
काठमाडौं । नेपाली राजनीति तथा साहित्यका मूर्धन्य व्यक्तित्व बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास ‘सान्दाजु’ लोकार्पण गरिएको छ । उपन्यासका लेखक सुभाष घिमिरे हुन् ।
सोमबार (जेठ ५) काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले उपन्यास लोकार्पण गरे । उनले ऐतिहासिक उपन्यास लेख्नु आफैँमा चुनौतीपूर्ण काम भएको बताए । ‘सान्दाजु’ एउटा दस्ताबेजका रूपमा संगृहीत भएको उनले उल्लेख गरे ।
थापाले उपन्यासकारले साहित्यका माध्यमबाट नयाँ पुस्तामा बीपी कोइरालालाई परिचित गराउने काम गरेको बताए ।
कार्यक्रममा शंकर तिवारीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । बीपीको जीवनका अनेक पक्ष यो उपन्यासमा समेटिएको उनले बताए ।
डा. तुलसी भट्टराईले बीपी आफैँमा सिंगो इतिहास भएको उल्लेख गरे । उपन्यास यथार्थपरक रूपमा रोचक ढंगबाट ल्याइएको उनले बताए ।
उपन्यासकार घिमिरेले बीपीको कर्मबाट प्रेरित भएकोले आफूले यो उपन्यास लेखेको सुनाए ।
कार्यक्रममा मधु आचार्य, राजेन्द्र पराजुली, जीतनारायण श्रेष्ठ, बद्री अर्याल, लेखकका पिता रामकृष्ण घिमिरे, विनीता अधिकारीलगायत व्यक्तिले कृति, कृतिकार र बीपी कोइरालाका विषयमा बोलेका थिए । यो उपन्यास सुन्दर स्वदेश पब्लिकेसनले प्रकाशन गरेको हो ।