site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नार्क, अष्टावक्र र टाइटानिक 
Sarbottam CementSarbottam Cement

कुरा पुरानो हो । म नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा संलग्न थिएँ । अनुसन्धानको सिलसिलामा कृषि फार्म र खेतबारीमा जानुपर्थ्यो ।

त्यसैताकाको एउटा साधारण घटनाले कृषि अनुसन्धानको मेरो सोचमा गहिरो प्रभाव पार्यो ।

खेतबारीमा जाँदा कृषकहरूसँग निकट हुन त्यहाँ आएकाहरूसँग अनौपचारिक कुराकानी हुन्थ्यो । प्रायः प्राविधिकहरू कृषकका खेतबारी हेर्न आउँदा वरिपरिका मानिस त्यहाँ जम्मा हुन्थे । तिनले खेती–किसानीबारे आआफ्ना समस्या अगाडि सार्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

एक दिन त्यस्तै भीडमा एउटी ६–७ वर्षकी नानीले अचम्म मानेर हामीलाई हेरिरहिन् । यो देखेर नजिकै गएर मैले उसकै भाषामा कुरा गर्ने प्रयास गरेँ–

“तोहर नाम कथि हई ?” (तिम्रो नाम के हो नानी ?)

Global Ime bank

“रामकली,” उनले लाज मान्दै भनिन् ।

“बाबु कि काम करै छेई ?,” मैले फेरि सोधेँ ।

उसको जवाफ थियो, “हमनी के खियाबेला खेती करै छेई ।” (हामीलाई
ख्वाउन खेती गर्छन् ।)

उसको सरल जवाफ त्यति बेला आयो–गयो, सक्कियो ।

मैले अवकाश लिएको आज २० वर्ष पुगिसक्यो । पुराना कुरा सम्झन्छु । स्मृतिको भेलमा बग्दै जाँदा माथिको त्यो छोटो कुराकानीको अक्सर सम्झना हुन्छ ।

त्यो नानीको सरल जवाफभित्र निहित गूढार्थ र गहनता त्यो बालसुलभ नानीलाई के थाहा !

बाबुले गर्ने खेतीबाट उब्जिने अन्नबाट उसको परिवारको खाद्यान्न र अरू आवश्यकता पूरा गर्छ होला नै । साथै, बढी अन्न उब्जाएर बजारमा पठाइन्छ होला । त्यसले अरू कतिको खाद्यान्न आवश्यकता पूरा हुन्छ ? राखेको छ होला यसको लेखाजोखा कसैले !

के यो कृषकको बाध्यता मात्र हो र ? राज्यको आवश्यकता होइन ? यसको जवाफ छैन मसँग । ती नानीले भनेको सरल कुरा सत्य हो । सत्यभित्रको गूढ कुरा मेरा लागि ज्ञानको कुरा भएको छ ।

बुद्धले पनि त ज्ञानै बाँटेका हुन्, जीवनलाई हेर्ने एउटा अद्भुत नजरिया ! एउटा अलग्गै खालको नौलो दृष्टिकोण । कतिले बुझे, कतिले अनुभूत गरे, कतिले आँखा चिम्ली पछ्याए, कतिले बुझेको स्वाङ गरे । बुझ्ने, नबुझ्ने सबैले उनलाई देउता बनाइदिए ।

तर, बुद्ध स्वयम् भने अनीश्वरवादी थिए । जीवन ज्ञानका हरेक कुरालाई धर्मको जामा भिराइदिन्छ मानिसले यहाँ । बुद्धको दर्शनलाई पनि धर्म बनाइयो यहाँ । कस्तो विडम्वना !

नार्क पनि त्यही अवस्थाबाट गुज्रिरहेको छ । नार्कलाई बुझ्ने, नबुझ्ने, धेरै बुझ्ने, कम बुझ्ने जोसुकै लालबुझक्कड अधिकारवाला आए पनि सबैले पुनर्संरचनाका जामा आआफ्नो निहित स्वार्थको रङमा रंग्याई नार्कलाई भिडाइदिने गरेका छन् ।

पटकपटकको पुनर्संरचनाको अभ्यासको फलस्वरूप नार्क अष्टावक्र भएको छ हिजोआज । कसैले देख्दैन यो विकृति । किन कसैको कपाल दुख्नुपर्यो र !

यो भन्दै गर्दा परिवर्तन चाहिँदैन भन्ने मनसाय कदापि होइन । समयसापेक्ष परिवर्तन हुनु त जरुरी हुन्छ नै ।

पुनर्संरचनाको नाटक नार्कको छोटो जीवनकालमा कतिपटक गरियो वा गराइयो, यो सोच्ने कसैलाई फुर्सद होला न होला । यो त मात्रै सम्झन खोजेको । यसले बाहिर के सन्देश सम्प्रेषण गरिरहेको छ ?

