प्रमोद प्याकुरेल
कथा लेख्न विषय नभेटिने होइन । पाइलापाइलामा भेटिन्छन् । तर, खाँचो कोइलाको खानीबाट चिनेर हिरा टिप्न सक्ने दृष्टिको हो । हिरा नै टिपेछन् विश्व कुइकेलले । त्यस हिरालाई प्रशोधन गर्ने क्षमता त पहिले नै साबित गरिसकेका छन् ।
असोजको पहिलो साता विमोचन कार्यक्रममा तानिएँ । कार्यक्रमका वक्ताहरू र स्वयं उपन्यासकारबाट थाहा भयो, इतिहासको दमित पात्र गोपी च्यामेका बारेमा लेखिएको उपन्यास रहेछ, ‘गोपीचा’ ।
दसैँ बिदा सदुपयोग गर्न पानाहरू पल्टाउन थालेँ । कतै पनि शब्द, वाक्य वा विषयवस्तु अवरोध बनेर आएनन् । कुइकेलका अक्षरहरूले कोरेको डोरेटोमा एकनासले तीन घण्टा कुदेपछि बल्ल आँखाले विश्राम लिए । विश्राम लिएका आँखाले मस्तिष्कलाई प्रतिक्रिया बुझाए ।
एक ब्राह्मण कुलमा जन्मिएर तत्कालीन कानुन तथा समाजको आँखामा बिझाएको पात्र गोपीचा । गोपी शर्माका गतिविधिहरू समाजलाई पाच्य भएनन् । त्यही अपचले उसको जात च्युत गरायो र कैद सजाय तोकियो । उसको अपराध भनेको ब्राह्मणको आचरण नगर्नु र तल्लो जात भनिएकी च्यामिनी केटीलाई मन पराउनु थियो ।
‘बाहुन भएर च्यामिनीसँग प्रेमको सपना देख्ने ? लौ आजैबाट तँ पनि च्यामे नै भइस् ।’ शासकको मुखबाट निस्किएको बोलीसँगै गोपी शर्माको जनै चुँडालियो, वैदिक कर्मकाण्ड गर्ने अधिकार खोसिएर हातमा दिसापिसाब सोहोर्ने जिम्मेवारी थोपरियो ।
कहीँ कतै छिटपुट रूपमा बाहेक गोपी शर्माको उल्लेख्य चर्चा कतै भेटिँदैन । कसैकसैका संस्मरणका सानो अनुच्छेदमा खुम्चिएर गुमनाम बसेको थियो, गोपी च्यामे ।
ती अनुच्छेदभित्र सुषुप्त अवस्थामा रहेको गोपीचामा सिंगो उपन्यासको विषय देख्नु कुइकेलको कौशल हो । आफ्नो शिल्पलाई प्रयोग गर्दै इतिहासको अँध्यारो गर्भबाट आकर्षक कथ्य र सुन्दर भाषाशैली दिएर सिंगो पुस्तकका रूपमा गोपीचालाई कुइकेलले बाहिर निकालिदिएका छन् ।
उपन्यासकारले नेपाली साहित्य भण्डारमा एउटा फरक कृतिको योगदान दिएका छन् । राणाकालीन परिवेशलाई ऐनाजसरी छर्लंग देखाएका छन् ।
उपन्यासले देखाएका केही दृश्यहरू साह्रै जीवन्त छन् । तीमध्ये एक हो, शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुन्ड्याइएको दृश्य । सुन्धारास्थित कारागारको एउटा खोपाबाट चियाएका गोपीका आँखामा कैद भएको दृश्य जस्ताको तस्तै पाठकलाई देखाउन सफल छन्, विश्व ।
उपन्यास पढ्ने प्रत्येक पाठकका आँखामा आएर तुर्लुङ्ङ झुन्डिन्छ, शुक्रराज शास्त्रीको अररो शरीर ।
त्यस्तै, राजा त्रिभुवनको जन्मोत्सवको दृश्य होस् वा विष्णुमती खोलामा मारेको माछा पोलेको दृश्य, अथवा बेखामानको मटानमा बसेर ठूलो खसी मासुको खाएको दृश्य, सबै पाठकका आँखामा झलझली ल्याउन सक्षम छन् उपन्यासकार ।
जेलभित्र चर्पी सफा गर्ने जिम्मेवारी पाएको थियो गोपीले । तर, त्यसको लेखाजोखामा उपन्यासकार कमजोर देखिएका छन् ।
जे होस्, एकाध संस्मरणहरूका अनुच्छेदमा मुस्किलले अटाएको गोपी च्यामेले सिंगो पुस्तकमा वजनदार स्थान पाएको छ । गोपी शर्मा उर्फ गोपीचा गुमनाम भए पनि उपन्यास गोपीचा एक अब्बल कृतिका रूपमा प्रस्तुत भएको छ ।
इतिहासको पानाबाट हराएको एक गुमनाम पात्र गोपी शर्मा वा गोपी च्यामेले सहिदको दर्जा पाएमा उसको योगदान र उपन्यासकारले उठाउन खोजेको विषयले पनि सार्थकता पाउँथ्यो ।