
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचारधारा भएका पार्टी तथा स्वतन्त्र वामपन्थी समूहलाई आफूमा समाहित गर्ने भएको छ । कम्युनिस्ट दल निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह तथा विभिन्न कारणले पार्टी परित्याग गरेका नेतालाई एकीकृत समाजवादीमा फर्कन आह्वान गरिएको हो ।
पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले कम्युनिस्ट पार्टी स्थापनादेखि सांगठनिक सुदृढीकरणका निम्ति योगदान गरेका वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताए । केही नेताहरूको व्यवस्थापन टुंगो लगाएपछि यथाशीघ्र समाहित हुने उनले जानकारी दिए ।
उनका अनुसार, पार्टीमा माथिल्लोदेखि तल्लो तहका कमिटीसम्म ‘एक पद, एक व्यक्ति’ प्रणालीका आधारमा नेताहरूको व्यवस्थापन गरिने समझदारी भएको छ । तेस्रो वरीयताक्रममा नेता गौतमलाई व्यवस्थापनको गृहकार्य दिइने पार्टी कार्यालयले जनाएको छ ।
मुलुकमा वामपन्थी धु्रर्वीकरण गरी वैज्ञानिक समाजवाद कार्यान्वयन गर्ने उद्देश्यले पार्टी संगठनलाई देशभर सुदृढीकरण गरी गतिशील बनाउने योजनाअनुरूप मातहतका कमिटीमार्फत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गरिएको छ ।
पार्टी महासचिव घनश्याम भुसाल नेतृत्वको कार्यदलले कम्युनिस्ट सिद्धान्तमा निष्ठावान् भई स्वतन्त्र वाम समूह, आदर्श नेताहरूसँग पनि एकताका निम्ति छलफल गरेको उपप्रमुख अर्यालले जानकारी दिए । रासस