site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रोल्लासको ‘बागबजार बोल्दैन’ कथाकृतिमाथि परिचर्चा

काठमाडौं । कविता र आख्यान साहित्यमा बराबरी कलम चलाउने सर्जक प्रोल्लास सिन्धुलीयको पहिलो कथाकृति ‘बागबजार बोल्दैन’माथि परिचर्चा सम्पन्न भएको छ । 

शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित परिचर्चा कार्यक्रममा अनुपमा रेग्मीले प्रोल्लासको आख्यान लेखन शैलीको प्रसंसा गरिन् । उनले कृतिभित्रका कथाहरूका विषयवस्तु तथा शैलीमा पृथकता रहेको बताइन् ।  

परिचर्चाका अर्का वक्ता कवि आर.एम. डंगोलले प्रोल्लासले प्रारम्भदेखि नै कविता र कथामा एकसाथ कलम चलाएको उल्लेख गर्दै कृतिभित्रका कथा र उनको कथाकारिताको चर्चा गरे ।

कार्यक्रममा कथाकार प्रोल्लासले काठमाडौं आउँदा आफूसँग खल्तीमा खासै पैसा नभए पनि झोलाभरि कविताहरू भएको स्मरण गरे । 

कार्यक्रममा प्रोल्लास र उनको लेखनमाथि साहित्यकारहरू रवि प्राञ्जल, आमोददेव भट्टराई, लक्ष्मी भट्टराईलगायतले बोलेका थिए । परिचर्चाको सहजीकरण कवि रञ्जु दाहालले गरेकी थिइन् ।

कथाकृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्