site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘शतकपछि म रुन चाहन्थेँ, कुशलको कीर्तिमान तोडेको थाहा थिएन’

काठमाडौं । नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटोनका लागि सोमबार कीर्तिपुर विशेष स्थान बन्यो । सम्भवतः कीर्तिपुरको त्रिवि क्रिकेट मैदान लोफ्टीको करियरमा कहिल्यै भुल्न नसकिने स्थान रहिरहने छ ।

त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा घरेलु टिमलाई १५ हजारभन्दा धेरै समर्थकमाझ २० रनले निराश बनाउँदा लोफ्टीको कीर्तिमानी प्रदर्शन केन्द्रमा थियो ।

टस जितेर ब्याटिङमा आएको नामिबियाबाट लोफ्टीले ३३ बलमै १०० रनको विस्फोटक इनिङ खेले । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा योभन्दा छिटो विश्वका कुनै पनि ब्याटरले शतक बनाएका छैनन् । सोमबारको खेलबाट लोफ्टी क्रिकेटको सबैभन्दा सानो संरचनामा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बने ।

नामिबियाको डकआउटमा कीर्तिमानको खुसियाली छाइरहँदा लोफ्टीका लागि भने यो अझ विशेष रह्यो । विशेष यसकारण, उनले यसअघि नेपाली ब्याटरकै नाममा रहेको कीर्तिमान नेपाल आएर घरेलु टिमविरुद्ध खेल्दा नै तोडे ।

Nicol-dg-1709044587.png
 

“यो अनुभव विशेष छ । मेरा लागि आज यो दिन विशेष रह्यो । शतकपछि वास्तवमा म रुन चाहन्थेँ,” लोफ्टीले कीर्तिमानी शतकपछिको भावना यसरी सुनाए ।

नामिबियाका अलराउन्डर लोफ्टीले सन् २०२१ मा युगान्डाविरुद्ध खेल्दै देशबाट अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आजको खेल अघिसम्म नामिबियाबाट लोफ्टीको प्रदर्शन औसतभन्दा माथि जान सकेको थिएन ।

यसअघि ३२ अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेल्दा उनले एउटा पनि अर्धशतक पनि प्रहार गर्न सकेका थिएनन् । एक दिवसीयमा ६ अर्धशतक बनाएका लोफ्टीको यो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतकसमेत हो ।

“नामिबियाका लागि यो मेरो पहिलो शतक हो । मैले यो टिमसँग लामो समयदेखि ऋणी भएको महसुस गरिरहेको थिएँ र अहिले यो समय आएको छ । शतकको अन्तिम रन बन्दा म भावनात्मक र खुसी थिएँ,” लोफ्टीले भने ।

लोफ्टी ब्याटिङका लागि नआउँदासम्म नामिबियाले १०.४ ओभरमा तीन विकेट गुमाएर ६२ रनमात्र जोडेको थियो । तर, यसपछि लोफ्टीले चौथो विकेटका लागि मलान क्रुजरसँग ५२ बलमा १३५ रनको अर्को कीर्तिमानी साझेदारी गर्दै नामिबियालाई बलियो स्थितीमा पुर्‍याएका थिए । १९.२ ओभरमा लोफ्टीलाई अभिनाष बोहराले गुल्सन झामार्फत क्याच गराउनुअघि नामिबिया १९७ रनको बलियो स्थितिमा पुगिसकेको थियो । 

लोफ्टीले र मलानको यो साझेदारी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियाले बनाएको अहिलेसम्मकै ठूलो साझेदारी हो । यो जोडीले यसअघि सन् २०१९ मा सीजी विलियम्स र जेपी कोट्जेले बोत्सवानाविरुद्ध ११२ रनको साझेदारीको कीर्तिमान तोडे ।

सबैभन्दा छिटो शतक बनाउने क्रममा लोफ्टीले ३३ बलमा ११ चौका र आठ छक्का प्रहार गरे । ३० बलमा ९० बनाउँदा कुशलको कीर्तिमान तोड्न उनलाई तीन बलमा १० रन आवश्यक थियो । लोफ्टीले ३१औँ बलमा दीपेन्द्रसिंह ऐरीको ओभरमा छक्का प्रहार गरे । ३२औँ बल डट खेलेका लोफ्टीले ३३औँ बलमा चौका प्रहार गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

रोचक संयोग त के भने, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लोफ्टीले खेलेको ३३औँ खेल ३३ बलमा नै शतक बनाए ।

खेलपछि पत्रकारसँगको कुराकानीमा भने उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेकोबारे कसैले भनेपछि मात्रै आफूलाई थाहा भएको बताए ।

Nicol-a-1709044586.png
 

“मलाई योबारे थाहा थिएन । मलाई कुशल मल्लले २९ बलमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान राखेका छन् जस्तो लागेको थियो,” उनले भने, “कोही एकजना आए र मलाई यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा छिटो बनेको शतक हो भने । तर, मलाई विश्वास थिएन । अहिले यहाँ पनि सुनेँ ।”

शतकपछि नेपाली क्रिकेटप्रेमी समर्थकबाट लोफ्टीले ‘स्ट्यान्डिङ ओभेसन’ पाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पनि लोफ्टीको कीर्तिमानी प्रदर्शनको तारिफ गर्न कन्जुस्याइँ  गरेनन् ।

“लोफ्टीले एकदम राम्रो ब्याटिङ गर्‍यो । उसले खेल्न खोजेको सबै सट सफल भइरहेको थियो,” रोहितले भने, “क्रेडिट लोफ्टीलाई पनि दिनुपर्छ । उसले पनि मेहनत गरेको होला । उसले एकदम राम्रो खेल्यो ।”

तस्बिरहरू : क्यान

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro