site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ सुपर लिगको पतन 
SkywellSkywell

काठमाडौं । सन् २०१६ जुनमा सांघाई विमानस्थलमा हजारौँ समर्थक चर्चित फुटबलरमध्येका एकलाई घरेलु सहरमा स्वागत गर्न उपस्थित थिए । २९ वर्षीय हल्क – जो उच्च शारीरिक शक्तिका निम्ति प्रसिद्ध थिए, उनलाई सांघाई एसआईपीजीका व्यवस्थापक स्भेन–गोरान एरिकसनले अनुबन्ध गरेका थिए । ४६ मिलियन पाउन्डभन्दा बढीमा अनुबन्धित हल्कलाई प्रतिहप्ता तीन लाख २० हजार पाउन्ड पारिश्रमिक दिइएको रिपोर्ट छ ।

खेल करियरकै महत्त्वपूर्ण निर्णयसहित चीन पुगेका हल्कको स्वागतमा विमानस्थलभर फूलका गुच्छा उनीमाथि फालिएको थियो । सांघाई एसआईपीजीको स्कार्फ उनको नाकसम्म आइपुगेको थियो ।

त्यसको तीन वर्षपछिसम्म हल्कसँगै अरू चर्चित नाम उच्च मूल्यसहित चिनियाँ घरेलु फुटबलमा भित्रिए । हल्क आगमनको ६ महिनापछि चेल्सीका स्टार ओस्कार पनि ६० मिलियन युरोमा चिनियाँ फुटबलमा आबद्ध भए । ओस्कार प्रतिसाता चार लाख युरो पारिश्रमिकसहित चीन पुगेको अनुमान थियो ।

KFC Island Ad
NIC Asia

यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितेका खेलाडी चिनियाँ फुटबलमा भित्रँदा यी दुईले भन्दा धेरै पारिश्रमिक पाएको खुलेको थियो ।

Oscar-and-Hulk3-1708329338.jpg
पेरिस सेन्ट जर्मन (पीएसजी)का इजेक्वेइल लाभेजी, लिभरपुलका एलेक्स टेइजेरा र कोलम्बियाका फरवार्ड ज्याक्सन मार्टिनेज पनि पारिश्रमिकको बम्पर चेकसहित चिनियाँ फुटबलमा भित्रिए ।

Royal Enfield Island Ad

राष्ट्रपति सी चिनफिङले चीनलाई फुटबल राष्ट्रका रूपमा चिनाउने इच्छा व्यक्त गरेपछि चिनियाँ सुपर लिगको चर्चा ह्वात्तै बढेको थियो । सन् २०११ मा सीले चीनलाई विश्वकपमा छनोट गराउने र विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेका थिए । त्यसपछि चिनियाँ फुटबल उकालो चढ्न सुरु गर्‍यो ।

सुपर लिगमा ठूलो मात्रामा पैसा खर्च गर्न थालेपछि चीन फुटबलको ‘सुपर पावर’ बन्ने लक्ष्यउन्मुख देखिन्थ्यो । “चेल्सीका लागि मात्र नभई विश्वको सबै टिमका निम्ति चिनियाँ बजार खतरा बनेको छ,” ओस्कार चिनियाँ फुटबलमा गएपछि त्यस बेला चेल्सीका मुख्य प्रशिक्षक रहेका एन्टोनियो कोन्टेले भनेका थिए ।

“चीनसँग पूरा युरोपियन लिग नै चीनमा लैजान सक्ने आर्थिक क्षमता देखिएको छ,” आर्सनलका तत्कालीन प्रशिक्षक आर्सेन वेंगरले भनेका थिए ।

त्यसको एक दशकपछि चिनियाँ फुटबल ठिक उल्टो पथमा छ । सुपर लिगले साख गुमाउँदा खेलाडीहरूले एकपछि अर्को गर्दै चिनियाँ फुटबल छोडिरहेका छन् ।

ज्याक सिली चिनियाँ फुटबलमा पुग्नेमध्ये ठूला नाम थिएनन् । क्यूपीआरका पूर्वस्ट्राइकर टोनी सिलीका छोरा ज्याकले सन् २०१५ मा सीएसलीको चाङचुन यताईसँग सम्झौता गरेका थिए ।

