ये तीन खेलमा हार बेहोरेको नेपाल लिग–२ को ताजा तालिकाअनुसार पाँचौँ स्थानमा छ ।

लिग–२ को पहिलो शृङ्खला खेलेका यी तीनवटै टिम यसै वर्ष जुनमा उत्तर अमेरिकामा हुने तालिका रहेको ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् । यसैकारण, विश्वकपअघि राम्रो तयारी हुने भएकाले नेपालले ट्वान्टी–२० शृङ्खलाको आयोजना गर्‍यो । तर, लिग–२ को खराब नतिजाको भरपाई यो शृङ्खला पनि गर्न सकेन ।

Nepali-Cricket--(1)-1709662366.jpg
 

डबल राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको र दोस्रो खेलमा खेलमा नेदरल्यान्ड्ससँग दुई रनको हार बेहोरेको थियो । तेस्रो खेलमा नामिबियालाई ६ विकेटले र चौथो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । तर, उपाधि भिड्न्तमा स्कट एड्वार्ड्सको कप्तानीमा रहेको डचसँग हारेपछि नेपाली टिमको उपविजेतामै सीमित रह्यो ।

Nepali-Cricket--(2)-1709662366.jpg
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro