सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक तीन हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन् । केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ ।
कर्णालीका ७० प्रतिशतभन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन् । पछिल्लो समय रुकुम पश्चिम लगायतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरिका जानेहरूको तथ्यांक राज्यसँग छैन ।
खुला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो ।
उक्त सत्रमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारीलाई वक्ताका रूपमा बोलाइएका थिए ।
रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै विदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार अधिकारीले बताए । तर, अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाइ छ ।
“वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ । गोर्खा आर्मी हुँदै नेपाली युवा पलायन सुरु भएको हो,” सत्रमा बोल्दै अधिकारीले भने “यसका सकारात्मक र नकारात्मक लक्षहरू छन् । दुवै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।”
अहिले पनि ५० लाख नेपाली देशबाहिर भए पनि राज्यको तथ्यांकमा भने २२ लाख मात्रै रहेको उनले बताए । अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन् । “हाम्रो युवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन् ? भारतमा युवा छन्, गल्फ कन्ट्रिमा युवा छन्” उनले भने, “देशमा युवा हुनुको अवसर राज्यले गुमाई रहेको छ । कन्ट्रि अफ युथ नेपालले उपभोग गर्न पाएको छैन ।”
उनले वैदेशिक रोजगारले बसाइँसराइमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने बताए । “बसाइँसराइका कारण गाउँका विद्यालयहरू रित्तिदै छन् । स्वास्थ्य सेवा बन्द हुन थालेका छन् । अन्य सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँहरू खाली भएका छन्,” उनले भने, “माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ । मस्तिक पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ । त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन ।”
अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह बताउँछन् । “अहिले पनि ठूलो संख्यामा युवाहरू बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरू खाडी मुलुकमा गइरहेका छन्,” उनले भने, “विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर, उनीहरूलाई कसरी नेपालमा राख्ने प्रश्न हो ।”
वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्यांक समेत राज्यले राख्न नसकेको उनले बताए । “वैदेशिक रोजगारबाट फर्किएकाहरू कहाँ छन् ? उनीहरूले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन् । तर उनीहरूको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौँ ?” उनी राज्यलाई प्रश्न गर्छन् ।
वैदेशिक रोजगारमा जानेहरू एजेन्टबाटै ठगीएको उनले बताए । “राज्यले एजेन्टलाई चिन्दैन । तर, एजेन्टविना कुनै पनि युवा विदेश जाँदैनन्” उनले भने, “हुम्लाको एउटा युवा साउदी पुग्दासम्म लाखौँ रुपैयाँ खर्च गर्छ । राज्यले उनीहरूको व्यवस्थापन नै गर्न सकेको छैन ।”
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगीमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । “आज गाउँनै रित्तो हुनेगरी रुकुमका मान्छेहरू अमेरिका गइरहेका छन् । उनीहरू म्यानपावर कम्पनीमार्फत गएका छैनन् । उनीहरू दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ” उनले भने ।
राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरू मौलाएको अध्यक्ष भण्डारीले बताए । “सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समस्या भएको छ । उनीहरूको टिकट, स्वास्थ्य परीक्षण, आवश्यक तालिम र राहदानी लगायतका विषयमा शुल्क लाग्ने गरेको छ,” उनले भने, “मिटरव्याजी ऋण गरेर विदेशिएका उनीहरू त्यस्कै पासोमा पर्ने गरेका छन् ।’
युवा वैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन् । ”वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन । तर जाने तरिका भने अनेक थरिका छन् । विदेशिनु नराम्रो हैन । तर विदेशिने बाटो नराम्रो भयो,“ उनले भने ।
सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरूले दुःख पाउने गरेको ढकाल बताउँछन् । “देशको एक चौथाई जीडीपी ओगटेको वैदेशिक रोजगारलाई राज्यले पर्याप्त लगानी गर्न नसकेको सत्य नै हो । त्यसमा सुधार आवश्यक छ,” उनले भने, “श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति नलिँदा समस्या भएको छ ।”