त्यस बेला २८ वर्षीय ज्याक हङकङमा खेल्थे र सुपर लिगका ठूला नामहरूबीच आबद्ध भए । उनका निम्ति सुपर लिग उपल्लोस्तरको फुटबल र पारिश्रमिक पनि उच्च थियो ।

“त्यहाँको फुटबल विकास हुने क्रममै रहँदा म त्यहाँ पुगेको थिएँ । यसैकारण फुटबल विकासकै क्रममा त्यहाँ हुनु मेरो लागि उत्साहित कुरा थियो,” उनले भने, “म त्यहाँ जाँदै छु भन्नेबारे मानिसले सुने पनि प्रायःलाई जानकारी थिएन । केही समयपछि फुटबल बुझेकालाई बताउँदा उनीहरू अचम्मित हुँदै ‘ओहो, तिमी सुपर लिगमा जाँदै छौँ !’ भनेर आफ्नो उत्साह पोख्थे ।”

ज्याकले थपे, “चिनियाँ फुटबलमा गएकामा ममा कुनै गुनासो छैन । यो निकै उत्कृष्ट थियो ।”

ज्याकका निम्ति यो उत्कृष्ट थियो नै, नौलो अनुभव पनि । “मैदानमा उनीहरू को हुन् भन्ने पूर्ण रूपमा बिर्सिएर खेलिन्थ्यो । मैले आफ्नो पाइला बढाउँदा उनीहरूले घटाए । उनीहरू जे भए पनि खेल्दा एकसमान भएको अनुभव हुन्थ्यो र आफ्नो उत्कृष्ट दिने प्रयास हुन्थ्यो । तर, यो अनुभव केही नौलो पनि थियो,” उनले भने, “ओस्कार – जसलाई मैले चेल्सीमा खेल्दा पछ्याएको थिएँ । फिफा खेल्दा सबै खेलाडी चिनिएको हुन्थ्यो । यो अनुभव निकै उत्कृष्ट थियो ।”

c3-1708329374.jpg
२०१९ सम्म सुपर लिग निकै ठूलो भयो । रियाल मड्रिडका ग्यारेथ बेल – जो एक समयका विश्वकै सबैभन्दा महँगो खेलाडी थिए, उनलाई जियान्सु सनिङले प्रतिसाता एक मिलियन पाउन्ड दिने सहमतिसहित तीनवर्षे सम्झौतामा भित्र्याउने चर्को चर्चा चलेको थियो ।

त्यसको दुई वर्षपछि नै जियान्सु सनिङ खराब आर्थिक स्थितिका कारण बन्द भयो । नाजुक आर्थिक अवस्थाका कारण क्लबले टिमको बस समेत लिलामीमा राखेको थियो ।

सुपर लिग कसरी लाग्यो ओरालो ?
चीनको फुटबल संघ (सीएफए) – जसले पहिले नै ठूलो पैसा स्थानान्तरणलाई निषेधित रूपमा महँगो बनाउने र प्रायोजकलाई आफ्नै नाममा टिमको नामकरण गर्न प्रतिबन्धित गर्ने ‘लक्जरी कर’ लागु गरेको थियो । २०२० डिसेम्बरमा तलब नियमनको घोषणापछि चिनियाँ फुटबल ओरालो लाग्न सुरु गर्‍यो ।

त्यस समयमा सीएफएले यो कदमले ‘पैसाको फुटबलमा अंकुश लगाउने’ र चिनियाँ राष्ट्रिय टिममा ‘लगानी’ प्रदान गर्ने आशा गरेको थियो ।

केही समयका निम्ति चीनको खेलकुद प्रशासन पनि लिगमा गरिएको खर्चप्रति सावधान थियो । २०१७ मा प्रशासनले खर्चमाथि अंकुश लगाउने र ‘अनावश्यक लगानी’लाई नियन्त्रण गर्ने निर्णय गर्‍यो । प्रशासनले त्यस बेला क्लबहरूले ‘पैसा उडाइरहेको’ र विदेशी खेलाडीलाई ‘अतिउच्च पारिश्रमिक’ दिएको आरोप लगाएको थियो ।

