काठमाडौं । चलचित्र ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहले फागुन २१ देखि दुई चरणमा देशका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछ ।
निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शकसँग भेट गर्न लागेको बताए । दर्शकसँग साक्षात्कार गर्न सिनेमाका कलाकारसँगै रियालिटी शोमार्फत् उदाएका कमेडियनरू पनि हुने उनले जानकारी दिए ।
चलचित्रका कलाकार हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत मोफल भ्रमणमा हुनेछन् ।
‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भएर २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरु भएर १ गते इटहरी, ३ गते हेटौंडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुति हुनेछ ।
भ्रमणमा दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिने निर्माण पक्षले जनाएको छ ।
निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ श्रृंखलाकै कलाकारहरू विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।
पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या चलचित्रको मुख्य कथा हो ।