त्यो नानीको सरल जवाफभित्रको गूढताबाट जुन ज्ञान मैले पाएँ, त्यसले कृषि अनुसन्धानप्रतिको मेरो सोचलाई निकै प्रभावित पारेको मैले माथि नै उल्लेख गरेको छु । कृषकले बढी अन्न उत्पादन नगरे बढ्दो जनसंख्यालाई कसरी ख्वाउने ! घट्दो कृषि भूमिबाट बढी उत्पादन गर्न कृषि अनुसन्धानजस्ता संस्था देशमा नहुने हो भने आयात मात्रै गरेर जनतालाई कतिन्जेल ख्वाउन सकिन्छ !

विश्वमा खाद्य सुरक्षाको कुरा गर्दा जुन देशमा सबल र प्रभावकारी कृषि अनुसन्धान संस्थाको अभाव छ, त्यो देश खाद्यान्न आत्मनिर्भर हुन सकेको छैन । नेपालले यही स्थिति भोग्नुपरेको छ, आज ।

कृषि मुलुकको निजी क्षेत्रको सबैभन्दा ठूलो व्यवसाय ! प्रत्यक्ष वा परोक्ष रूपमा जनसंख्याको ६० प्रतिशत यस व्यवसायमा संलग्न रहँदा पनि देशको खाद्यान्नको माग पूरा हुँदैन, आश्चर्य !

पहिलो, देशको जनसंख्या बढदो छ । दोस्रो, त्यसको अनुपातमा प्रतिइकाइ कृषि भूमिमा अन्न उत्पादन बढ्न सकेको छैन ।

हाम्रोजस्तो परम्परावादी सोच, सामाजिक, धार्मिक र शैक्षिक अवस्थितिले गर्दा जनसंख्या वृद्धिदरलाई शून्यमा झार्न त सकिँदैन, व्यवस्थापन भने गर्न सकिन्छ ।

उत्पादन वृद्धि गर्न आधुनिक कृषि प्रविधिको प्रयोग गरेर खाद्यान्न उत्पादन बढाउन नसकिने भने होइन । आवश्यकता हो कृषि अनुसन्धान गर्ने सक्षम संस्था र त्यहाँ काम गर्ने वैज्ञानिकहरूको उच्च मनोबल ।

यसको लागि पूर्वसर्त इमानदार राजनीतिक इच्छाशक्ति र आधुनिक प्रविधिको प्राप्यता नै हो । अन्यथा, कृषिप्रधान भनिने हाम्रो देश एकादेशको कुरा न होला भन्न सकिन्न ।

कृषि अनुसन्धानलाई सम्झँदा मेरा आँखाका अगाडि ती प्रबुद्ध कृषि वैज्ञानिकका अनुहार आउँछन्, जसको अनुसन्धानको प्रतिफलस्वरूप विश्व भुखमरीबाट जोगिएको छ । यसो भनिरहँदा कृषि अनुसन्धान भनेको वैज्ञानिक मात्र हुन् भन्ने मेरो भनाइ कदापि होइन ।

मेराअगाडि ज्यापुको त्यो तस्बिर पनि आउँछ, जो खुमलटारको कृषि अनुसन्धानको फार्मको बाटो हिँड्दा फार्ममा लहलह झुलेको अन्नबाला देखेर टक्क अडेर पर्खालपारिबाट हेरिरहन्छ ।

बाली हेरिरहँदा उसको अनुहारको भावमा एउटा जिज्ञासा पढ्छु– किन फल्दैन मेरो खेतमा बाली यसरी !

कुनै कृषिमन्त्री, दलका नेता अथवा सिंहदरबारभित्र ढसमस्स बसिरहेको सेतो हात्ती, कृषि मन्त्रालय – यिनीहरूलाई फुर्सद होला ज्यापु्को त्यो जिज्ञासाबारे सोच्न !

परम्परावादी सोच राख्नेहरूमा कहीँ कतै प्रतिक्रिया वा अफसोस देख्दिनँ । मेरो दुस्साहस होला यस्तो अपेक्षा राख्नु । के अधिकार पाएकाहरू जवाफदेही हुनु पर्दैन ? खोइ लज्जाबोध, खोइ पश्चात्ताप !

