
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रणालीमा ३५५ मेगावाट बिजुली थपिएको छ । निजी लगानीमा निर्माणाधीन विभिन्न १४ आयोजना सम्पन्न भई प्रणालीमा उक्त परिमाणको बिजुली थप भएको हो ।
चालु आर्थिक वर्ष सरकारले ९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीमा विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा एकतिहाइ मात्रै उत्पादन भएको छ । अहिलेको अवस्था हेर्दा सरकारले लिएको लक्ष्य पूरा हुने सम्भावना कम छ ।
साउनयता १० आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । जसको कुल जडित क्षमता ३२८ मेगावाट रहेको छ । यस्तै, २६.९६ मेगावाट क्षमताका चार आयोजनाबाट परीक्षण उत्पादनमा भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । परीक्षण उत्पादन सम्पन्न भएपछि ती आयोजनाको बिजुली केन्द्रीय लाइनमा जोडिनेछ ।
प्राधिकरणका अनुसार जलविद्युत्का दुई र सौर्यतर्फ दुई आयोजनाबाट २७ मेगावाट परीक्षण उत्पादन भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले ९०० मेगावाट थपको लक्ष्य राखे पनि ४३० मेगावाट बिजुली मात्र प्रणालीमा थपिएको थियो ।
चालु आर्थिक वर्ष सञ्चालनमा आएकामध्ये सबैभन्दा ठूलो १११ मेगावाट क्षमताको रसुवागढी आयोजना रहेको छ । आयोजना विद्युत् प्राधिकरणका सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले बनाएको हो । रसुवागढीले गत पुस १६ देखि व्यावसायिक रूपमा बिजुली उत्पादन सुरु गरेको थियो । अहिले सञ्चालनमा रहेकामध्ये माथिल्लो तामाकोसी र कालिगण्डकी ए पछि रसुवागढी तेस्रो ठूलो जलविद्युत् आयोजना हो ।
यसैगरी, चिनियाँ लगानीमा निर्माण भएको सालासुंगी पावर लिमिटेड प्रवर्द्धक रहेको ७८ मेगावाट क्षमताको सान्जेन खोला जलविद्युत् आयोजनाको विद्युत् थपिएको छ । रसुवामा रहेको सान्जेन खोलाले गत माघ २९ बाट व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
सान्जेन जलविद्युत् कम्पनी प्रवर्द्धक रहेको ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत् आयोजनाले पुस १ देखि व्यावसायिक उत्पादन सुरु गरेको छ । विकासकर्ता सान्जेन जलविद्युत् कम्पनी लिमिटेड प्राधिकरणको सहायक कम्पनी हो ।
म्याग्दीमा रहेको निलगिरी खोला जलविद्युत् आयोजनाको ३८ मेगावाट बिजुली गत साउन २१ देखि राष्ट्रिय प्रणालीमा थप भएको छ ।
चालु आर्थिक वर्षमा कास्कीमा रहेको सेती नदीबाट उत्पादित २५ मेगावाट विद्युत् प्रणालीमा थप भएको प्राधिकरणले जनाएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाले कात्तिक १७ देखि व्यावसायिक उत्पादन थालेको हो ।
गत पुस ५ गतदेखि ताप्लेजुङमा रहेको सुपर काबेली खोला–ए जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो ।
यसैगरी माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले निर्माण गरेको दूधकुण्ड खोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । १२ मेगावाट क्षमताको दूधकुण्ड खोला आयोजनाबाट साउन १६ बाट बिजुली उत्पादन थालेको थियो । संखुवासभामा रहेको लंखुवाखोला साना जलविद्युत्को ५ मेगावाट विद्युत् चालु आवमै प्रणालीमा आएको छ ।
सभापोखरी जलविद्युत् आयोजनाले निर्माण गरेको लंखुवा खोला माघ २४ देखि व्यावसायिक उत्पादनमा आएको थियो । गोर्खामा रहेको माथिल्लो रिचेत खोला जलविद्युत् आयोजनाले भदौ २७ देखि व्यावसायिक उत्पादन सुरु गरेको छ । २ मेगावाट क्षमता रहेको माथिल्लो रिचेत खोला अप्पर रिचेत हाइड्रोपावरले निर्माण गरेको हो ।
यस्तै, ९९९ किलोवाट क्षमताको सेलाङ्ग खोला साना जलविद्युत् आयोजना भदौ १ देखि केन्द्रीय प्रणालीमा थपिएको छ । सिन्धुपाल्चोकमा रहेको आयोजनाको प्रवर्द्धक राइजिङ हाइड्रोपावर कम्पनी हो ।
शिखर पावर डेभलपमेन्ट प्रवर्द्धक रहेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत् आयोजना र हिल्टन हाइड्रो इनर्जी लिमिटेड प्रवर्द्धक रहेको १२ मेगावाट क्षमताको सुपर काबेली खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेका छन् ।
तराई सोलार प्रवर्द्धक रहेको ७.७ मेगावाटको जिरा भवानी सेढवा सौर्य र तराई इनर्जी प्रवर्द्धक रहेको २.३ मेगावाट क्षमताको डीडीबी सौर्य विद्युत् आयोजनाले पनि परीक्षण उत्पादन सुरु गरेका छन् । करिब दुई साता परीक्षण उत्पादनपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ ।
थप भएका आयोजनासमेत गरी प्राधिकरणको प्रणालीमा जडित क्षमता बढेर ३५ सय १२ मेगावाट पुगेको प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले बाह्रखरीलाई जानकारी दिए । अधिकांश नदी प्रवाही आयोजना हुँदा जडित क्षमता ३५ सय मेगावाटमाथि पुगे पनि हिउँद लागेसँगै भारतीय बिजुलीको भरमा माग र आपूर्ति निर्भर रहने गरेको छ ।
ऊर्जामन्त्री दीपक खड्काले चैत्र ६ गते राष्ट्रिय सभाको बैठकमा भारतले बिजुली नदिए लोडसेडिङ हुने बताएका थिए । खड्काले भनेजस्तै जलाशययुक्त आयोजना नहुँदा वर्षामा फालाफाल हुने विद्युत् हिउँदमा छिमेकीको भर पर्नुपर्ने अवस्था छ ।
अहिले भारतबाट दैनिक ६ सय मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको प्रवक्ता शिल्पकार बताउँछन् । जडित क्षमता ३५ सय मेगावाटमाथि पुगे पनि नदी प्रवाही आयोजनाबाट एक हजार मेगावाटको हाराहारीमा उत्पादन भइरहेको उनको भनाइ छ ।
यस्तै, चिलिमे जलविद्युत् कम्पनीले सहायक कम्पनीमार्फत बनाएको १ सय २ मेगावाटको मध्यभोटेकोसी पनि राष्ट्रिय प्रणालीमा जोडिँदै छ । मध्यभोटेकोसी आयोजना चालु आर्थिक वर्षभित्र सञ्चालनमा आउने भएको छ ।
यो वर्ष सरकारले प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० युनिट पुर्याउने लक्ष्य लिएको छ । अहिलेसम्म ४ सय युनिट पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रसमेत सहभागी गराउन राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले काम सुरु गरिसकेको छ । कम्पनीले प्रसारण लाइन बनाउन विकासकर्ताहरूबाट आशयपत्र मागिरहेको छ ।
सरकारले आउँदै एक दशकमा बिजुली उत्पादन बढाएर २८ हजार ५ सय मेगावाट पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । कुल लक्ष्यको १३ हजार ५ सय मेगावाट आन्तरिक खपत र बाँकी १५ हजार मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने योजना छ ।
०८२ देखि ०९२ सम्म कार्यान्वयन हुने योजना कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलर (झन्डै ६५ खर्ब रुपैयाँ) लाग्ने अनुमान छ । साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने ऊर्जा मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत भई अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।