
काठमाडौं । प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा घोराहीमा मुख्यमन्त्री कप ‘प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता २०८१’ हुने भएको छ ।
यही चैत २० देखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरनदाज गौतमले जानकारी दिए ।
लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिता अन्तरराष्ट्रिय भलिबल महासंघको नियमानुसार खेलाइने उनले बताए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
सहभागी टिममा १२ खेलाडी, एक टिम प्रशिक्षक र एक टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुने गरी कार्यविधि बनाइएको छ । सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने, खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण–पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद ६५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताए । त्यसैगरी, तृतीय पुरस्कार नगद ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद १५ हजार प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।