काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पालाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र प्रदान गरेका छन् । छिरिङ र जगदिश गुरुङले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २७८ मिटरको उचाईमा ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड’को रेकर्ड राखेका थिए ।
राष्ट्रपति पौडेलले छिरिङलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिएका छन् । छिरिङले सन् २०२४ को स्प्रिङ(अप्रिल–मे)मा सगरमाथासमेत आरोहण गर्दैछिन् ।
“राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो । यो सम्मानले मेरो एउटा सपना पूरा भएको छ,” उनले भनिन् ।
उनले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पाप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । “हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिले ज्यान गुमाउनु परेको छ । उहाँहरूको परिवारले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ,” उनले भनिन्, “यसकारण उनीहरूको आवाजलाई बुलन्द पार्न सगरमाथा आरोहण गर्न लागेकी हुँ ।”
उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत् नेपाली सिनेमामा डेब्यु गर्दैछिन् ।