पारिश्रमिकमा अंकुश लगाउने नीतिको प्रभाव प्रशासनले चाहेजस्तै थियो । नियमनको अर्थ विदेशी खेलाडीले प्रतिसाता ५२ हजार पाउन्डभन्दा धेरै पारिश्रमिक पाउँदैन थिए । त्यो सुरुआतमा खेलाडीलाई दिइएको पारिश्रमिकभन्दा निकै कम थियो । 

केही टिमलाई उनीहरूको ठूलो खर्चबाट थुप्रिएको ऋणका कारण यो प्रतिबन्ध आवश्यक पनि थियो । चीनको रियल स्टेट व्यापारमा केही घर बनाउने ठूला कम्पनी ‘क्यास फ्लो’को समस्याबाट गुज्रँदा सुपर लिगका धेरै क्लबको समस्या बढेको थियो ।

यसबाहेक सबैभन्दा प्रमुख कोरोना महामारीले सुपर लिगलाई पतनमै पुर्‍यायो । कोरोनाविरुद्ध चीनको कडा रणनीतिका कारण सुपर लिगका खेल संख्या घट्यो । दुई वर्षसम्म सबै खेल बन्द रंगशालामा शून्य दर्शकमाझ सञ्चालन गरियो । यसले ब्रोडकास्ट र प्रायोजनबाट आउने आम्दानी डुब्दै गयो ।

बोस्निया–हर्जगोभिनाका रक्षक समिर मेमिसेभिच २०२० को फेब्रुअरीदेखि हेबेई एफसीबाट खेले । क्लबमा उनको दोस्रो सिजनले नै चिनियाँ फुटबलको पर्दा पछाडिका कुरा बताउँछ ।

“दोस्रो सिजन मलाई क्लबमा केही गलत भइरहेको छ भन्ने महसुस भयो,” उनले भने, “दोस्रो सिजनको केही महिनापछि आर्थिक समस्या सुरु भयो । त्यसपछि क्लब र चिनियाँ खेलाडीबीच समस्या देखियो । क्लबले त्यहाँका खेलाडीलाई धेरै महिनासम्म पारिश्रमिक दिन सकेनन् । म त्यस बेला क्लब अब धेरै समयसम्म अस्तित्वमा रहँदैन भन्नेमा विश्वस्त थिए ।”

लिगको शीर्ष क्लबमध्येको एक बेइजिङ गुओनबाट लोन सम्झौता पाएपछि मेमिसोभिच त्यतै लागे ।

c2-1708329456.jpg
सुपर लिग उच्च लयमा रहँदा लाभेजी, प्रिमियर लिगका चर्चित नाम हाभियर मास्चेरानो, गेर्भिन्होजस्ता खेलाडी अनुबन्ध गरेको हेबेईले क्लब सञ्चालनका निम्ति आफ्नो युवा टिम समेत खारेज गर्‍यो । केही कर्मचारीलाई महिनौँसम्म पारिश्रमिक नदिई बर्खास्त गरियो । अन्ततः सन् २०२३ को सुरुआतमा हेबेई बन्द भयो ।

“म हेबेईको अवस्थाप्रति माफी चाहन्छु । किनकि, हेबेई सबैभन्दा ठूलो टिममध्ये एक, ठूला नाम र सम्पन्न क्लबमध्येको एक थियो,” हाल दुबईमा व्यावसायिक फुटबल खेलिरहेका मेमिसेभिचले भने, “हेबेई अहिले हराइसकेको छ । यो निकै दुःखद कुरा हो । तर, धेरै चिनियाँ क्लबहरू यही अवस्थामा छन् । ग्वान्झाउ र वुहान पनि हराउँदै गरेको मैले देखेको छु । यो निकै दुःखद कुरा हो ।”

“आशा छ, चिनियाँ फुटबल राम्रो हुनेछ । किनकि, उनीहरूले यसमा धेरै लगानी गरेका छन् । तर, यो पुनः पहिलेजस्तै हुनेछ भन्ने आसचाहिँ गरेको छैन,” उनले थपे ।

आफ्नो प्रिय टिमबिना चिनियाँ सुपर लिग जोन हासटका लागि उस्तै बनेको छैन । ग्वान्झाउ सिटी – जसलाई एरिकसन र आर्सनल तथा रेन्जर्सका पूर्वस्टार जिओभानी भान ब्रोन्कहहस्र्टले सम्हालेका थिए । तर, ग्वान्झाउ गत वर्षको मार्चमा बन्द भयो ।