कृषि अनुसन्धानको जागिरको सिलसिलामा मैले पनि यी सबै देखेँ, भोगेँ र अनुभव गरेँ । यसले कृषि अनुसन्धान बुझ्ने भोक झन् बढायो मेरो । देश–विदेशका अनुसन्धान संस्थाबारे बुझ्न थालेँ, पढ्न थालेँ । यसलाई प्रभावकारी कसरी बनाउन सकिन्छ जान्न कोसिस गरेँ ।

हाम्रोजस्तो हस्तक्षेपकारी प्रशासनिक पद्धति, कर्मचारी नोकरसाही मानसिकता र चिन्तनको धरातल भएको ठाउँमा कृषि अनुसन्धान प्रभावकारी हुन गाह्रो छ ।

यो दश–पाँच गरेर काम गर्ने निकाय होइन । अनुसन्धानको काममा समय त्यसकै मागअनुसार दिनुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था जरुरी हुन्छ । त्यो हो स्वायत्त अनुसन्धान संस्था, जहाँ काम गर्ने संस्कृति कर्मचारीतन्त्रको भन्दा भिन्नै हुन्छ । अन्यथा, यो पनि कर्मचारी नोकरसाही भएर जान्छ ।

यस्तै छ नार्कको अवस्था अहिले ।

कृषि अनुसन्धानबारे मेरो सोचलाई मेरा साथीहरू ‘स्वदेशीपना कम र विदेशीपना’ देख्ने टिप्पणी गर्छन् । म इन्कार पनि गर्दिनँ ।

यसमा अन्तर्राष्ट्रिय कृषि अनुसन्धानको स्पर्म पनि छ, ओभम पनि मिसिएको छ । त्यसमा ब्राजिल, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान,  बंगलादेश आदिका अनुभव शुक्राणुहरू जोल्टिएका छन् । यसलाई वर्णशंकर भने पनि हुन्छ । मेरो आपत्ति छैन ।

म गर्वसाथ के भन्छु भने, यो स्वदेशी हो अनि नेपाली पनि हो । किनभने, यो मेरो गर्भमा अंकुरित मेरो सोच हो ।

६०/७० को दशकसम्म भारतको खाद्यान्नको स्थिति अंग्र्रेजीको प्रचलित उखान ‘ह्यान्ड टु माउथ’को सट्टा ‘शीप टु माउथ’ थियो । अर्थात्, दाताहरूबाट प्राप्त खाद्यान्न सहयोग गोदामसम्म पनि पुर्याउन नभ्याई पानीजहाजबाटै बाँड्नुपर्ने अवस्था थियो ।

बंगलादेश बन्दा खाद्यान्न अभावमा भोकमरीको अवस्था विद्यमान थियो । दुवै हाम्रा छिमेकी देश हुन् । दुवै देशले कृषि अनुसन्धानलाई सक्षम र प्रभावकारी तुल्याई आज खाद्यान्न निर्यात गर्ने देश भएका छन् ।

कृषि क्षेत्रका अग्रजहरूले यहाँ यो स्थिति नआओस् भन्ने दूरदृष्टि राखेरै साढे तीन दशकअघि नै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) एउटा स्वायत्त संस्थाका रूपमा खडा गरेका थिए । हाम्रोजस्तो केन्द्रीभूत प्रशासन भएको ठाउँमा स्वायत्त संस्थाको कल्पना हाम्रा अग्रजले किन गरे होलान् !

यतातिर नेतृत्वदायी भूमिकामा बस्नेहरूले कहिल्यै सोच्नेसम्म कोसिस गरेको पाइँदैन । आफ्नो र आफ्ना झोलेहरूको स्वार्थ पूरा गर्न मन्त्रीदेखि मन्त्रालयसम्म र नार्कका केही जस्केलाबाट छिर्ने दाउमा रहेका वैज्ञानिकहरूबाटै पुनर्संरचनाको नाममा नार्कको स्वयत्ताको हातखुट्टा भाँच्ने काम पटकपटक नभएको होइन ।

यसले गर्दा नार्क आज अष्टावक्र बनेको छ । वैधानिक रूपमा नार्क स्वायत्त छ । तथापि, कहाँ छ भन्ने लालटिन बालेर खोज्नुपर्ने अवस्था छ ।

किन नार्कप्रति मन्त्रालयको यत्रो ‘एलर्जी’ ? केही त कारण हुनुपर्छ होला । कारण खोलेर कहिल्यै भन्दैनन् । तर, नार्क कुनै पनि बेला कुनै पनि कारणले होस्, गाह्रोसाह्रो वा अप्ठ्यारोमा पर्न जाँदा मन्त्रालय, अट्टहास त गर्दैन, तर ‘स्नीगर’ गरेर बसेको आफ्नो कार्यकालमा मैले पटकपटक देखेको छु ।

कारण मैले नबुझेको होइन । तर, सार्वजनिक रूपमा यसलाई भन्न वा लेख्न मिल्दैन । त्यसैले यसलाई मैले लघुताभाषको चिन्तन भनेर चित्त बुझाएको थिएँ ।

खाद्यान्न सम्प्रभुतालाई टेवा दिन बनेको संस्थालाई हामीले राजनीतिको खेलमैदान बनाइदिएका छौँ । आज देशले ठूलो धनराशि खर्चेर खाद्यान्न आयात नगर्ने हो भने भुखमरी यहाँ नहोला भन्ने छैन ।

यो स्थिति कहिलेसम्म धान्न सक्छ देशले ! कृषि विकास गर्न नेतृत्वदायी भूमिकामा बस्नेहरूले यो कति बुझेका छन् कुन्नि ! म आशा गर्छु, मभन्दा बढी नै बुझेको हुनुपर्छ ।

त्यसकारण म यो पनि आशा राख्छु कि उहाँहरूसँग समाधान पनि अवश्य नै होला ।

अर्थ र कृषि मन्त्रालयलाई स्मरण गराऊँ, कृषि अनुसन्धानमा गरिने लगानी अर्थ मन्त्रालयले नार्कलाई गरेको कुनै परोपकार वा दिएको कुनै दानदातव्य होइन । यो दूरदर्शितापूर्ण र विवेकशील निर्णय हो देशलाई खाद्यान्नतर्फ आत्मनिर्भर बनाउने हकमा ।

नार्क अहिले फेरि चौथोपटकको पुनर्संरचनाको घानमा पर्न आएको छ । तीनपटकको पुनर्संरचनाले अष्टावक्र बनेको नार्कले योपटकको पुनर्संरचनाको पिसाइमा आफ्नो स्वायत्त अस्तित्व जोगाउन सक्षम होला ? यो त भविष्यले नै देखाउला ।

यी क्रियाकलापबाट एउटा स्पष्ट के हुन्छ, आज नार्क सहज रूपमा चलिरहेको छैन । भद्रगोल छ । नार्कको कोही स्वतन्त्र वैज्ञानिकले आफूभन्दा माथि उठेर नार्कलाई अहिलेको परिस्थितिबाट बाहिर ल्याउन, नेतृत्व प्रदान गर्न सक्ने अवस्था सहजै देखिँदैन । यथार्थमा नार्क अष्टावक्र भई नै सक्यो, अब यो टाइटानिकको हविगततिर डोरिँदै छ ।

नार्क र टाइटानिकको अवस्थामा म केही सामञ्जस्य देख्न थाल्छु । वस्तुगत रूपमा दुई बेग्लाबेग्लै कुरा हुन् । परिणति नार्कको फेरि पनि टाइटानिककै होला भन्ने दिमागमा किन आउँछ ? म बुझ्दिनँ । के यो ‘डेजा भु’ त होइन !

मलाई थाहा छ, यो मेरो कल्पना हो । म चाहन्छु, यसलाई जबरजस्त प्रतिवाद गरिदेओस् कसैले । म यसैको पर्खाइमा छु । झुटो साबित भएको खुसीमा अट्टहास गरी म हाँस्न सकूँ ।

समुद्रमा तैरिरहेको बर्फको शिलामा ठोक्किएपछि टाइटानिक बीचसमुद्रमा डुब्दै छ । यो कुरा सबैलाई थाहा छ । आशाको किरण कतै छैन । जहाजको डेकमा यात्रीहरू ज्यान जोगाउन यताउता दौडिरहेका हुन्छन् । त्यहाँ पनि क्याप्टेनको कुर्सीमा बस्न हानथाप छ !

एलवर्ट कामुको कथानक ‘द हेल’को सम्झना आउँछ । नर्क त मरेपछि पुगिने ठाउँ हो । त्यहाँ पनि कोठाभित्र मरेका पात्रहरू एकार्कोलाई मार्ने षड्यन्त्र गरिरहेका हुन्छन् । अस्तित्वको संकटबोध ज्यानविहीनतामा पनि भोगेको देखाउनु लेखकीय कल्पनाको उत्कृष्ट अभिव्यक्ति !

नार्क पनि ज्यानविहीन भएर अस्तित्वको संकटबोध भोग्दै छ । यो अवस्था किन र कसरी आयो ? कसले जवाफ दिने ! अस्तित्व जोगाउन नार्कको नेतृत्वले पुनर्संरचनाको लंगुर पानीमा लगाउने काम कहिलेसम्म गर्ने ? 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement