काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले लामो भाषण गर्नेहरूप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरू खाली भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए । उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।
देउवाले भने, "मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एकजना बसेको हुन्छ । अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।"
सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।