site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गत आर्थिक वर्षको तुलनामा बजेट कार्यान्वयनमा केही सुधार आयो : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पुँजीगत खर्च बढ्न नसक्दा देशको विकास सुस्त भएको बताएका छन् ।

परिसंघले र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सहकार्यमा शुक्रबार आयोजित पूर्वाधार विकास विषयक सार्वजनिक–निजी संवाद कार्यक्रममा अध्यक्ष अग्रवालले बजेटको सफल कार्यान्वयनबाट नै पुँजीगत खर्च बढ्ने बताए ।

उनले बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तथा नीतिगत सुधारका लागि समग्र अर्थतन्त्रको विस्तार हुने हुँदा बजेटको सफल कार्यान्वयन अति महत्त्वपूर्ण रहेको बताए ।

उनले प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित सेजन र पायोनेयर ल फर्मसँगको सहकार्यमा परिसंघले 'बजेट वाच' कार्यक्रम सुरु गरेको बताए ।

उनले 'बजेट वाच'मा निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका ७३ वटा बुँदालाई औद्योगिक विकास, लगानी प्रवर्धन, पूर्वाधार विकास, पर्यटन, कृषि, जडीबुटी तथा सुगन्धित वनस्पति, स्वदेशी उत्पादन तथा निर्यात प्रवर्धन र कर व्यवस्थालाई सात क्षेत्रमा वर्गीकरण गरेको जानकारी दिए ।

उजले बजेटमा घोषणा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित ७३ वटा बुँदाहरूलाई दृष्टिगत गर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केही सुधार आएको देखिएको बताए ।

"दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा बजेटमा घोषणा भएका बुँदाहरूमध्ये ७४ प्रतिशत (कुल ५४ बुँदा) नीति तथा कार्यक्रमहरू आंशिक कार्यान्वयन गइसकेको देखिएको छ । यो सकारात्मक छ । किनकि, अघिल्लो वर्ष समग्र आर्थिक वर्षभरिमा नै सीएनआईले प्राथमिकतामा राखेका ६३ मध्ये ४७ प्रतिशत बुँदाहरू मात्र आंशिक कार्यान्वयनको चरणमा थिए," उनले भने ।

शून्य प्रगति भएका बजेटका बुँदाहरू दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा १६ प्रतिशतमा झरेको उनको भनाइ छ ।

"शून्य प्रगतिका नीति तथा कार्यक्रमहरूको संख्यामा यस किसिमले कमी आउनुलाई हामीले सकारात्मक मान्नुपर्छ," अग्रवालले भने । 

यद्यपि, ६ महिनाको अवधिमा ७३ बुँदाहरूमध्ये सात बुँदाहरू (करिब १० प्रतिशत) पूर्ण कार्यन्वयनमा आएको उनले बताए ।

"यसैले बजेटको समग्र कार्यान्वयनको अवस्थामा भने सन्तोष मान्न सकिने अवस्था नरहेको देखिन्छ । हामीले विश्वास लिएका छौँ कि बाँकी अवधिमा बजेट कार्यान्वयन प्रभावकारी रूपमा हुने छ," उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro