साहित्यकार रविन्द्र केसीको कथासंग्रह ‘सम्बन्धको दोबाटो’ हात परेपछि त्यसभित्र घोत्लिएँ । यस कृतिभित्र २१ कथा समावेश छन् । अनि, प्रत्येक कथामा फरक–फरक खुराक पाइन्छ ।
कथाकार केसीको कथाकृतिमा निहित ‘युद्धका घाउहरू’ पढेपछि सम्बन्धित पक्षको अनुत्तरदायी चरित्रप्रति उकुसमुकुस भाव प्रक्षेपित भए ! ‘युद्धका घाउहरू’ कथाको मुख्य पात्र म (सुरज)ले बाटोमा थोत्रो जुटको बोरा पिठ्युँमा बोकेकी, फाटेर प्वालैप्वाल भएका लुगा लगाएकी अधबैँसे महिला असामान्य तबरले हिँडिरहेको कारुणिक दृश्य देख्छ ।
भुस्याहा कुकुर र केटाकेटीद्वारा गिज्याइएकी उनी घरीघरी रोकिँदै फर्किएर ढुंगा उज्याउँदै उनीहरूको प्रतिकार गर्छिन् । नजिक आइपुगेपछि म पात्र (सुरज)ले उनलाई आफ्नो बालसखी मानुषी भनेर चिन्छ र बोलाउँछ ।
तर, चिन्दिनन् । बरु, उल्टै ‘खोइ मेरो माधव ?’ भनेर प्रतिप्रश्न गर्छिन् । केही क्षणमै मानव सेवा आश्रमका कर्मचारी र प्रहरी आएर उनलाई पक्रेर लैजान्छन् । सोधपुछपछि उनको मानसिक सन्तुलन गुमेको, आश्रमबाट भागेको, विगत र वास्तविकता थाहा नभएकाले उपचारमा कठिनाइ भएको जानकारी मिल्छ ।
बोझिलो मन लिएर घर पुगेको म पात्र अतीतका तिता स्मृतिले आहत हुन्छ । समयले खाटा बसेको घाउका पाप्रा उक्किएर चहर्याउन थाल्छ । युद्धका राँकोमा नेपाल आमाका सपूतहरूले राष्ट्रको सेवा गर्दागर्दै प्राणाहुति दिनुपरेको दृश्य मानसपटलमा चलचित्रको रिलझैँ घुम्छ ।
युद्धमा घाइते भएका माधवले जीवनको बत्ती निभ्नै लाग्दा चरम हरेस खाँदै भनेका यी अन्तिम वाक्यहरूले मर्माहत बनाउँछ, ‘हेलिकोप्टर आउँछ नि सुरज ? राज्यले बचाउँछ नि हामीलाई ?... हेलिकोप्टर नि आएन, अब त बाँचिन्न होला !’
कथा पढदै जाँदा भावनाका ज्वारभाटा उठ्दै बिलाउँदै जान्छन् । सुरज र साथी माधवको बालापन, मानुषी र माधवको माया–पिरती, आफू र शान्तिको प्रेम कहानीले नोस्टाल्जिक बनाउँछ ।
‘सम्बन्धको दोबाटो’मा रहेका कथाहरू हरतरहले सम्बन्धको सेरोफेरोमा बुनिएका छन् । सम्बन्ध आफैँमा व्यापक विषय हो । कसैको जैविकता र हार्दिकताबाट सिर्जित सत्यलाई सम्बन्ध भनिन्छ । मानव जीवनको कालखण्डमा भाग्य र बहानाले भेटिएकाहरूलाई चाहनाले आफ्नो जिन्दगीमा समाहित गर्न सम्बन्ध गाँसिन्छन् ।
साहस, ऊर्जा, प्रेरणा र हौसलाका लागि या जीवन भोगाइ सहज बनाउन स्वस्फूर्त एकापसमा जोडिनु नै सम्बन्धमा रहनु हो । जैविकता मात्रले सम्बन्ध ‘सम्बन्ध’ हुँदैन ।
जीवनमा जेजति सम्बन्ध छन्, सबै समाज र जीवन भोगाइका प्रतिविम्ब हुन् । त्यही भोगाइको अभिव्यक्ति सर्जकको सिर्जनामा झल्किन्छ ।
‘युद्धका घाउहरू’ एउटा कथा मात्र नभएर मुलुकले भोग्नुपरेको निर्मम द्वन्द्वको वास्तविक दस्ताबेज हो । यस कथामा कथाकारले प्रेमको उत्कर्ष छुने प्रयास गरेका छन् ।
कथाकारले मिहिन तरिकाले प्रेमिल मनका संवेदना र भोगाइलाई केस्राकेस्रा केलाएका छन् । हरेक प्रसंगहरू हृदयमा लामो समयसम्म अमिट छाप छोड्न सफल छन् ।
जीवनकै प्रिय मान्छे गुमाउँदाको पीडा, अभिभावकत्व गुमाएका अनाथ बालबालिका, टेक्ने लट्ठी भाँचिएर बेसहारा बनेका वृद्धवृद्धाका आँसुको सत्यकथा हो यो ।
कर्तव्यपालनकै सिलसिलामा जीवनोत्सर्ग गरेका राष्ट्रसेवकका आश्रित परिवारको जिम्मेवारी लिनुपर्ने राज्यको दायित्व ओझेलमा परेको तितो यथार्थ छ, कथामा । यो कथा १० वर्षे सशस्त्र द्वन्द्वका घटनाहरूको परिणति हो ।
यस कथाको लेखन सलल बगेको छ । भाषा सरल र बोधगम्य छ । पात्र चयन र भूमिका उत्कृष्ट छ । महत्त्वपूर्ण कुरा, कथा पढ्दै जाँदा आँखा अक्षरमा भए पनि दृश्य दिमागमा झलझली आउँछ ।
कथाकारको कल्पनाशीलता बेजोड छ । कथाको बगाइसँगै उपयुक्त स्थानमा सही विम्बको प्रयोग गर्न कथाकार माहिर छन् ।
यति हुँदाहुँदै पनि कथामा केही नपुग भएजस्तो अनुभूत हुन्छ । हुन त एउटै कथामा सबै पक्षलाई समेट्न गाह्रो हुन्छ नै । अर्थात्, युद्धका क्रममा सर्वसाधारण नागरिक दोहोरो मारमा परेको कुरा कथाले नजरअन्दाज गरेजस्तो लाग्छ । सायद ‘सत्य सेवा सुरक्षणम्’को कर्तव्य निर्वाह गरिरहेका कथाकारलाई आफ्नो पेसागत मर्यादा र अनुशासनले एक मार्गमा मात्र हिँड्न निर्देश गरेको पनि हुन सक्ला ।
(सभापोखरी–१, संखुवासभा)