हासट ग्वान्झाउको हरेक घरेलु खेलमा आफूजस्तै समर्थक भेट्न र उनीहरूसँगै टिमको समर्थन गर्न आतुर रहन्थे ।

“धेरै मानिसका लागि सामाजिक सञ्जालजस्तै फुटबलले पनि ठूलो महत्त्व राख्थ्यो । मैदानबाहिरको सानो पसलमा हामी खेलअघि र पछि पेयपदार्थ लिन्थ्यौँ । यो खेल पछि स्थानीय चिनियाँ समर्थक समूहको अड्डा पनि बन्यो,” हासटले भने, “टिकट पनि निकै सस्तो थियो । पूरा सिजनको टिकट ५० देखि ६० पाउन्डमा पाइन्थ्यो । विद्यार्थीको केही समूहले भने योभन्दा पनि सस्तोमा टिकट किन्न पाउँथे । धेरै समर्थकले क्लबको आधिकारिक जर्सी पनि किन्दैन थिए । उनीहरूले रंगशालाअगाडि तीन पाउन्डमा जर्सी पाउँथे ।

“क्लबहरूका लागि राजस्व उठाउनु सुपर लिगको सबैभन्दा ठूलो समस्या हो । अर्थतन्त्र कसिलो हुँदा पैसा कहाँबाट आउँछ ?,” उनले प्रश्न गरे ।

एभर्टनका पूर्वमिडफिल्डर र चीनको पुरुष टोलीका पूर्वमुख्य प्रशिक्षक ली टाईमाथि अगस्टमा घुसखोरीको आरोपमा ‘कानुनको गम्भीर उल्लंघन’का निम्ति अनुसन्धान गरिएको थियो ।

चिनियाँ फुटबल संघका पूर्वअध्यक्ष चेन सुयुएनले पनि उस्तै प्रकृतिका आरोपको सामना गरे । सान्डोङ ताइसानका निम्ति खेल्ने दक्षिण कोरियाका मिडफिल्डर जुन हो घुसखोरीको आरोपमा गएको मेदेखि हिरासतमा छन् ।

अहिले सुपर लिगमा निकै कम विदेशी खेलाडीले खेलिरहेका छन् । हाल चीनमा खेलिरहेका विदेशी र स्थानीय खेलाडीले पनि अन्तर्वार्ताका निम्ति इन्कार गरेको बीबीसीले खुलाएको छ ।

यी तमाम समस्याका बाबजुद अझै पनि चीनमा घरेलु फुटबलको माग उच्च छ । गएको अप्रिलमा बेइजिङ गुओएन्सले समर्थकका निम्ति टिकट खुला गरेको पाँच मिनेटमै ‘सोल्ड आउट’ भएको थियो ।

चीनमा एजेन्टको काम गर्ने अल्बर्टो डोल्डान हाल साउदी अरेबियाले आक्रामक रूपमा खेलाडी भित्र्याइरहँदा कुनै समयको सुपर लिग सम्झना हुने बताउँछन् । उनी अझै पनि चिनियाँ लिगको भविष्य रहेकामा जोड दिन्छन् ।

“धेरै चिनियाँ क्लबहरू आर्थिक स्थितिका कारण हराए । तर, उनीहरूले युवा खेलाडीहरूमा काम गरेकाले चिनियाँ फुटबलको भविष्य राम्रो छ,” उनले भने, “अबको पाँच, छ वा सात वर्षमा हामीले चीनका धेरै खेलाडी शीर्ष फुटबल खेलिरहेका देख्न पाउनेछौँ । चीन अझै पनि राम्रो स्थितिमा छ । यहाँका भविष्य स्थानीय खेलाडीमा निर्भर छ ।”

अब थोरै ठूला खेलाडीसहित लिगको विकास र विश्वकपमा देशको सम्भावना सुधार गर्न चीनले थप स्वदेशी ‘सुपरस्टार’ उत्पादन गर्नेतर्फ ध्यानकेन्द्रित गरेको छ । फिफा पुरुष विश्वकपमा हालसम्म एकपटक मात्र चुनौती प्रस्तुत गरेको चीन त्योभन्दा अगाडि बढ्ने लक्ष्यमा छ ।

(बीबीसीबाट अनूदित)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro