
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् ।
जाजरकोटको छेडागाड नगरपालिका–१२, मनघाटमा आयोजित सभामा सोमबार (जेठ ५) सम्बोधन गर्दै उनले २७ वर्षअघिको क्रान्तिको गति र अहिले एकैखालको देखिएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘जनयुद्ध’मा जाजरकोटले पुर्याएको योगदानको प्रशंसा गरे ।
‘जनयुद्ध’को केन्द्रीय आधार इलाका जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो ।
१० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए ।
अब फेरि जनताले माओवादीलाई मजबुत बनाए मात्र सबै जनता बलियो हुने उनको भनाइ छ । “हामीले गरेका गल्ती, कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ,” उनले भने, “अब फेरि हामीलाई तपाईंहरूले साथ दिनुभएमा जनता बलियो, जनसाधारण बलियो हुनेछ ।”
मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए ।
जाजरकोटका जनताले उठाएका विषय सदनदेखि सरकारम्म राख्ने उनले प्रतिबद्धता गरे । उनले मध्यपहाडी राजमार्गको मन्ताभीरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिए ।
जाजरकोट–जुम्ला जोड्ने सडक तथा नलगाड जलविद्युत् आयोजना निर्माणका निम्ति पहल गर्ने उनले बताए । रासस